काठमाडौं। शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको उजुरीपछि वैदेशिक रोजगार विभागले १४ म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ । सोमवार विभागले सूचना प्रकाशित गरी वैदेशिक रोजगार ऐन २०६४ को दफा ६१ को ७ बमोजिम उक्त संख्यामा म्यानपावर कम्पनीलाई निलम्बन गरिएको बताएको हो । वैदेशिक रोजगारीका लागि इजाजतप्राप्त ती म्यानपावर कम्पनीले जापानी भाषा तथा संस्कृति सम्बन्धी तालीमको शंकास्पद प्रमाणपत्र पेश गरेको र त्यसको आधारमा श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको उजुरीको सम्बन्धमा अनुसन्धान भइरहेको विभागले बताएको छ । विभागका अनुसार प्रारम्भिक अनुसन्धानबाट त्यस्तो कार्यमा १४ म्यानपावर संलग्न भएको देखिएको छ ।