काठमाडौं । नेपालको जनगणना २०७८ को पूर्ण विवरण आएसँगै नेपालको अर्थतन्त्रलाई निर्धारण गर्ने पक्षहरूका आँकडा सार्वजनिक हुन थालेका छन् । यस जनगणनाको हालै सार्वजनिक तथ्यांकअनुसार नेपालमा ६६ लाख ६० हजार ८४१ परिवार बस्ने घरमा कस्ता छाना रहेका छन् भन्ने तथ्यांक एक महत्त्वपूर्ण मापकको रूपमा देखापरेको छ । यसरी निर्माण भएका घरमध्ये ४१ दशमलव ९४ प्रतिशतमा जस्ताको छाना रहेको पाइन्छ भने ढलानको छाना हुने घरको हिस्सा ३७ दशमलव ७६ प्रतिशत रहेको छ । खरको छाना भएका घरको हिस्सा ३ दशमलव ९० प्रतिशत रहेको छ । टायलको छाना भएको घरको हिस्सा ९ दशमलव २२ प्रतिशत रहेको छ ।
नगरपालिकामा ढलानको छाना भएका घरको हिस्सा ४७.१२ प्रतिशत रहेको छ । जब कि गाउँपालिकामा यस्तो हिस्सा १८ दशमलव ५९ प्रतिशत रहेको छ । भौगोलिक क्षेत्रको रूपमा हेर्दा ढलानको छानो भएका घरको हिस्सा हिमालमा १२ दशमलव २९ प्रतिशत, पहाडमा ३७ दशमलव ७५ प्रतिशत र तराईमा ४० दशमलव ९२ प्रतिशत रहेको पाइन्छ । प्रदेशगत रूपमा यस्ता ढलानका छाना भएका घरको हिस्सा कर्णाली प्रदेशमा सबैभन्दा कम (११ दशमलव ९५ प्रतिशत) र बागमती प्रदेशमा सबैभन्दा बढी (५७ दशमलव ५६ प्रतिशत) रहेको छ । ढलानको छाना भएको घर निर्माण गर्ने नेपाली प्रवृत्ति हेर्दा भविष्यमा सिमेन्ट, डण्डी, गिटी र बालुवाको मागमा व्यापक वृद्धि हुने देखिन्छ । ४१ लाख ४६ हजार थप घरका छाना ढलानबाट बनेमा यसले मुलुकको निर्माण क्षेत्रमा थप गतिशीलता ल्याउन सक्छ ।