पीपीए खोल्न निजी क्षेत्रको जोडबल, प्राधिकरण अनिर्णित

२२ मंसिर, काठमाडौं । बिहीबार अर्थमन्त्री जनार्दन शर्माले एक सार्वजनिक कार्यक्रममै नयाँ जलविद्युत उत्पादनको लागि विद्युत खरिद सम्झौता (पीपीए) रोकिएकोमा असन्तुष्टि पोखे । उनले वर्षामा उत्पादित बिजुली पूर्वाधार अभावमा मात्रै खेर गइरहेको बताउँदै पीपीए रोक्ने काम गलत भएको बताए । ‘सरकारले कोटा परिर्वतन गरेर निर्णय गरेको धेरै भयो, पीपीए खुला नगर्दा व्यवसायीहरुलाई मर्का परेको छ […]

सम्बन्धित सामग्री

जलविद्युत र सोलार आयोजनाको हकमा प्राधिकरणको निर्णयको इप्पानद्वारा स्वागत

काठमाडौं । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले जलविद्युत र सोलार आयोजनाको हकमा गरेका निर्णयको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले  स्वागत गरेको छ । बोर्डले गरेको १० मेगावाटसम्मका जलविद्युत आयोजनाको विद्युत खरिदविक्री सम्झौता (पीपीए) खुल्ला गर्ने र त्यस्ता आयोजनाहरुले पीपीए गर्नको लागि पाइप लाइनमा बस्नुनपर्ने, पीपीए भइसकेका आयोजनाले २५ प्रतिशतसम्म क्षमता वृद्धि गर्न चाहेमा लेउ वा तिर अनुसार नै पीपीए गरिदिने तथा २५ प्रतिशत भन्दा धेरै क्षमता वृद्धि हुने अवस्थामा त्यो भन्दा माथिल्लो सीमाको पीपीए लिएपछि मात्रै तिर अन्तर्गत गर्ने निर्णय गरेको थियो ।  यसैगरी सौर्य ऊर्जा आयोजनाको पीपीए सीमा बढाउँदै जडित क्षमतामा १० प्रतिशतको सट्टा पीपीए भइसकेको जलविद्युत क्षमताको १० प्रतिशतसम्म सोलार आयोजनाको पीपीए गर्ने निर्णय गरेको थियो । यी सबै निर्णयहरुको इप्पानले स्वागत गरेको जनाएको छ । यो निर्णयले स्वदेशी लगानीमा निर्माण हुने साना आयोजना निर्माण प्रक्रियामा गई ग्रामिण अर्थतन्त्रको विकास मार्फत समग्र अर्थतन्त्र र रोजगारी सिर्जनमा ठूलो योगदान पुग्ने विश्वास इप्पानले बताएको छ ।  'आयोजनाको क्षमता बढाउन सक्ने निर्णय नेपालको जलस्रोतको अधिकत्तम उपयोगका लागि महत्वपूर्ण हुने र यसले निजी क्षेत्रले समेत क्षमता बढाउन सक्ने बाटो खुलेको छ । यो निर्णयसँगै निजी क्षेत्र अब पीपीए गरेर आयोजना निर्माणमा अग्रसर हुनेमा पनि हामी विश्वस्त तुल्याउन चाहन्छौ,' इप्पानले जारि गरेको विज्ञप्तीमा भनिएको छ । ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालयले आगामी १२ बर्षमा १३ हजार ५ सय मेगावाट आन्तकरिक खपत तथा भारत र बंगलादेशमा १५ हजार मेगावाट बिजुली निर्यातसहित २८ हजार ५ सय मेगावाटको लक्ष्यसहितको मार्गचित्र तयार पारेको छ । सो लक्ष्य पूरा गर्नका लागि यो निर्णय सरकारको पहिलो महत्वपूर्ण कदमको रुपमा लिएको समेत इप्पानले उल्लेख गरेको छ ।  सो लक्ष्य हासिल गर्नका लागि थप बिजुली उत्पादनको आवश्यकता भएकोले अब छिट्टै सबै क्षमताका जलविद्युत आयोजनाहरुको पीपीए कुनै सीमा नराखी पूर्ण खुल्ला गर्ने भन्ने अपेक्षा पनि इप्पानले राखेको जनाएको छ । साथै विगत लामो समयदेखि विश्वभर देखिएको आर्थिक सुस्तताको असर नेपालमा पनि पर्दा बैंक तथा वित्तीय संस्थाले पीपीए भएका आयोजनाको वित्तीय व्यवस्थापन गर्न नसकेको, वित्तीय व्यवस्थापन भएका आयोजनालाई पनि समयमै रकम निकासा गर्न नसकेको, रुस युक्रेन युद्धका कारण मेसिनरी आयातमा असहजता भएको लगायतका कारणहरुले गर्दा समयमै आयोजना सम्पन्न गर्न समस्या भईरहेकोले आयोजनाहरुको व्यवसायीक विद्युत उत्पादन गर्नुपर्ने मितिको समयावधि दुई बर्ष थप्ने अपेक्षा लिएको इप्पानले भनेको छ ।

माथिल्लो चाकु ए जलविद्युत् आयोजनाले शुरु गर्‍यो व्यवसायिक उत्पादन

वैशाख ९,सिन्धुपाल्चोक । शिवश्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत् आयोजनाको व्यवसायिक उत्पादन शुरु भएको छ ।  बिहीवार एक कार्यक्रम गरेर कम्पनीले सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माण सम्पन्न भएको सो आयोजनाको व्यवसायिक उत्पादन शुरु गरेको हो । निजी क्षेत्रको अगुवाइमा निर्मित २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु–ए जलविद्युत् आयोजनाले गत वैशाख २ गते आफ्नो उत्पादन केन्द्रीय प्रशारण लाइनमा जोडेको थियो । सम्पूर्ण परीक्षणका प्रक्रिया सकेर आयोजनाले व्यवसायिक उत्पादन गर्न थालेको हो । आयोजना रहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाको व्यवसायिक उत्पादनको सुभारम्भ गरेका हुन् । नेपाल–चीन सीमावर्ती भोटेकाशी गाउँपालिका– ४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत् प्राधिकरण स्वामित्वको सुनकोशी जलविद्युत् केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको  कम्पनीका  अध्यक्ष बच्चु पौडेलले बताए । हिउँदको सुक्खा मौसम भएकाले आयोजनाबाट तत्काल साँढे तीन मेगावाट विद्युत् उत्पादन भइरहेको उनले बताए ।  ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ अध्यक्ष पौडेलले भने, ‘प्राधिकरणले हिउँदमा सात रुपैयाँ र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत् खरीद गर्ने छ ।’  अध्यक्ष पौडेलका अनुसार उत्पादित विद्युत् विक्रीबाट महशुलवापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ । फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट २ हजार ५०० मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पुर्‍याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो ।  विसं २०७३ भित्र सक्ने गरी विस २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो । विसं २०७१ साउनको जुरे पहिरो, विसं २०७२ वैशाख १२ को भोटेकोशी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पुर्‍याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएको कम्पनीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले बताए । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको उनले जानकारी दिए ।  ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पुर्‍याएको थियो । शिवश्रीका अनुसार सिटिजन बैंक लिमिटेडको अगुवाइमा विभिन्न १२  ओटा बैंक तथा वित्तीय संस्थाले आयोजनामा ३ अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत शेयर वितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को १ अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले बताए । शिवश्री र विद्युत् प्राधिकरण बीच विसं २०६७ मा विद्युत खरीद सम्झौता( पीपीए) भएको थियो । कम्पनीले विसं २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो । विसं २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग पीपीए गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ रहेको छ । कम्पनीले आयोजना पुरा गर्न सर्वसाधारणहरुको लागि प्राथमिक शेयरसमेत जारी गरिसकेको छ । अहिले आयोजनाको १ करोड ४१ लाख कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत रहेको छ ।