कृषकले मलको हाहाकारले धान बीउ छर्न नपाइरहेका बेला उत्तरी नाका तातोपानीको सुख्खा बन्दरगाह भन्सारमा ९ हजार ९ सय ७१ बोरा मल थन्किएको महिना बित्यो । भोटेकोसी गाउँपालिका २ तातोपानीस्थित उत्तरी तातोपानी नाकाबाट भित्रिएको रासायनिक (युरिया) मल तातोपानी सुख्खा बन्दरगाह भन्सार गोदाममै थन्किएको हो । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमकाअनुसार भन्सार प्रक्रियाको लागि कागजात पेस नहुँदा मल भन्सारकै गोदाममा रोकिएको छ ।