असार १५, डेट्रोइट (अमेरिका) । जापानी अटो निर्माता कम्पनी होन्डाले आफ्नै विद्युतीय सवारी साधन बनाउने योजना बनाएको छ ।
उत्तर अमेरिकाको लागि कम्पनीको पहिलो विशुद्ध विद्युतीय सवारी साधन अमेरिकी कार निर्माता कम्पनी जनरल मोटर्सले बनाउँदैछ । तर कम्पनीले यो दशकको अन्त्यतिर आफ्नो छुट्टै विद्युतीय कार उत्पादन गर्ने भएको छ ।
आफूहरुले ईभीको आर्किटेक्चर बनाइरहेको र सन् २०२४ मा जनरल मोटर्सले बनाएको दुई ईभीको विक्री शुरु भएपछि कम्पनीले आफ्नै ईभी निर्माण गर्न शुरु गर्ने होन्डाका अधिकारीहरुले बताएका छन् ।
आफूहरुको उद्देश्य आफ्नै कारखानामा ईभी उत्पादन गर्नु भएको होन्डा अमेरिकाका कार्यकारी उपाध्यक्ष डेभ गार्डनरले भने । कम्पनीले ब्याट्री उत्पादनसम्बन्धी विज्ञताको विकास गरेको र यसलाई उपयोग गर्न आफूहरुको ध्येय भएको गार्डनरको भनाइ छ । एजेन्सी