काठमाडौं । कात्तिक पहिलो हप्ता भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । मनसुन बाहिरिएसँगै सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
वर्षाले सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष मनसुन शुरू भएदेखि गत असोज मसान्तसम्ममा २ अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्यांक छ । वर्षापछि आएको बाढी, पहिरोको कारण २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले बताएको छ । कात्तिक १ गतेदेखि १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । ‘बझाङमा सडक खुलाउन बढी समय लाग्न सक्ने देखिएको छ, पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको छ,’ उनले भने, ‘डँडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।’
धनगढी–सहजपुर–वुडर–स्याउेले, सतबाँझ–थाकतोली–दार्चुला–तिंकर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । ३०० मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको बताइएको छ ।
मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा ठूलो क्षति पुगेको विभागले बताएको छ । साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाको भनाइ छ । सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो ।
बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । ‘अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्न सक्छ,’ उनले भने । बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाटै कर्णालीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुन सक्ने बताइएको छ ।
यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौसम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठीन थियो । विभागले त्यहाँ रहेका पाँच काठे पुल पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए ।
‘अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ,’ उनले भने । विभागले अवरुद्ध सडक आफ्ना ३० डिभिजन कार्यालय, चार संघीय सुपरिवेक्षण कार्यालय र आठ हेभी इक्वीपमेन्ट कार्यालयमार्फत खुलाइरहेको छ । अवरुद्ध सडकका बारेमा विभागले बेवसाइटमै नागरिकलाई जानकारी दिने गरेको उनले बताए ।
सडक बनाउँदा नै ध्यान नदिइएकाले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको विभागले बताउने गरेको छ । आइतवारको प्रतिनिधिसभा, विकास तथा प्रविधिसमितिको बैठकमा सांसदले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिरोको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने सांसदहरूको भनाइ थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए । स्थानीय तह र कतिपय स्थानमा स्थानीयवासी आफैले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ । रासस
भदौ १४, काठमाडौं । केही दिनयता भइरहेको वर्षाका कारण देशभरका विभिन्न सडक अवरुद्ध भएका छन् । सडक विभागले अवरुद्ध भएका स्थानमा पहिरो हटाएर सडक चालू गर्न लागेको छ ।
पूर्व–पश्चिम राजमार्ग परासी जिल्लामा तुरिया खोला पुल अवरुद्ध भएको छ । सोही राजमार्गको रुपन्देहीमा घोडाहा खोला पुल पहिराकै कारण अवरुद्ध रहेको छ । सिद्धार्थ राजमार्गको स्याङ्जामा राम्दी र डुम्रेमा अवरुद्ध छ । पाँचखाल–मेलम्ची सडक सिन्धुपाल्चोक जिल्लाको रातो पहिरोको कारण अवरुद्ध छ ।
पछिल्लो पटक सिद्धार्थ राजमार्ग सिद्धबाबा खण्डमा अवरुद्ध भएकामा अहिले एकातर्फबाट खुलिसकेको छ । भिट्ठामोड–जलेश्वर–वर्दिवास, खुर्कोट–मन्थली–तामाकोशी–सिँगटी–लामाबगर–लाप्चेबगर अवरुद्ध भएकामा अहिले एकातर्फबाट चालू भएको छ ।
अहिलेको वर्षाले सबैभन्दा बढी क्षति सिद्धार्थ राजमार्ग र नारायणगढ–बुटवल सडकमा देखिएको विभागका सम्भार महाशाखा प्रमुख भीमार्जुन अधिकारीले बताए । पहिरोका कारण त्यहाँको डाइभर्सन बगाएको छ । आइतवार र सोमवार सो सडक भएर यात्रा गर्ने यात्रुले दुःख पाएको उनले बताए । यात्रुको चाप बढी रहेको सडक विभागले खुलाइसकेको छ ।
बुटवल–नारायणगढ खण्डमा पर्ने तुरिया खोलाको पुल बगाएको भए पनि त्यसको विकल्प रहेको छ । पुल नै बगाएकामा बनाउन लामो समय लाग्ने भए पनि वैकल्पिक सडक हुँदा आवगमन नरोकिने उनको भनाइ छ । केही दिनयताको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग खुलाइसकिएको छ ।
आइतवार नागढुङ्गा सडक अवरुद्ध भएकामा अहिलेसम्म खुलिसकेको छ । वर्षाका कारण गत महीनामा अवरुद्ध सडकमा थप क्षति पुगेको छ । लमजुङको बेँसीशहरदेखि मनाङको चामेसम्मको सडक दुई महीनादेखि अवरुद्ध छ । पछिल्लो वर्षाले यहाँ थप पहिरो गएको उपमहानिर्देशक अधिकारीले बताए । उनले भने, ‘एकातिरबाट सडक खुलाउन लागिरहँदा पहिराले थप अवरोध गरेको छ ।’
यो वर्ष विगतका वर्षभन्दा पहिले वर्षा शुरु भएको थियो । जेठको दोस्रो सातादेखि शुरु भएको वर्षाले देशभरका संघीय, प्रदेश र कतिपय स्थानीय सडक अवरुद्ध गरेको थियो । संघीय सडक अवरुद्ध हुँदा सडक विभागले मातहतका कार्यालयमा रहेका जनशक्ति र उपकरणमार्फत खुलाउने गरेको छ ।
सडक विभागले सकेसम्म चाँडो सडक खुलाउन लाग्ने गरेको उपमहानिर्देशक अधिकारीले बताए । विभागले सकेसम्म दुवैतर्फबाट सवारीसाधन चल्न सक्ने गरी पहिरो पन्छाउने गरेको छ । कतिपय स्थानमा सडक नै कटान भएकामा एकातर्फबाट मात्रै चालू गराइएको उनले बताए । विभागले क्षतिको अवस्था र सडकमा हुने सवारीसाधनको चापका आधारमा एकातर्फ मात्रै खुलाउने कि दुवैतर्फ खुलाउने भनी निर्णय गर्छ ।
सडक नै भासिएको स्थानमा तत्काल दुवैतर्फ चल्नसक्ने बनाउनुभन्दा एकातर्फबाट मात्रै चलाउन उपयुक्त हुन्छ । ती सडकमा तत्काल एकातर्फबाट र वर्षा कम भएपछि तलबाट पर्खाल लगाएर दुवैतर्फ सडक चालू गरिन्छ ।
सवारी चाप भएका ठाउँमा भने क्षति भए पनि दुवैतर्फ चालू गर्नुपर्छ । पछिल्लो वर्षाले कुरिनटार नजिकै सडक अवरुद्ध गरेको थियो । उनले भने, ‘यो सडकमा चाप बढी भएकाले एकातर्फबाट खुलाएर हुँदैन र दुवैतर्फ खुलाइएको छ ।’
यस वर्ष वर्षाका कारण सडक अवरुद्ध हुँदा झण्डै रू. दुई अर्ब २५ करोड बराबरको क्षति भइसकेको अनुमान छ । निर्माणाधीन सडकमा क्षति हुँदा भने त्यसको मर्मतको खर्च निर्माण कम्पनीले नै गर्नुपर्छ । चिनियाँ कम्पनीमार्फत विस्तारको काम भइरहेको नारायणगढ–बुटवल सडक मर्मत कम्पनीले नै गर्नेछ ।
विगतका वर्षभन्दा बढी वर्षा हुँदा अरु संरचनासँगै सडक र पुलमा बढी क्षति भएको विभागले जानकारी दिएको छ । वर्षाका कारण यो वर्ष २०१ सडक अवरुद्ध भएकामा हाल १६ सडक अवरुद्ध छन् । अवरुद्ध भएका सडकमध्ये ६८ सडक दुवैतर्फबाट चालू, ११७ सडक एकातर्फबाट चालू रहेको विभागले जानकारी दिएको छ । रासस
अविरल वर्षाका कारण आएको बाढीपहिरोले मुलुकका विभिन्न ११४ स्थानका सडकमा क्षति पुगेको र यसलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउनेगरी मर्मत गर्न करिब २ अर्ब रुपैयाँ खर्चनुपर्ने देखिएको छ । सडक विभागका अनुसार पुल, राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग, ग्रामीण र रणनीतिक सडकलगायतमा भएको क्षतिका आधारमा यास्तो आकलन गरिएको हो । कतिपय सडक तत्काल मर्मत गरी सञ्चालनमा ल्याइए पनि मनसुन नरोकिएकाले अस्थायी प्रकृतिको काममात्र भइरहेको छ ।