काठमाडौं । कात्तिक पहिलो हप्ता भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । मनसुन बाहिरिएसँगै सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
वर्षाले सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष मनसुन शुरू भएदेखि गत असोज मसान्तसम्ममा २ अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्यांक छ । वर्षापछि आएको बाढी, पहिरोको कारण २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले बताएको छ । कात्तिक १ गतेदेखि १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । ‘बझाङमा सडक खुलाउन बढी समय लाग्न सक्ने देखिएको छ, पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको छ,’ उनले भने, ‘डँडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ ।’
धनगढी–सहजपुर–वुडर–स्याउेले, सतबाँझ–थाकतोली–दार्चुला–तिंकर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । ३०० मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको बताइएको छ ।
मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडकमा ठूलो क्षति पुगेको विभागले बताएको छ । साँफे–मार्तडी सडकमै तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाको भनाइ छ । सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो ।
बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । ‘अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्न सक्छ,’ उनले भने । बर्दियामा सतिघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाटै कर्णालीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुन सक्ने बताइएको छ ।
यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेँसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौसम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठीन थियो । विभागले त्यहाँ रहेका पाँच काठे पुल पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए ।
‘अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमै खुल्नेछ,’ उनले भने । विभागले अवरुद्ध सडक आफ्ना ३० डिभिजन कार्यालय, चार संघीय सुपरिवेक्षण कार्यालय र आठ हेभी इक्वीपमेन्ट कार्यालयमार्फत खुलाइरहेको छ । अवरुद्ध सडकका बारेमा विभागले बेवसाइटमै नागरिकलाई जानकारी दिने गरेको उनले बताए ।
सडक बनाउँदा नै ध्यान नदिइएकाले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको विभागले बताउने गरेको छ । आइतवारको प्रतिनिधिसभा, विकास तथा प्रविधिसमितिको बैठकमा सांसदले नदीको धेरै नजिकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिरोको समाधन नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने सांसदहरूको भनाइ थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए । स्थानीय तह र कतिपय स्थानमा स्थानीयवासी आफैले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ । रासस