माघ ११, काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
मंगलवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको वित्तीय विवरण अनुसार गत वर्षभन्दा यस वर्ष खुद नाफा ३० दशमलव २५ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ६ करोड २४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष सञ्चालन नाफा १ प्रतिशत मात्र बढेको छ । गत वर्ष रू. ६ करोड ७ लाखभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ हरोड ३२ लाखभन्दा बढी यो नाफा गरेको हो ।
गत वर्षभन्दा यस वर्ष कम्पनीको खराब कर्जा संकलन कम भएकाले खुद नाफा घटेको हो । गत वर्ष रू. ३ करोड ८२ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ५८ लाख ५५ हजार मात्र संकलन गरेको हो ।
कम्पनीको हाल चुक्तापूँजी रू. ३६ करोड ९ लाख २३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा यस वर्ष ४४ दशमलव ६७ प्रतिशत वृद्धि भई रू. १९ करोड १० लाख ४५ हजार कायम भएको छ । कम्पनीले गत वर्षभन्दा यसवर्ष ८० दशमलव ३९ प्रतिशत बढी रू. ३ अर्ब ४८ करोडभन्दा बढी कर्जा सापटी लिएको छ ।
गत वर्षभन्दा ४८ दशमलव ८१ प्रतिशत बढी रू. १ अर्ब ५७ करोड ९३ लाख निक्षेप संकलन गरेको कम्पनीले करीब २ प्रतिशत बढी रू. ५ अर्ब ४६ करोड ९२ लाख कर्जा प्रवाह गरेको छ ।
गत वर्ष ४ दशमलव ८२ प्रतिशत रहेको निष्क्रिय कर्जा यस वर्ष घटेर ३ दशमलव ९० प्रतिशतमा झरेको छ । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. २८ दशमलव ३७ र प्रतिशेयर नेटवर्थ रू. ४३ दशमलव २४ रहेको छ ।