वैशाख १२, काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले रू. ४ करोड ९२ लाखभन्दा बढी खुद नाफा गरेको छ ।
सोमवार सार्वजनिक कम्पनीको उक्त अवधिसम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको भन्दा यस वर्ष खुद नाफा ३७ दशमलव १९ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ८३ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।
यस वर्ष सम्भावित जोखिम शीर्षकमा रू. २ करोड ७१ लाखभन्दा बढी रकम छुट्याएका कारण कम्पनीको सञ्चालन नाफा ४२ प्रतिशत कम भएकाले खुद नाफामा असर परेको हो ।
गत वर्ष रू. १२ करोडभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष रू. ६ करोड ९८ लाखभन्दा बढी मात्र यो नाफा गरेको छ । खराब कर्जा संकलन गत वर्षभन्दा ११९ दशमलव १० प्रतिशत बढेको छ । गत वर्ष रू. ३७ लाखभन्दा बढी खराब कर्जा संकलन गरेको कम्पनीले यस वर्ष रू. ८२ लाखभन्दा बढी संकलन गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. ३६ करोड ७१ लाख ४३ हजार रहेको छ । जगेडा कोष रकम गत वर्षभन्दा ५ दशमलव शून्य ९ प्रतिशत बढेर रू. १३ करोड ५ लाखभन्दा बढी कायम भएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट गत वर्षभन्दा साढे ४५ प्रतिशत बढी रू. ३ अर्ब ५३ करोड ८७ लाख कर्जा सापटी लिएको कम्पनीले ४० प्रतिशत बढी रू. ५ अर्ब ४७ करोड १९ लाख कर्जा प्रवाह गरेको छ ।
यस वर्ष कम्पनीले गत वर्षभन्दा ३९ दशमलव ९९ प्रतिशत बढी रू. १ अर्ब ६५ करोड निक्षेप संकलन गरेको छ । निष्क्रिय कर्जा गत वर्ष ३ दशमलव ६५ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४ दशमलव ७२ प्रतिशत पुगेको छ ।
कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १७ दशमलव ८७ र प्रतिशेयर नेटवर्थ रू. १३५ दशमलव ५५ रहेको छ । तेस्रो त्रैमाससम्म कम्पनीले ४ दशमलव ९२ प्रतिशत तरलता व्यवस्थापन गरेको छ ।