मर्कन्टाइल एक्सचेन्ज नेपाल (मेक्स) ले गत सोमबारदेखि थप ३ कृषि उपजको कारोबार सुरु गरेको छ । अब मेक्समा कारोबार हुने वस्तुहरूको संख्या १४ पुगेको छ । थप गरिएका वस्तुहरूमा कोको, चिनी र मकै छन् । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मेक्सले सो कुरा जानकारी दिएको हो । मेक्सले खासगरी अन्तर्राष्ट्रिय बजारमा आधारित वस्तुहरू सुन, चाँदी, तामा, कच्चा तेल आदि कारोबार गर्दै आएको छ ।
नेपालको कृषि प्रणालीलाई व्यवसायीकरण गर्न सघाउने उद्देश्यले कृषिजन्य वस्तुहरूको कारोबार सुरु गरेको मेक्सका प्रबन्ध निर्देशक दीपेन्द्र खतिवडाले अभियानलाई बताए । नेपालमै उत्पादित अन्य वस्तुहरूको कारोबार पनि क्रमिक रूपमा सुरु गरिने उनले जानकारी दिए ।
कारोबार थप गरिएका वस्तुहरूमध्ये विभिन्न स्वादका चकलेट उत्पादनमा प्रयोग हुने कोको अफ्रिका तथा दक्षिण अमेरिकाको उत्पादन हो । त्यसैगरी चिनी पूर्ण प्रशोधित नभएर अर्धप्रशोधित वा ग्रेडिङ गर्नुपूर्वको मात्रै भएको बताइएको छ । मकै भने पूर्ण रूपमै नेपालमा उत्पादित हुने बताइएको छ । मकै र चिनीको मूल्य स्थानीय बजारमा आधारित हुनेछ भने कोको अन्तर्राष्ट्रिय उत्पादन भएकाले यसको मूल्य अन्तर्राष्ट्रिय बजारमै भर पर्ने खतिवडाले बताए ।
थप कृषि उपजहरूको कारोबार हुन थालेपछि नेपाली कृषक, उत्पादक तथा व्यापारीहरूका साथै उपभोक्ताहरूले समेत लाभ लिनसक्ने उनको दाबी छ ।
अंक ३८, २०६७, जेठ १०–१६