नेपालका राजा महेन्द्रदेखि वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसम्म २४ पटक चीनमा उच्चस्तरीय भ्रमण भएका छन् भने चीनका चाउएनलाइदेखि वर्तमान राष्ट्रपति सी जिनफिङसम्म नेपालमा चीनको आठ पटक राष्ट्रप्रमुख स्तरीय भ्रमण भएका छन् । चीनका विदेशमन्त्री वाङ यीको १९ सदस्यीय प्रतिनिधिमण्डलसहित यही चैत ११ देखि १३ गतेसम्म तीन दिने नेपालको औपचारिक भ्रमण भएको छ । चिनियाँ टोली यसअघि अनौपचारिक रूपमा पटकपटक नेपाल आएका भए पनि कोभिड महामारीले विश्व आक्रान्त भएपछि चीनबाट यो स्तरको उच्च भ्रमण भएको थिएन । त्यसो त नेपालका परराष्ट्रमन्त्रीले गत कात्तिकमा नै चीनका विदेश मन्त्रीलाई औपचारिक निमन्त्रणा दिएको भए पनि चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण अहिले अप्रत्यासित रूपमा भएको छ ।