चितवन । कालिका नगरपालिकाले नगरक्षेत्रभित्र बनेका घरहरुको अभिलेखीकरणलाई व्यविस्थत गर्ने तयारी थालेको छ । कार्यपालिकाको बैठकले अर्को सातादेखि नयाँ तथा पुराना घरहरुको अभिलेखीकरण गर्ने निर्णय गरेको छ । राष्ट्रिय भवन संहिता २०७२ लागुहुनुपूर्व र संहित २०७२ लागु भए पश्चात बनेका सबै घरहरुको अभिलेखीकरण गर्ने निर्णय भएको हो ।
नगरपालिका गठन हुनुभन्दा अघि र गठन भएपछि स्वीकृत लिई वा नलिई बनेका घरहरुको अभिलेख राख्ने नगरपालिकाको योजना छ । घर अभिलेखीकरणका लागि नगरपालिकाले भवनहरुको अभिलेख तथा घर नक्सा व्यवस्था सम्बन्धी निर्देशिका समेत तयार पारेको छ । नगरभित्र बनेका पुराना तथा नयाँ घर दुवै अभिलेखीकरण गर्ने गरि निर्देशिका तयार पारिएको हो । नक्सा पास भएका र नक्सापास विना बनेका घरहरुपनि अभिलेखीकरण गर्ने कार्यपालिकाको बैठकले निर्णय गरेको कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले बताए ।
मापदण्ड अनुसार बनेका घरहरुलाई निश्चित शुल्क लिएर अभिलेख भएको प्रमाणपत्र दिनेछ । त्यसका लागि घरधनीले सधियार सहित पाँचजना स्थायी बसोबास गरेका व्यक्तिहरुको नागरिकता सहित साक्षी राखेर घरलाई अभिलेखीकरण गरिनेछ । बाटो र कुलोमा परेको घर बाहेक सबै खालका घरलाई अभिलेखीकरण गर्ने गरी निर्णय भएको छ । विवादित जग्गामा बनेको घरलाई भने अभिलेखीकरण गरिने छैन् ।
‘शिक्षक, कर्मचारी, जनप्रतिनिधि सबैको घर अभिलेखीकरण यो वर्ष हुन्छ’ नगर प्रमुख रेग्मीले भने, ‘जहाँ जस्तो अवस्थामा छ त्यस्तै खालले अभिलेख राखिनेछ’ । यो पटक सबैलाई मापदण्डमा ल्याउने प्रयास भइरहेको छ । नगरक्षेत्रभित्रका धेरै घर अभिलेखीकरण हुन छुटेकाले अन्तिम पटकका लागि अभिलेखीकरण गर्न लागिएको नगर प्रमुख रेग्मीको भनाई छ । घर अभिलेखीकरण गर्न नमान्नेहरुलाई राज्यले दिने सेवा सुविधावाट बञ्चित गर्न सक्ने अधिकार छ ।
तर अवसर नै नदिई बञ्चित गर्न नहुने नगर पालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव प्रसाद उपाध्यायले बताए । ‘घर अभिलेखीकरणका लागि यो अन्तिम पटक अवसर आएको छ प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले भने, यो अवसरको सदुपयोग नगरबासीले गर्नुपर्छ ।’ नगर प्रमुख रेग्मीको अध्यक्षतामा बसेको बैठकमा भवन तथा वस्ती विकाश तथा स्थानीय भू–उपयोग शाख प्रमुख इन्जिनियर किशोर खतिवडाले घर अभिलेखीकरण सम्बन्धी निर्देशीका बारे प्रकाश पारेका थिए । बैठकमा उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत सहित वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरुको उपस्थिति थियो ।