सरकार र व्यवसायीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने भन्दै बर्सेनि आप्रवासन दिवस मनाउने गरेको भए पनि यस क्षेत्रमा ठगीका घटना भने बढ्दै गएका छन् ।सरकार, व्यवसायी र अधिकारकर्मीले विश्व आप्रवासन दिवस मनाइरहँदा वैदेशिक रोजगारीका क्रममा विभिन्न कारणले ठगीमा परेका युवाको संख्या र ठगिएको रकम बढ्दै गएको छ । वैदेशिक रोजगार विभागमा व्यक्तिगत र संस्थागत ठगीका उजुरी जुन गतिमा दर्ता हुने गरेका छन्, त्यसको तुलनामा ठगी रकम भराउने सरकारी प्रयास भएको देखिएको छैन ।