यस वर्ष (सन् २०२२) केही दिन अघिमात्र अर्थात् गत मार्च महीनाको २१ देखि २७ तारीखसम्म विश्वव्यापी रूपमा विश्व वित्तीय सप्ताह अर्थात् ग्लोबल मनी विक मनाइयो । त्यो दशौं विश्व वित्तीय सप्ताह थियो । पैसाको सही प्रयोग तथा व्यवस्थापनसम्बन्धी यो चेतनामूलक कार्यक्रम अर्गनाइजेशन फर इकोनोमिक कोअपरेशन एन्ड डेभलपमेन्ट (ओईसीडी) को संयोजनमा सन् २०१२ देखि नै मनाउँदै आइएको छ । यसैको माध्यमबाट विश्वका करोडौं बालबालिका तथा युवाले वित्तीय चेतना प्राप्त गरेका छन् ।
पैसासम्बन्धी अर्थात् बचत, ऋण, बीमा, विप्रेषण, उद्यमशीलता विकास, वित्तीय अधिकार आदि विषयहरूका साथै विद्युतीय (डिजिटल) बैंकिङ कारोबारका बारेमा सुसूचित गराई वित्तीय आत्मनिर्भरता र सुरक्षित वित्तीय भविष्य प्राप्तिमा सहयोग पुर्याउने मुख्य ध्येय विश्व वित्तीय सप्ताहको रहेको छ । यस अभियानले बालबालिका तथा युवालाई सकेसम्म धेरै बचत गर्न उत्प्रेरित गर्छ । उनीहरूमा पैसाका बारेमा विवेकपूर्ण निर्णय लिन र सही वित्तीय सेवाहरूको छनोट तथा तिनीहरूको सही प्रयोग गरी सम्पन्नताको बाटो लाग्न सघाउँछ ।
सन् २०१५ देखि कुनै एउटा विषयलाई थिम बनाई यो मनाउन थालिएको हो । गतवर्ष २०२१ को यसको मुख्य नारा ‘आफ्नो बारेमा आफै विचार गर, आफ्नो पैसाको आफै जतन गर’ रहेको थियो भने यस वर्ष २०२२ को नारा ‘तिम्रो भविष्य बनाऊ, पैसाका बारेमा विवेकशील बन’ भन्ने रहेको छ ।
नेपालले पनि सन् २०१३ देखि नै विभिन्न कार्यक्रमहरूको आयोजना गरी विश्व वित्तीय सप्ताह मनाउँदै आएको छ । नेपाल राष्ट्र बैंकको अगुवाइमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरू, शिक्षा मन्त्रालय, युनिसेफ नेपाल, विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संघसंस्था, विद्यालय तथा कलेज आदिको सहभागितामा विभिन्न वित्तीय चेतनामूलक र्याली, वक्तृत्वकला तथा प्रवचन, रेडियो टेलिभिजन अन्तरक्रिया/संवाद आदि कार्यक्रम सञ्चालन गरिँदै आएका छन् । यसै सन्दर्भमा वित्तीय चेतनामूलक पुस्तिकाहरूको प्रकाशन तथा वित्तीय सचेतना प्रवर्द्धनात्मक अन्य सामग्रीहरूको निर्माण र वितरण गरिँदै आएका पनि छन् ।
कोभिड–१९ को विश्वव्यापी महामारीका कारणले अघिल्ला २ वर्ष विश्व वित्तीय सप्ताह प्रभावित बन्न पुग्यो । हालसम्म पनि यो महामारी पूर्णरूपमा अन्त्य भइसकेको अवस्था छैन, तथापि विश्व वित्तीय सप्ताहको यो दशौं वर्षलाई स्वास्थ्य सुरक्षाका मापदण्डको विचार र डिजिटल विधिको प्रयोग गरी मनाउन उपयुक्त हुने भनिएको थियो । त्यसअनुसार नेपाल राष्ट्र बैंकले यस अभियानको राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र बोर्ड, सहकारी विभाग र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेडको संयुक्त सहभागितामा काठमाडौं उपत्यकामा वित्तीय चेतनामूलक प्रस्तुतिहरू समावेश गरी सहकारी संस्थाका सदस्य, शेयर लगानीकर्ता बीमित व्यक्ति र कलेजस्तरका विद्यार्थीहरूलाई समेटेर कार्यक्रमहरूको आयोजना गर्यो । सोही अवसरमा काठमाडौं उपत्यका बाहिर रहेका नेपाल राष्ट्र बैंकका कार्यालयहरूले र अन्य बैंक तथा वित्तीय संस्थाहरूले पनि वित्तीय चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेका थिए ।
त्यसरी नै उपत्यका बाहिरका कुनै एक जिल्लामा साना तथा लघु उद्यमी,वैदेशिक रोजगारीमा संलग्न युवा, शिक्षक/शिक्षिका र दैनिक ज्यालादारी समूहको व्यक्तिको सहभागितामा एउटा वित्तीय चेतनामूलक कार्यक्रम आयोजना गर्ने र सर्वसाधारणको लागि डिजिटल वित्तीय साक्षरतासम्बन्धी विषयमा चेतनामूलक सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न एफएम रेडियो र राष्ट्रिय स्तरको टेलिभिजनबाट त्यससम्बन्धी चेतनामूलक अन्तरवार्ता प्रसारण गर्ने भन्ने कार्यक्रम तय भएबमोजिम ग्लोबल मनी विक २०२२ का कार्यक्रमहरू सञ्चालन गरिए ।
वित्तीय सेवाहरूलाई सहज र सरल बनाई बालबालिका तथा युवाहरूले बचत, ऋण, बीमा, विप्रेषण आदि वित्तीय सेवाहरूबाट फाइदा लिन सक्ने बनाउन विश्व वित्तीय सप्ताहले ठूलो योगदान पुर्याउन सक्छ । यसले अझ विशेष गरी बालबालिका तथा युवामा आफ्नो भविष्य सोचेर बचत गर्ने, आम्दानीका उपायहरूको खोजी गर्ने र आवश्यक काममा मात्र पैसा खर्च गर्नेजस्ता असल वित्तीय व्यवहारहरू अवलम्बन गर्न सहयोग गर्छ । सानै अवस्थाबाट बालबालिकामा वित्तीय सेवाहरू तथा तिनीहरूको सही प्रयोग/व्यवस्थापनको ज्ञान भयो भने उनीहरूको भविष्य सुरक्षित हुन्छ । त्यसैले पनि यस्ता सप्ताहलाई विभिन्न कार्यक्रमसहित सक्रियताका साथ मनाउनु र वित्तीय चेतना अभिवृद्धि गर्नु अति महŒवपूर्ण अभ्यास हो ।
अहिले नयाँ नयाँ प्रविधिको द्रुततर विकासले मानवीय जीवनका हरेक पक्षमा ठूलो परिवर्तन ल्याइदिएको छ । वित्तीय क्षेत्रमा पनि प्रविधिको प्रयोग बढ्दै जान थालेको छ । डिजिटल बैंकिङको विकास र विस्तार यही प्रविधिको उपज हो । वित्तीय कारोबारलाई डिजिटल माध्यमबाट गर्ने कार्य अहिले विश्वव्यापी लहरका रूपमा अगाडि बढिरहेको छ । सजिलो, भरपर्दो र प्रभावकारी यस माध्यमले वित्तीय क्षेत्रमा नयाँ आयाम नै थपिदिएको छ । अहिले विश्व नै नगदरहित कारोबार (क्यासलेस ट्रान्ज्याक्सन) तर्फ अगाडि बढिरहेको परिप्रेक्ष्यमा बालबालिका, युवा सहित सबैलाई डिजिटल वित्तीय कारोबार र यसका प्रक्रियाहरूको बारेमा जानकारी हुनु अपरिहार्य भएकाले पनि ग्लोबल मनी विकले यसमा ठूलो योगदान पुर्याएको छ ।
पैसा जीवनको अभिन्न वस्तु भएको र यसको सही प्रयोग, परिचालन सम्पन्नता प्राप्तिको एउटा बलियो आधार भएकाले बालबालिका र युवालाई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु अनिवार्य छ । पैसाको विवेकपूर्ण निर्णय गर्न सक्ने प्रौढ पुस्ताको निर्माण गर्न पनि बालबालिका तथा युवालाई वित्तीय जिम्मेवारी र अधिकारसहित वित्तीय व्यवस्थापनका कुराहरू सिकाउनैपर्छ । सन् २०१८ मा प्रकाशित विश्व वित्तीय साक्षरताको स्थितिलाई आधार मान्दा नेपालको प्रौढ वित्तीय साक्षरता दर अत्यन्त कमजोर अर्थात् १८ प्रतिशत मात्र देखिन्छ । औपचारिक शिक्षामा वित्तीय साक्षरताका विषयहरू समावेश नभएको र परिवारमा पनि यस सम्बन्धमा छलफल हुने संस्कार खासै नबनिसकेको हाम्रो नेपाली परिप्रेक्ष्यमा ग्लोबल मनी विक जस्ता अभियानहरू वित्तीय चेतना विस्तारका लागि अत्यन्त फलदायी बनेका छन् । यस अर्थमा पनि विश्व वित्तीय सप्ताह (ग्लोबल मनी विक) को अभियानले नेपालको वित्तीय सचेतना विकासको कार्यमा टेवा पुर्याएको छ ।
लेखक वित्तीय साक्षरता अभियानमा संलग्न व्यक्ति हुन् ।