यो वर्ष मार्च महिनाको २० देखि २६ तारिखसम्म ‘विश्व वित्तीय सप्ताह’ मनाइँदै छ। यस वर्षको ‘विश्व वित्तीय सप्ताह’को नारा ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ रहेको छ।...
हरेक वर्ष मार्च २० देखि २६ सम्म एक हप्ताको अवधिलाई विश्व वित्तीय सप्ताहको रूपमा मनाउने गरिन्छ । ओइसिडीको संयोजनमा सन् २०१२ देखि विश्वका अधिकांश देशमा यस कार्यक्रमलाई साप्ताहिक रूपमा मनाउन थालिएको हो । सन् २०२२ को दशौं शृंखलामा विश्वका १७० देशका ४ करोडभन्दा बढी किशोर तथा युवाहरू सहभागी भएका थिए । यस वर्ष मनाइने एघारौं शृंखलाअन्तर्गत यस अभियानको नारा प्लान योर मनी, प्लान्ट योर फ्युचर (पैसाका बारेमा योजना बनाउनुहोस्, भविष्यको जग राख्नुहोस्) रहेको छ ।
नेपाल राष्ट्र बैंकले यस वर्षको विश्व वित्तीय सप्ताह आउँदो चैत ६ देखि १२ सम्म उत्साहपूर्वक मनाउन इजाजतपत्रप्राप्त बैंक/वित्तीय संस्था र विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त संस्थाहरू विप्रेषण कम्पनी, मनिचेञ्जर कम्पनी र ट्राभल/ट्रेकिङ एजेन्सीहरूलाई पत्राचार गरेको छ । त्यसैगरी यस कार्यक्रममा सहकारी विभाग तथा सहकारी संस्थाहरू, नेपाल बीमा प्राधिकरण, नेपाल धितोपत्र बोर्ड, नेशनल बैंकिङ इन्ष्टिच्यूट, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोषलगायतका संस्थाहरू सहभागी हुने जनाइएको छ । विश्व वित्तीय सप्ताहको मूल उद्देश्य किशोर तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम भएकाले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम तथा र्यालीलगायतका कार्यक्रमहरू आयोजना गर्ने जानकारी राष्ट्र बैंकले दिएको छ ।
वित्तीय साक्षरताले पैसाको सही व्यवस्थापन गरी वर्तमानलाई सहज र भविष्यलाई सुरक्षित बनाउँछ भन्ने विषयलाई समेट्ने भएकाले यो कार्यक्रम सबैका लागि महत्त्वपूर्ण हुन्छ । औपचारिक शिक्षा पाएका व्यक्तिहरू पनि वित्तीय रूपले साक्षर नहुन सक्ने भएकाले शिक्षित, अशिक्षित, धनी, गरीब सबैको लागि वित्तीय साक्षरताको आवश्यकता पर्दछ । मानिसको अवस्था र स्तरलाई हेरी वित्तीय साक्षरतालाई आधारभूत र विशिष्ट गरी दुई तहमा वर्गीकरण गर्न सकिन्छ । आधारभूत तहको वित्तीय साक्षरताले बचत, कर्जा, नाफा, घाटालगायतका सामान्य कारोबारलाई समेट्दछ भने विशिष्ट तहले वित्तीय सेवा/उत्पादन र यसको प्रयोग, वित्तीय व्यवस्थापन, विवेकशील वित्तीय निर्णयलगायतका विषयलाई समेट्दछ । वित्तीय क्षेत्रमा प्रविधिको बढ्दो प्रयोगलाई उपयोग गरी लाभान्वित हुन डिजिटल वित्तीय साक्षरतालाई समेत प्राथमिकताका साथ वित्तीय साक्षरता कार्यक्रममा समेट्नुपर्दछ ।
बैंकिङ पहुँचको पछिल्लो अवस्था हेर्ने हो भने ७५२ स्थानीय तहमा ‘क’ वर्गका वाणिज्य बैंकको शाखा र ७७ जिल्लामा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाको शाखा पुगिसकेका छन् । त्यसैगरी, राष्ट्र बैंकले भर्खरै सार्वजनिक गरेको वित्तीय साक्षरता सम्बन्धी सर्भेको प्रतिवेदनमा ५७ दशमलव ९ प्रतिशत जनता वित्तीय रूपले साक्षर रहेका, मधेश प्रदेशको वित्तीय साक्षरताको दर अन्य प्रदेशको तुलनामा न्यून रहेको र पुरुषको तुलनामा महिला वर्गको साक्षरता दर ७ दशमलव ५ प्रतिशत विन्दुले न्यून रहेको उल्लेख छ । त्यसैगरी विगत केही समयदेखि उद्योग व्यवसायीले कर्जाको ब्याजदर चर्काे भएको भन्दै बैंक तथा वित्तीय संस्था समस्या संघर्ष समितिमार्फत विरोध गर्दै आएका छन् भने लघुवित्त वित्तीय संस्थाले ऋणीहरूको शोषण गरेको भन्दै यस्तो संस्थाविरुद्ध संघर्ष समितिले चरणबद्ध आन्दोलन गर्दै आएको छ । उल्लिखित परिदृश्यमा हाम्रो सन्दर्भमा वित्तीय साक्षरताको सान्दर्भिकता अझै बढ्दै गएको देखिन्छ ।
ऋणीले बैंक तथा वित्तीय संस्थाबाट कानूनी प्रक्रिया पूरा गरेर लिएको कर्जा नतिर्ने, कर्जा मिनाहा गर्नुपर्ने, संस्था नै खारेज गर्नुपर्ने जस्ता गैरकानुनी माग राख्दै विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्् । ऐन, कानूनबमोजिम इजाजतपत्रप्राप्त गरेका संस्थाको कानूनी शर्त स्वीकार गरी लिएका कर्जा ऋणीका लागि अनिवार्य दायित्व हुने भएकाले ऋण नतिरेसम्म कोही कहीँ पनि उन्मुक्त हुने अवस्था रहँदैन भन्ने कुरा ऋणीले भुल्न मिल्दैन । तर, सेवाग्राहीमा भएको कमजोर वित्तीय साक्षरताले पछिल्लो समय बैकिङ क्षेत्रमा अराजकता प्रदर्शन भएको देखिन्छ । यसका साथै बैंक/वित्तीय संस्थाको कामकारबाहीलाई लिएर यस क्षेत्रमा कार्यान्वयनमा नै नआएका विभिन्न आरोपहरूको चर्चा सडकदेखि सदनसम्म हुने गरेको सुनिन्छ । यसले मुलुकका प्रबुद्ध वर्गदेखि सर्वसाधारणको वित्तीय साक्षरताको स्तर कमजोर रहेको देखाउँदछ । त्यसैले विश्व वित्तीय सप्ताहको यही अवसरलाई समाउँदै वित्तीय चेतनामूलक कार्यक्रम, वित्तीय चेतनामूलक र्याली, सञ्चार माध्यमबाट वित्तीय चेतनामूलक सामग्री तथा अन्तरवार्ताहरूको प्रकाशन तथा प्रसारण, वित्तीय साक्षरता सम्बन्धी रचनात्मक क्रियाकलापलगायतका कार्यक्रममार्फत सबै वर्गलाई समेट्नुपर्ने देखिन्छ ।
वित्तीय साक्षरताले सेवाग्राही, सेवाप्रदायक संस्था, सर्वसाधारण, नीति निर्माता, उद्योगीव्यवसायी, सबैलाई आ–आफ्नो वित्तीय जिम्मेवारी वहन गर्न सिकाउने भएकाले वित्तीय अनुशासन कायम गर्न सहयोग पुग्दछ । वित्तीय रूपले साक्षर भएका ऋणीले आफ्नो क्षमता र आवश्यकताअनुसारको कर्जा लिई सदुपयोग गर्ने, तोकिएको समयमा कर्जाको किस्ता तिर्ने, उद्यमशीलतामार्फत आय आर्जन गरी ऋणको पाशोमा पर्नबाट जोगिनेलगायतका कुरामा ध्यान दिन्छन् । वित्तीय साक्षरताले विवेकशील लगानी गरी उच्च नाफा आर्जन गर्न र अनावश्यक खर्च गर्ने बानीलाई नियन्त्रण गर्न सहयोग गर्ने हुनाले वित्तीय सेवालाई प्रभावकारी र नतिजामुखी बनाउन सकिन्छ । त्यसैगरी प्रविधिको प्रयोगले वित्तीय सेवालाई छिटो, छरितो, सहज, भरपर्दो र सुविधाजनक बनाएको छ । भौतिक रूपमा बैंक/वित्तीय संस्थामा उपस्थित नभईकन प्रविधिको प्रयोग गरी आवश्यकताअनुसारको वित्तीय सेवा उपयोग गर्न सकिए पनि यसको प्रयोग गर्न नजान्दा विभिन्न कठिनाइ र नोक्सानीको सामना गर्नुपर्ने हुन्छ । त्यसैले वित्तीय साक्षरताको माध्यमबाट प्रविधिको सहज प्रयोग गर्ने शीपको विकास गरी लाभ लिन सकिन्छ ।
आजको दुनिया पूर्णरूपले मौद्रीकरण भइसकेकाले पैसाबिना मानिसको दैनिक जीवनदेखि अर्थतन्त्रको कल्पना गर्न सकिँदैन त्यसैले पैसाको सही व्यवस्थापनका लागि वित्तीय साक्षरता अपरिहार्य भएको छ । वित्तीय साक्षरताले वित्तीय कारोबारको गहनता अनुसार कारोबार गर्न सिकाउने हुनाले विश्व वित्तीय सप्ताहको अवसरमा आयोजना गरिने कार्यक्रमलाई कर्मकाण्डी नबनाई वर्षभरि नै सञ्चालन गर्नुपर्ने देखिन्छ । वित्तीय साक्षरतालाई प्राथमिकतामा राखी समुदायमा रहेका सवै तह र तप्कालाई वित्तीय रूपले साक्षर बनाउन सके सम्बद्ध सबै पक्षलाई अधिकार र कर्तव्यको जानकारी हुने हुनाले वित्तीय क्षेत्रलाई समस्यारहित बनाउन सकिन्छ । गुणस्तरीय वित्तीय साक्षरताको स्पष्ट खाका निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्न सकेमा वित्तीय क्षेत्रमा देखिएका समस्याहरूको समाधान भई वित्तीय क्षेत्रको स्थायित्व र विकासको अपेक्षा गर्न सकिन्छ ।
लेखक लघुवित्त सम्बन्धी जानकार हुन् ।