पूर्वी नवलपरासीमा आँखा पाक्ने रोग व्यापक रूपमा फैलिएपछि जिल्लाका सबै पालिकाले मङ्गलबारदेखि चार दिन विद्यालय बन्द गरेका छन्। कावासोती नगरपालिकाका नगर प्रमुख विष्णु भुसालले आँखा पाक्ने रोग ‘एडिनो भाइरल कन्जङ्टिबाइटिस’ को सङ्क्रमण देखिएको भन्दै सबै पालिकाले विद्यालय बन्द गरेको जानकारी दिनुभयो। उहाँले जिल्लाको देवचुली, गैँडाकोट, नगर, नवलपुर, मध्यबिन्दुलगायतका जिल्लाका सबै अस्पतालमा आँखाको उपचार गराउन आउने बिरामीमध्ये ९० प्रतिशतमा सङ्क्रमण भएको उल्लेख गर्नुभयो।