वैशाख २२, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. ३ अर्ब ११ करोड ७१ लाख बीमाशुल्क आर्जन गरेको छ ।
गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवमा बीमाुशल्क ३७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले गत आवको तेस्रो त्रैमाससम्ममा रू. २ अर्ब २६ करोड ६ लाख बीमाशुल्क आर्जन गरेको थियो ।
त्यसैगरी कम्पनीले चालू आवको तेस्रो त्रैमाससम्ममा रू. २२ करोड ८६ लाख नाफा कमाएको छ । गत आवको तुलनामा चालू आवको सोही अवधिमा नाफा २४ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको तेस्रो त्रैमासमा कम्पनीले रू. १८ करोड ३० लाख ९२ हजार नाफा कमाएको थियो । चालू आवको तेस्रो त्रैमासमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । चुक्तापूँजी रू. २ अर्ब ४१ करोड ७० लाख रहेको उक्त कम्पनीले जगेडामा रू. ६२ करोड ५२ लाख ९९ हजार र जीवन बीमा कोषमा रू. १४ अर्ब भन्दा बढी सञ्चित गरेको छ ।
कम्पनीको कुल कायम रहेको बीमालेखको संख्या २ लाख ३८ हजार ८३१ रहेको छ भने कुल जारी बीमालेखको संख्या १७ लाख ३३ हजार ८५६ पुगेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी रू. १२ दशमलव ६१, मूल्य आम्दानी अनुपात ६९ दशमलव ३८ र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव ९८ रहेको छ ।