मनाङ । हिउँद सकिएसँगै हिमाली जिल्ला मनाङमा पूर्वाधार निर्माणका काम शुरू भएका छन् । चिसो बढेसँगै रोकिएका विकास निर्माणका कामले फेरि तीव्रता पाएकोे पूर्वाधार कार्यालयले जानकारी दिएको छ । हिउँदमा हिमपात कम भए पनि अत्यधिक चिसोका कारण रोकिएका निर्माणका काम अहिले शुरू भएको कार्यालयका प्रमुख जय विष्टले जानकारी दिए । चिसोका कारण गतवर्ष निरन्तरको वर्षाले क्षति पुर्याएका भौतिक संरचना निर्माणका कार्य रोकिएका थिए ।
विशेषगरी माथिल्लो मनाङको सडक, पुल, हाइड्रो लगायत निर्माणका काम रोकिएकामा अहिले कामले निरन्तरता पाएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले बताइन् । ‘चिसोका कारण रोकिएका कामले निरन्तरता पाएको छ, सदरमुकाम चामे, नासोँ गाउँपालिका क्षेत्रमा केही काम नियमित थिए । तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा निर्माणका काम पूर्ण रूपमा ठप्प थियो,’ उनले भनिन् ।
जिल्लाका चामे, नासोँ, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम भइरहेको प्रमुख इन्जिनीयर विष्टले जानकारी दिए । ‘हिउँदमा चिसोले माथिल्लो मनाङतर्फको पूर्वाधार निर्माणका काम गर्न सकिँदैन, अहिले शुरुआत भएको छ, यहाँको काम वर्षमा जम्माजम्मी तीन महीना मात्र गर्न सकिन्छ,’ विष्टले भने ।
सडक निर्माणको कामअन्तर्गत रिटर्निङ वाल, नाला निर्माण, सडक सम्याउने लगायत कार्य भइरहेको उनको भनाइ छ । चिसोले रोकिएका काम अहिले वर्षायाम शुरू हुनु अगाडि नै केही सहज बनाउने उद्देश्यले तीव्रताका साथ काम भइरहेको उनले बताए । मनाङको मेरुदण्डका रूपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माण कार्य पनि मौसम अनुकूल भएपछि कामले तीव्रता पाएको छ । उक्त सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रूपमा बजेट विनियोजन हुँदै आएको छ । यहाँको सहज यातायातका लागि सरकारले विशेष रूपमा सडक निर्माण तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ ।
सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रू. ६/६ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जानकारी दिएको छ । डुम्रे–बेँसीशहर–चामे सडक खण्डको पक्की र दीर्घकालीन बनाउन संघ सरकारले रू. ६० करोड विनियोजन गरेको छ । आगामी पाँचवर्षको अवधिमा डुम्रे–बेँसीशहर–चामे सडक खण्डलाई चौडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बनाउने योजनाअनुसार बजेट विनियोजन भएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जानकारी दिएको छ । रासस