भदौ २८, चितवन । चीनको सिगात्से शहरले भरतपुर महानगरपालिकालाई १ करोड ७१ लाख मूल्य बराबरको स्वास्थ्य समग्री सहयोग गरेको छ ।
नेपालमा कृषिका क्षेत्रमा लगानी गरिरहेका चिनियाँ एक व्यवसायीको पहलमा भरतपुर महानगरपालिकालाई सिगात्से शहरको १ करोड १३ लाख र बाइयाचेंग कृषि खेति उत्पादन प्रशोधन कम्पनीबाट ६० लाख गरी १ करोड ७३ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री प्रदान भएको हो ।
आइतवार उक्त स्वास्थ्य सामग्री भरतपुर महानगर प्रमुख रेनु दाहाललाई हस्तान्तरण गरिएको थियो । उक्त समग्रीमा अक्सिजन कन्सन्टेटर २० ओटा, अक्सिजन सिलिन्डर २०० ओटा, फेस मास्क सर्जिकलर र एन ९५ मास्क ५० हजार, ईसिजी मेशिन ५ ओटा, पिपिई सेट २ हजार ७०० ओटा, सर्जिकल ग्लोबस १० हजार थान रहेको छ ।
सो अबसरमा बोल्दै भरतपुर महानगर प्रमुख रेनु दाहालले यसअघि पनि ४ पटकसम्म स्वास्थ्य सामग्री चीनको विभिन्न शहरबाट सहयोग आएको जानकारी दिइन् ।
विगतमा कोभिड अस्पताल, आईसोलेशन सेन्टर र अन्य स्वास्थ्य कार्यालयहरुमा पनि चीनबाट प्राप्त स्वास्थ्य सामग्रीले धेरै सहयोग पुगेको उनको भनाइ छ । यस पटक अहिले सम्मकै सबैभन्दा धेरै मूल्य बराबरको स्वास्थ्य सामग्री प्राप्त भएको हो ।
महानगरको टोली यस अघि चिन भ्रमण गरेको र सि पिङ शहरसँग भगिनी सम्बन्ध पनि विस्तार गरेसँगै नियमित रुपमा सहयोग प्राप्त हुँदै आएको छ ।