काठमाडौं । चीनको घरजग्गा बजारमा क्रेताहरू विस्तारै फर्किन थालेका छन् । त्यहाँको केन्द्रीय बैंक People’s Bank of China (पीबीओसी)ले सोमवार सार्वजनिक गरेको सर्वेक्षणको नतिजाले यस्तो देखाएको हो । सर्वेक्षणमा घर किन्ने चाहना व्यक्त गर्नेको संख्या बढेको छ ।
आगामी तीन महीनाभित्रै घर किन्ने योजना बनाइरहेका चिनियाँहरूको अनुपात साढे १७ प्रतिशत रहेको छ । यो अघिल्लो त्रैमासमा गरिएको सर्वेक्षणको भन्दा धेरै हो । डिसेम्बर त्रैमासमा यस्तो बताउनेको अनुपात १६ प्रतिशत थियो ।
गएको त्रैमासको आकडा सन् २०२२ को पहिलो त्रैमासयताकै उच्च हो । घरजग्गा बजारमा सुधारको अपेक्षा पनि बढेको छ । सहभागी भएका साढे १८ प्रतिशतले घरको भाउ बढ्ने अनुमान गरेको बताएका छन् । गएको वर्षको अन्तिम सर्वेक्षणमा यस्तो बताउनेको संख्या १४ प्रतिशत थियो । यो पनि सन् २०२१ को तेस्रो त्रैमासयताकै उच्च हो ।
चीनले गएको वर्षको अन्त्यतिर कोभिड नियन्त्रण अन्त्य गरेपछि घरजग्गा बजारप्रति क्रेताहरूको मनोबल बढ्न थालेको छ । घरजग्गा बजारलाई टेवा दिन केन्द्र र स्थानीय सरकारहरूले पनि घर किन्ने क्रेता र विकासकर्ताहरूलाई टेवा दिने खालका कयौं उपायहरू ल्याएका थिए ।
सन् २०२२ को गर्मीयाममा भने कोरोना भाइरसको महामारीको प्रभाव अनि डेभलपर कम्पनीहरूको वित्तीय कठिनाइका कारण अर्पाटमेन्टहरूको डेलिभरी समयमा नहुँदा घर क्रेताहरूले mortgages तिर्नै बन्द गरेका थिए । चीनमा बनिरहेको नयाँ घर अनि अपार्टमेन्टहरू सम्पन्न हुनुअगावै किनबेच हुन्छ ।
गएको दुई वर्षमा केन्द्र सरकारले ऋणकै आधारमा तीव्र वृद्धि हासिल गरिरहेका क्षेत्रमा कडाइ गर्न थालेपछि कर्जामा चुर्लुम्म डुबेका घरजग्गा व्यवसायीहरू पनि यसको चपेटामा परेका थिए । नयाँ कर्जा प्रवाहमा कडाइ गरेपछि अर्थतन्त्रको बलियो खम्बामध्ये एउटा खम्बा अर्थात् घरजग्गा बजार सुस्तायो ।
तर बन्न नसकेर आधा भएर बसेका अपार्टमेन्ट र भवनहरूको निर्माण सम्पन्न गर्न डेभलपरहरूलाई सजिलो पारिदिन जरुरी छ भनेर अहिले अधिकारीहरू अलि लचिलो बनेका छन् । चीनको घरजग्गा बजार विस्तारै लयमा फर्किन लागेको अन्य प्रतिवेदनहरूले पनि संकेत गरिरहेका छन् ।
मार्चमा घरको मूल्य सात महीनानमा पहिलो पटक बढेको थियो । तर, कोरोना भाइरसको महामारी फैलिन नदिन सरकारले चालेको कठोर नीतिको असरले अहिले अधिकांश चिनियाँहरू खर्चभन्दा बचत गर्न रुचाउँछन् । डिसेम्बरमा कोभिड नियन्त्रण अन्त्य गरेको भए पनि यो वर्षको पहिलो तीन महीनामा गरिएको एउटा सर्वेक्षणमा ५४ दशमलव २ प्रतिशत चिनियाँहरूले बचत गर्न रुचाउने बताएका थिए ।
चीनमा रियल इस्टेट क्षेत्रमा सुधारको संकेत देखिए पनि यूरोप अमेरिकादेखि एशियाकै अन्य देशरूमा भने यो क्षेत्रमा संकुचन कायमै रहेको छ । एजेन्सी