नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको कार्गो रेल सञ्चालन हुन सकेन

नेपाल र भारतका प्रधानमन्त्रीले उद्घाटन गरेको कार्गो रेल सञ्चालन हुन सकेन

सम्बन्धित सामग्री

विराटनगर आईसीपीको कस्टम यार्ड सात दिनभित्र कार्गो अनलोडको पूर्वाधार

विराटनगर । विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्रमा रहेको नेपाल कस्टम यार्डमा भारत र तेस्रो मुलुकबाट आयात हुने मालवस्तु अनलोड गर्न १ साताभित्र सम्पूर्ण तयारी पूरा हुने भएको छ । त्यहाँ नेपाल रेलवे कम्पनी लिमिटेडको कार्यालयसमेत स्थापना हुने कम्पनीको विराटनगर कार्यालयका प्रशासन प्रमुख छोटु यादवले जानकारी दिए ।  रेलवे लिक मर्मत गर्नुपर्ने देखिएको र कार्यालय स्थापना गर्न १ साता लाग्ने भएकाले त्यसपछि उद्योगी व्यवसायीले कुनै पनि मालवस्तु नेपाल कस्टम यार्डमा ल्याए अनलोड गरी ट्रकमा लोड गर्न सकिने उनले बताए । उद्योगी व्यवसायीले नेपाल कस्टम यार्डमा पूर्वाधारको कारण देखाउँदै सामान मगाएका छैनन् ।  नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको ८ महीना बित्दा पनि भारतको कोलकाता बन्दरगाहबाट आईसीपीसम्म कार्गाे रेल सञ्चालन हुन नसकेपछि भारतका लागि नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसहितको टोली केही अघि विराटनगर आएर उद्योगी व्यवसायीसँग छलफल गरेको थियो । उक्त छलफलपछि निजीक्षेत्रका व्यवसायीले कार्गाे नेपाल कस्टम यार्डमा ल्याउन पहल गरेका थिए । कोलकाता बन्दरगाहबाट आईसीपीसम्म चारओटाबाहेक अन्य वस्तु ल्याउन नपाउने सम्झौता भएकोले आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेलमा सामान आउन नसकेको निजीक्षेत्रले बताउँदै आएको छ । अहिले आईसीपीको भारतीय क्षेत्रसम्म मात्र माल ढुवानी हुँदै आएको छ ।  अन्य वस्तु पनि ढुवानी गर्न पाउने गरी सम्झौतालाई सहज बनाउन नेपाल र भारतका अधिकारीबीच पटकपटक वार्ता भए पनि उत्साहजनक प्रगति भएको छैन । विराटनगरका लागि कोलकाता सबैभन्दा नजिकको बन्दरगाह हो । भारतको बथनाहादेखि नेपालको कटहरीसम्म रेलवे विस्तार चालू छ । बथनाहाबाट आईसीपीसम्म कार्गो रेल सञ्चालनमा आइसकेको छ । कार्गो रेल सञ्चालनमा समस्या भएपछि सरकारी स्वामित्वको नेपाल रेलवेको कार्यालय स्थापना गरेर सहजीकरण गर्न लागिएको हो । यसले नेपालको रेलमार्गमा रेल सञ्चालन गर्छ । मुख्यालय जनकपुरमा रहेको कम्पनीले विराटनगरमा शाखा स्थापना गरेर काम शुरू गरेको छ ।  विराटनगर शाखाका लागि प्रशासन प्रमुखका रूपमा छोटु यादवलाई खटाइएको छ । यादवले विराटनगर शाखा इन्चार्जका रूपमा काम अघि बढाउनेछन् । यादवले आफू ७ दिनअघि मात्रै आइपुगेकाले अवस्था अध्ययन गरिरहेको बताए । ‘रेलवे यार्डमा केही टुटफुट देखिएको छ, मर्मत गर्न ७ दिन जति लाग्छ,’ उनले भने । उनले कार्गो रेल सञ्चालनमा देखिएको समस्या समाधान गर्ने विषयमा उद्योगी–व्यापारीले उठाएका विषय केन्द्रीय कार्यालयसम्म पुर्‍याउन सहजीकरण गर्ने र रेलमार्फत आयात हुने मालवस्तुका लागि भारतको रेलवे कम्पनीको कटिहार र बथनाहास्थित स्टेशनसँग सम्पर्कमा रहने जानकारी दिए । ‘पहिले कार्यालय पूर्ण रूपमा स्थापना गर्नुपर्नेछ,’ इन्चार्ज यादवले भने, ‘त्यसपछि सेवाग्राही र वस्तु आयातनिर्यातसँग जोडिएका सरोकारवाला पक्षसँग परामर्शमा काम गर्ने कार्यादेश छ । उनले रेलवेको शाखा कार्यालय विराटनगर–१८, आईसीपीनजिक रहेको नेपाल कस्टम यार्डमा स्थापना भएको जानकारी दिए । कोलकाता बन्दरगाहबाट सिमेन्ट, कोइला, क्लिंकर र मलमात्र ल्याउन पाउने सम्झौता भएका कारण उद्घाटन भएको ८ महीना बित्दा पनि विराटनगरस्थित आईसीपीमा कार्गाे ढुवानी हुन सकेको छैन ।

जयनगर–कुर्था खण्डमा रेल आइतबारदेखि चल्ने, कार्गो पनि सञ्चालन गर्ने तयारी

वीरगन्ज । भारतको जयनगरबाट महोत्तरीको बिजलपुरासम्म रेल सेवा सञ्चालन गर्ने तयारी भएको छ । जयनगरबाट धनुषाको कुर्थासम्म गत २०७८ चैत २० गतेदेखि सञ्चालन हुँदै आएको रेल सेवालाई यही असार ३१ गतेदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गर्न लागिएको छ । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग निर्माणकार्य सम्पन्न भएसँगै बिजलपुरासम्म रेल सञ्चालन हुने निश्चित भएको हो । निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेल्वे ट्रयाक गत जेठ १८ गते भारतीय रेल्वे कम्पनी इरकन इन्टरनेसनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जकुमार झालाई हस्तान्तरण गरेका थिए ।  ‘ट्रयाक हस्तान्तरण गरिसकेको छ, अब जयनगरबाट कुर्था हुँदै बिजलपुरासम्म रेल सञ्चालन गर्न लागेका छौं,’ महाप्रबन्धक झाले भने । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले उक्त सेवाको उद्घाटन गर्ने कार्यक्रम छ । हाललाई कुर्थाबाट बिजलपुरासम्म दैनिक एकपटक सेवा प्रदान गरिने उनले बताए ।    कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेल्वे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । ‘जग्गा मुआब्जालगायत कारण बिजलपुरा भङ्गहाबाट बर्दिबाससम्म रेलमार्ग निर्माणको काम प्रभावित भएको छ,’ नेपाल रेल्वे कम्पनीका इन्जिनियर रवीन्द्रकुमार साहले भने, ‘कतिपय ठाउँमा सडक छ, तर नक्सामा छैन, तैपनि स्थानीयले मुआब्जा मागिरहेका छन् । यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेल्वे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।’   मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चल्ने साहले बताए । रेल सञ्जाललाई नेपालमा विस्तार गर्नेबारे नेपाल सरकार र भारत सरकारबीच सन् २०१० मा द्विपक्षीय सम्झौता भएको थियो । सोहीअनुसार २०११ माघमा निर्माणको थालनी भएको थियो । ब्रोडगेज निर्माणको ठेक्का भारतीय ठेकेदार कम्पनी इरकन इन्टरनेसनल लिमिटेडले प्राप्त गरी कम्पनीको निगरानीमा धनुषा र महोत्तरीमा दुई निर्माण कम्पनीलाई ठेक्का दिएर काम अघि बढाइएको नेपाल रेल्वे कम्पनीले जनाएको छ । विसं २०७८ चैत १९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा उद्घाटन गरेपछि चैत २० गतेदेखि जयनगरबाट कुर्थासम्म नियमित रेल सेवा सञ्चालन हुँदै आएको छ । जयनगर–कुर्था ३५ किलोमिटर रेल्वे मार्गमा अहिले दैनिक दुईपटक आउने र दुईपटक जाने गरेको छ । यात्रुको चाप बढ्दै गएको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।  नेपालमा रेल सञ्चालनका लागि भारतीय जनशक्ति र भारतमै इन्धन भर्नुपर्ने बाध्यताबाट मुक्त गरी नेपाली रेल सेवालाई आत्मनिर्भर बनाउन नेपाल रेल्वे कम्पनीले विभिन्न योजना अघि बढाएको महाप्रबन्धक झाले बताए । तत्काल स्थायी कर्मचारीको सङ्गठन संरचना निर्माण, वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण तथा जयनगर कुर्था खण्डमा कार्गो रेल सेवा सञ्चालनको तयारी शुरु गरिएको महाप्रबन्धक झाले बताए ।  नेपाल रेल्वे कम्पनीको आफ्नो वासिङ सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने र अहिले रेलको वासिङ गराउन मात्र भारतीय कम्पनीलाई ठूलो मात्रा वार्षिक रकम खर्च गर्दै आएको छ । ‘नियमित रेल सेवा सञ्चालन हुँदै आए पनि आफ्नो वासिङ सेन्टर र फ्युल सेन्टर नहुँदा भारतमा रेलको वासिङ गराउनुपर्ने अवस्था छ,’ नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक झाले भने, ‘जसका कारण हामीले वासिङमा मात्र धेरै रकम खर्चिंदै आएका छौं ।’ भारतमा फ्युल भराउँदा २८ प्रतिशत कर तिर्नुपर्ने अवस्था छ, यसबाट हामी बर्सेनि ठूलो रकम खर्चिन बाध्य छौं,’ उनले भने ।  ‘नेपाल रेल्वे कम्पनीले आफ्नो वासिङ सेन्टर, वर्कसप र फ्युल सेन्टर स्थापना गर्न सकिए वार्षिक करिब रु १०–१२ करोडभन्दा बढी रकम बचत हुनसक्छ,’ महाप्रबन्धक झाले भने, ‘त्यसका लागि हामीले योजना बनाएर अघि बढेका छौं, नेपालमै वासिङ सेन्टर र फ्युल सेन्टर निर्माण गर्ने योजना तयार पारेका छौं ।’     नेपाली रेल सञ्चालन गर्न नेपाली जनशक्ति नहुँदा अहिले भारतीय जनशक्तिबाट रेल सञ्चालन हुँदै आएको छ ।  ‘हामीले तत्काल स्थायी प्रकृतिको कर्मचारी माग गरेका छौं, आएपछि उहाँहरूलाई तालिम दिएर दक्ष बनाइने योजना अघि बढाएका छौं,’ उनले भने, ‘स्थायी कर्मचारीको सङ्गठन संरचना र दरबन्दीको सहमतिका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमार्फत नेपाल रेल्वे कम्पनीको फायल विगत दुई महिनादेखि अर्थ मन्त्रालयमा अड्किएको छ, जसका कारण काम अघि बढाउन समस्या भइरहेको छ ।’  जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवासँगै कार्गो रेल सेवा सञ्चालन गर्ने तयारीमा जुटेको उनको भनाइ छ ।  रेल चल्न थालेसँगै जनकपुरसहित मधेस प्रदेशको पर्यटन, धार्मिक क्षेत्रको विकास र स्थानीय उत्पादनको निर्यात बढेको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अम्बु साहको भनाइ छ । जयनगर कुर्था खण्डमा रेल रोकेर यात्रु चढाउन र झार्नका लागि सात ठाउँमा स्टेशन÷हल्ट छन् । जयनगरबाट कुर्थासम्म कुर्था, परवाहा, बैदेही, महिनाथपुर, खजुरी, इनर्वा र जयनगर छन् भने अब विजयपुरासम्म थप दुई हल्ट र दुई स्टेशन थपिएका छन् ।  भारतको सरकारी कम्पनीमार्फत रेल सेट खरीद गरेर करिब तीन वर्षअघि नेपाल आइपुगे पनि विभिन्न समस्याका कारण सञ्चालन हुनसकेको थिएन । रासस

एकीकृत जाँचचौकीमा पूर्वाधार

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भारत र नेपालका दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको कार्गो रेल अहिले सञ्चालनमा आउन सकेको छैन । जेठ १८ मा विराटनगरको एकीकृत जाँचचौकी (आईसीपी) मा कार्गो रेल आएपछि पुन: अर्को आउन नसक्नुमा आईसीपी सञ्चालनका लागि पूर्ण तयारी नहुनु हो । यही कारण व्यवसायीले यो कार्गोरेल प्रयोग गर्न हिचकिचाएका छन् ।  नेपाली उद्योगका कच्चा पदार्थ बोकेका मालवाहक रेल भारतको बथनाहासम्म मात्रै आउने गरेको थियो । त्यहाँ सामान अनलोड गरेर ट्रकमा राखी नेपालमा सामान भित्त्याउने गरिएको थियो । यसो गर्दा अनलोड अपलोडका लागि बढी खर्च लाग्ने, डिटेन्सन आदि खर्च लाग्ने र समयमा सामान अनलोड गर्न नसके रेकको भाडा पनि बढी तिर्नुपर्ने हुँदा आयात महँगो थियो । सडकबाट सामान ल्याउनुभन्दा रेलबाट ल्याउन निकै सस्तो पर्ने भएकाले कार्गोरेलका लागि नेपालले निकै पहल गरेको थियो । नेपाल र भारतबीच भएको सहमतिपछि भारतले रेलमार्ग बनाइदिएको हो । तर, नेपालले प्रतिबद्धता गरेअनुसार जग्गा उपलब्ध गराउन नसकेपछि भन्सार यार्डका लागि आवश्यक अन्य पूर्वाधार बन्न सकेन । पाँच वर्षअघि नै सम्पन्न भए पनि यसको सञ्चालनको वातावरण बनेको थिएन । यसैबीच प्रधानमन्त्री दाहालको भारत भ्रमणमा कार्गो रेल शुरू गरिएको हो । कार्गो रेल आएसँगै व्यवसायीहरू खुशी भए पनि कार्गोरेलबाट सामान ल्याउन भने उनीहरू तयार भएको देखिँदैन । यसो हुनुमा सरकारकै कमजोरी देखिन्छ ।  एकीकृत भन्सार जाँच चौकीसम्म कार्गोरेल ल्याउन पहल भएको निकै लामो समय भइसकेको छ । तर, भन्सार यार्डमा आवश्यक पूर्वाधार नबनेकाले व्यवसायीको खुशी टिक्न सकेन । उद्घाटनका दिन आएका सामान खुला आकाशमा छाड्दा पानी परेर क्षति पुगेको छ । कार्गोरेलमा आउने सामान बल्कमा आउने भएकाले त्यसैअनुसार अनलोड गर्न, त्यहाँबाट ट्रकमा राखेर अन्यत्र लैजान आवश्यक पूर्वाधार बनेको छैन । नेपाल सरकारले भारत सरकारलाई जग्गा उपलब्ध गराउन नसक्दा यो समस्या आएको देखिन्छ । यद्यपि त्यहाँ सार्वजनिक जग्गा भएकाले यसमा समस्या नआउने आकलन गरिएको थियो । आवश्यक पूर्वाधार तयार नभएपछि कार्गो रेलबाट सामान ल्याउनुभन्दा विगतझैं ट्रकबाटै ल्याउन व्यवसायीलाई सहज भएको छ । नयाँ पूर्वाधारले लागत र समय घटाउनुपर्छ । त्यसो नहुने हो भने त्यो पूर्वाधार प्रयोजनविहीन हुन पुग्छ । त्यसैले अहिले रेल सञ्चालन नभएपछि अपेक्षित लाभ लिन सकिएको छैन । रेल सञ्चालन नहुने हो भने यतिका वर्ष लगाएर र ठूलो लगानी खर्च भएको आईसीपीको के अर्थ ? नेपालले आफैले र विदेशी सहयोगमा बनाएका कैयौं पूर्वाधार प्रयोजनविहीन बनेका पाइन्छन् । काठमाडौंको चोभारमा सुक्खा बन्दरगाहको माग निजीक्षेत्रले गरेकाले त्यसैअनुसार सरकारले बनायो । तर, अहिले व्यवसायीले नै यो बन्दरगाह प्रयोग गर्न चासो दिएका छैनन् । विशेष औद्योगिक क्षेत्र पनि उपलब्धिपूर्ण तरीकाले सञ्चालनमा आउन सकेको देखिँदैन । भैरहवा र पोखरामा बनेका अन्तरराष्ट्रिय विमानस्थलको अवस्था त झनै दयनीय छ । ऋण लिएर बनाइएका यस्ता पूर्वाधार असफल हुनु भनेको सरकारी अदूरदर्शिता नै हो । त्यस्तै आईसीपी बन्नु मात्र ठूलो कुरा होइन, सञ्चालनमा ल्याउनु महत्त्वपूर्ण कुरा हो ।  नेपालमा ठूलो लगानी गरेर पूर्वाधार बन्ने तर प्रयोग नहुने समस्या यसमा दोहोरिनु हुँदैन । जतिसक्दो चाँडो समस्या समाधान हुनुपर्छ । के कारणले कार्गोरेल चल्न सकेन त्यसमा सरकार गम्भीर हुनुपर्छ । रेल चल्न सकेन भने स्वदेशमा त्यसको असर त पर्छ नै साथै भारतका अगाडि पनि लाजमर्दो हुन्छ । किनकि भारतले बनाइदिएको पूर्वाधार चल्न नसक्दा आन्तरिक व्यवस्थापन कमजोर रहेछ भन्ने पुष्टि हुन्छ । नेपालले आफ्नो आवश्यकताअनुसार सहयोग नलिने रहेछ भन्ने सन्देश प्रवाह भयो भने भोलिका दिनमा उनीहरू सहयोग गर्न पनि अनिच्छुक हुने सम्भावना हुन्छ । त्यसैले यसलाई सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ । कुनै पनि बहाना गरेर ढिलासुस्ती गर्नु हुँदैन ।

भारतको बथनाहाबाट विराटनगर आइपुग्यो कार्गो रेल, सकिएको छैन परियोजनाको काम

विराटनगर । निर्माण नसकिँदै भारतको बथनाहाबाट नेपालको विराटनगरमा कार्गो रेल सञ्चालन गरिएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे सेवाको उद्घाटन गरेका हुन् । बिहीबार दिल्लीबाट दुई देशका प्रधानमन्त्रीले स्विच थिचेर रेलवे र कार्गो रेलवे सेवाको उद्घाटन गरेसँगै आजै बथनाहाबाट नेपाली उद्योगका कच्चापदार्थ बोकेको कार्गो रेल विराटनगर […]

लिक बनेको चार वर्षपछि बल्ल कार्गो रेल आउँदै

२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म आज बिहीबारदेखि रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो । रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन सकेको थिएन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी […]

बथनाह–विराटनगर कार्गाे रेल सञ्चालन : सरकारी टोलीले गर्‍यो प्राविधिक अध्ययन

विराटनगर । भारतको बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गाे रेल सञ्चालन सम्बन्धमा प्रक्रियागत तयारी अघि बढाइएको छ । अहिले विराटनगरका लागि माल लिएर आएका कतिपय कार्गाेले ७ किलोमीटर दक्षिण बथनाहामै अनलोड गर्ने र त्यहाँबाट मालवाहक ट्रकमा आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता छ । रेलवे प्राविधिहरूले २ वर्षअघि नै सुझाएको आधारमा सरकारी टोलीले शुक्रवार र शनिवार आईसीपीसम्म रेलवे सञ्चालनको सम्भावनाबारे स्थलगत अध्ययन गरेको छ । टोलीमा परराष्ट्र मन्त्रालयका उपसचिव लोकबहादुर क्षत्री, सहसचिव तीर्थराज वाग्ले, सहसचिव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा. नारायणप्रसाद रेग्मी, शाखा अधिकृत सुसना शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव केशवराज शर्मा, रेलवे विभागका सिनियर डिभिजनल इन्जिनीयर अमन चित्रकार, नेपाल इन्टरमोडल यातायात विकास समितिका महानिर्देशक आशिष भुजेल र इन्जिनीयर शोभाकान्त राउत सहभागी थिए । विराटनगर भन्सार प्रमुख ताराप्रसाद सापकोटाका अनुसार शुक्रवार रेलवेको अध्ययन गरि टोली राजधानी फर्केको छ । प्राविधिकलगायत सम्भाव्यताको अध्ययनपछि कार्गाे रेल आईसीपीसम्म ल्याउन अवरोध नरहेको ठहर गरी टोलीले प्रधानमन्त्री कार्यालयलाई सुझाव दिनेछ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला दुवै देशबीच आईसीपीसम्म कार्गाे रेल सञ्चालनबारे सहमति भए प्रक्रिया अघि बढ्ने बताइएको छ । त्यसका लागि पूर्वाधारसमेत तयारी अवस्थामा छ । बथनाहबाट सोझै आईसीपीसम्म कार्गो आउने अवस्था आएमा ढुवानी भाडासमेत सस्तो पर्ने र त्यसले उपभोक्तालाई समेत राहत हुने नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष राजेन्द्र राउतले बताए । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले समेत कार्गो रेल सञ्चालन सम्बन्धमा अध्ययन र सहजीकरण गरेको थियो । यसका लागि सबै तहका सरकारी निकायको पहल र समन्वयसँगै प्रधानमन्त्रीको भारत भ्रमणको बेला उच्चस्तरीय छलफल गर्ने तहसम्मको तयारी थालिएको छ । उक्त अवसरमा कार्गो रेल सञ्चालनको बाटो खुलाउन पहल गर्नेगरी सरकारीस्तरमा छलफल शुरू गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय, भारतीय पक्षसँग छलफल गर्नेस्तरमा पुगेको जानकारी दिए । । आईसीपीको रेल स्टेशनसम्म कार्गो रेल सञ्चालन गर्न सकिने विज्ञको सुझावका आधारमा केही प्रक्रियागत पहल थालिएको रेग्मीको भनाइ छ । रेलवे विभागका महानिर्देशक दीपक भट्टराईका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइसीपीसम्म कार्गो रेल ल्याउने विषयमा दुईपक्षीय सम्झौता गर्न सकिने विषयमा वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा काम अघि बढेको हो । त्यसका लागि प्राविधिकलगायतको टोलीले विराटनगरको रानीमा रहेको आईसीपी र रेलवे कस्टम यार्डलगायतको अध्ययन गरिरहेको छ । ‘रेलवे सम्पन्न भएर हस्तान्तरण हुँदा आफूहरूले जिम्मा लिए पनि अहिलेको रेलमार्ग व्यापारसँग पनि जोडिएकाले यसमा वाणिज्य मन्त्रालयले सहजीकरण गरिरहेको हो,’ भट्टराईले भने । उनका अनुसार कुन मोडेलमा कार्गाे सेवा सञ्चालन गर्ने भन्नेबारे अध्ययन भइरहेको छ । नेपाल–भारत रेलवे निर्माण सम्झौतामा बथनाह–कटहरी १८.६ किलोमीटरको दूरी निर्माण गरिने उल्लेख छ । निर्माण सम्पन्न भइसकेपछि मात्रै हस्तान्तरण गर्ने विषय उल्लेख छ । अहिले भारतीय पक्षसँग निर्माण भइसकेको क्षेत्र उपयोग गर्दै बाँकी काम पूरा गर्न सकिने सम्भावनाका बारेमा छलफल थालिएको छ । रेलमार्गको १८ दशमलव ६ किलोमीटरमध्ये निर्माण सकिएको ७ किलोमीटर दूरीबाहेकको काम अहिले भइरहेको छ । बथनाहा रेलवे स्टेशनबाट विराटनगरको बुधनगरस्थित नेपाल कस्टम यार्डसम्मको ७ किलोमीटर दूरीमा २०७६ कात्तिकमा रेलवे लिक परीक्षण गरिएको थियो । नेपाल कस्टम यार्डमा अहिले पैदल यात्रुका लागि ओभर ब्रिज बनाउने कामसमेत भइरहेको छ । एशियाली विकास बैंकका परामर्शदाता श्याम दाहाल र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजूले गत जुलाई–अगस्टमा स्थलगत अध्ययन गरेर आईसीपीसम्म कार्गो रेल सञ्चालनको सम्भावना रहेको सुझाव दिएका थिए । त्यसैका आधारमा अहिले मन्त्रालयले बाँकी प्रक्रियागत पहल लिइरहेको छ । मन्त्रालयका प्रवक्ता रेग्मीले उच्च तहमा कार्गो रेल ल्याउने विषय छलफल भइरहेको दाबी गर्दै त्यसका लागि अन्तरसरकारी निकाय समन्वयको काम मन्त्रालयले गरिरहेको बताए । कार्गो रेल सञ्चालनका लागि पहिलो चरणमा नेपालले ८७५ मिटर लम्बाइ र ३१ मीटर चौडाइको यार्ड र आईसीपीसम्मको पहुँच मार्ग निर्माण गर्नुपर्नेछ । यार्ड निर्माणका लागि ६ करोड ८४ लाख र पहुँच मार्ग निर्माणका लागि ६३ लाख खर्च हुने अनुमान गरिएको छ । दोस्रो चरणमा अधिग्रहण भइसकेको रेलवेको जग्गा र आईसीपीभित्रको खाली क्षेत्र समेटेर ४० मीटर चौडाको कन्टेनर प्लाटफर्म विकास गर्न प्रस्ताव गरिएको छ । यसका लागि ४२ करोड ८८ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । पहिलो र दोस्रो चरणको विस्तारपछि कन्टेनर यार्ड ७१ मीटर चौडाइको हुनेछ । कार्गो रेल सञ्चालनका लागि एकीकृत भन्सार जाँच चौकी, रेलवे र भारतीय भन्सारबीच विराटनगर भन्सारले समन्वयको काम गर्ने बताइएको छ । विराटनगर भन्सारका प्रमुख ताराप्रसाद सापकोटाले व्यापार सहजीकरण बैठकमा कार्गो रेल ल्याउने विषयमा छलफल गरिने बताए । रेल सञ्चालनमा आए विराटनगर भन्सारमार्फत भारत तथा तेस्रो मुलुकमा हुने निकासी र तेस्रो मुलुकबाट पैठारीमा हाल लाग्दै आएको ढुवानी खर्चमा ३५ प्रतिशतले कमी आउनेछ ।

नेपालले पहल गरे विराटनगर आइसीपीसम्म चल्नसक्छ कार्गो रेल

काठमाडौँ– विराटनगरको एकीकृत जाँचचौकी (आइसीपी)सम्म कार्गो रेल सञ्चालन गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालेका छन् । नेपाल–भारत अन्तरदेशीय रेल सेवाअन्तर्गत जोगबनी–विराटनगर रेल सेवा आइसीपीसम्म सञ्चालन गर्न सकिने गरी तयार भैसकेको छ ।  आइसीपीसम्म न…

नेपालले पहल गरे विराटनगर आइसीपीसम्म चल्नसक्छ कार्गो रेल

काठमाडौँ– विराटनगरको एकीकृत जाँचचौकी (आइसीपी)सम्म कार्गो रेल सञ्चालन गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालेका छन् । नेपाल–भारत अन्तरदेशीय रेल सेवाअन्तर्गत जोगबनी–विराटनगर रेल सेवा आइसीपीसम्म सञ्चालन गर्न सकिने गरी तयार भैसकेको छ ।  आइसीपीसम्म न…

नेपालले पहल गरे विराटनगर आइसीपीसम्म चल्नसक्छ कार्गो रेल

काठमाडौँ– विराटनगरको एकीकृत जाँचचौकी (आइसीपी)सम्म कार्गो रेल सञ्चालन गर्नेगरी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल थालेका छन् । नेपाल–भारत अन्तरदेशीय रेल सेवाअन्तर्गत जोगबनी–विराटनगर रेल सेवा आइसीपीसम्म सञ्चालन गर्न सकिने गरी तयार भैसकेको छ ।  आइसीपीसम्म न…