विराटनगर आईसीपीको कस्टम यार्ड सात दिनभित्र कार्गो अनलोडको पूर्वाधार

विराटनगर । विराटनगरको एकीकृत जाँच चौकी (आईसीपी) क्षेत्रमा रहेको नेपाल कस्टम यार्डमा भारत र तेस्रो मुलुकबाट आयात हुने मालवस्तु अनलोड गर्न १ साताभित्र सम्पूर्ण तयारी पूरा हुने भएको छ । त्यहाँ नेपाल रेलवे कम्पनी लिमिटेडको कार्यालयसमेत स्थापना हुने कम्पनीको विराटनगर कार्यालयका प्रशासन प्रमुख छोटु यादवले जानकारी दिए ।  रेलवे लिक मर्मत गर्नुपर्ने देखिएको र कार्यालय स्थापना गर्न १ साता लाग्ने भएकाले त्यसपछि उद्योगी व्यवसायीले कुनै पनि मालवस्तु नेपाल कस्टम यार्डमा ल्याए अनलोड गरी ट्रकमा लोड गर्न सकिने उनले बताए । उद्योगी व्यवसायीले नेपाल कस्टम यार्डमा पूर्वाधारको कारण देखाउँदै सामान मगाएका छैनन् ।  नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा उद्घाटन गरेको ८ महीना बित्दा पनि भारतको कोलकाता बन्दरगाहबाट आईसीपीसम्म कार्गाे रेल सञ्चालन हुन नसकेपछि भारतका लागि नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलसहितको टोली केही अघि विराटनगर आएर उद्योगी व्यवसायीसँग छलफल गरेको थियो । उक्त छलफलपछि निजीक्षेत्रका व्यवसायीले कार्गाे नेपाल कस्टम यार्डमा ल्याउन पहल गरेका थिए । कोलकाता बन्दरगाहबाट आईसीपीसम्म चारओटाबाहेक अन्य वस्तु ल्याउन नपाउने सम्झौता भएकोले आईसीपीको नेपाल कस्टम यार्डसम्म कार्गो रेलमा सामान आउन नसकेको निजीक्षेत्रले बताउँदै आएको छ । अहिले आईसीपीको भारतीय क्षेत्रसम्म मात्र माल ढुवानी हुँदै आएको छ ।  अन्य वस्तु पनि ढुवानी गर्न पाउने गरी सम्झौतालाई सहज बनाउन नेपाल र भारतका अधिकारीबीच पटकपटक वार्ता भए पनि उत्साहजनक प्रगति भएको छैन । विराटनगरका लागि कोलकाता सबैभन्दा नजिकको बन्दरगाह हो । भारतको बथनाहादेखि नेपालको कटहरीसम्म रेलवे विस्तार चालू छ । बथनाहाबाट आईसीपीसम्म कार्गो रेल सञ्चालनमा आइसकेको छ । कार्गो रेल सञ्चालनमा समस्या भएपछि सरकारी स्वामित्वको नेपाल रेलवेको कार्यालय स्थापना गरेर सहजीकरण गर्न लागिएको हो । यसले नेपालको रेलमार्गमा रेल सञ्चालन गर्छ । मुख्यालय जनकपुरमा रहेको कम्पनीले विराटनगरमा शाखा स्थापना गरेर काम शुरू गरेको छ ।  विराटनगर शाखाका लागि प्रशासन प्रमुखका रूपमा छोटु यादवलाई खटाइएको छ । यादवले विराटनगर शाखा इन्चार्जका रूपमा काम अघि बढाउनेछन् । यादवले आफू ७ दिनअघि मात्रै आइपुगेकाले अवस्था अध्ययन गरिरहेको बताए । ‘रेलवे यार्डमा केही टुटफुट देखिएको छ, मर्मत गर्न ७ दिन जति लाग्छ,’ उनले भने । उनले कार्गो रेल सञ्चालनमा देखिएको समस्या समाधान गर्ने विषयमा उद्योगी–व्यापारीले उठाएका विषय केन्द्रीय कार्यालयसम्म पुर्‍याउन सहजीकरण गर्ने र रेलमार्फत आयात हुने मालवस्तुका लागि भारतको रेलवे कम्पनीको कटिहार र बथनाहास्थित स्टेशनसँग सम्पर्कमा रहने जानकारी दिए । ‘पहिले कार्यालय पूर्ण रूपमा स्थापना गर्नुपर्नेछ,’ इन्चार्ज यादवले भने, ‘त्यसपछि सेवाग्राही र वस्तु आयातनिर्यातसँग जोडिएका सरोकारवाला पक्षसँग परामर्शमा काम गर्ने कार्यादेश छ । उनले रेलवेको शाखा कार्यालय विराटनगर–१८, आईसीपीनजिक रहेको नेपाल कस्टम यार्डमा स्थापना भएको जानकारी दिए । कोलकाता बन्दरगाहबाट सिमेन्ट, कोइला, क्लिंकर र मलमात्र ल्याउन पाउने सम्झौता भएका कारण उद्घाटन भएको ८ महीना बित्दा पनि विराटनगरस्थित आईसीपीमा कार्गाे ढुवानी हुन सकेको छैन । 

सम्बन्धित सामग्री

बथनाहा–विराटनगर कार्गो रेल : उद्घाटन भएको २ महीना बित्यो, एउटै आएन

विराटनगर। नेपाल र भारतका प्रधानमन्त्रीले जेठ १८ गते संयुक्त रूपमा भारतको राजधानी नयाँदिल्लीमा स्वीच थिचेर हरियो झन्डा फहराएपछि भारतको बथनाहाबाट विराटनगर–१८, बुधनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी)को कस्टम यार्डसम्म एउटा मालवाहक रेल (कार्गो रेल) आएको थियो । त्यसपछि लगातार कार्गो रेल आउला भन्ने आशमा रहेका स्थानीय २ महीना बित्दा पनि नआउँदा छक्क परेका छन् । विराटनगर–१८, भेडियारीका जगत मण्डल प्रत्येक दिन रेलवे क्रस गरेर विराटनगर बजारमा काम गर्न निस्कन्छन् । दिनमा दुईपटक रेलवे वारपार गर्दा उनको मनमा प्रश्न उठ्छ– किन नचलेको होला  रेल ?’ यो प्रश्न प्रदेशवासी धेरैसँग छ । त्यसो भए दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको कार्गो रेल किन चलेन त ? नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झा कम्पनीले असार १५ गते सूचना प्रकाशित गरी उद्योगी व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर रेलमार्फत कार्गाे ढुवानी गर्न आह्वान गरेको बताउँछन् । तर, उद्योगी व्यवसायीले आवश्यक पूर्वाधार तयार नभएको भन्दै त्यो सूचनालाई नदेखेझैँ  गरे ।  सामान अनलोड गरेपछि राख्ने यार्ड नबनेको, रेलवेको कार्यालय नभएको र भन्सारले जाँचपास प्रक्रियाबारे जानकारी नगराएकाले उद्योगी व्यवसायी नयाँ रुटबाट सामान ल्याउन अनिच्छुक देखिएका छन् ।  त्यसैले उनीहरूले बथनाहाबाट आईसीपीमा नभई जोगवनी रेलवे स्टेशनमै सामान मगाएर अनलोड गरिरहेका छन् ।  रेलवेका साइट इन्जिनीयर रोशन देवले सामान अनलोडका लागि यार्ड बनाउने काम भइरहेको र सामान्य कार्यालयबाट पनि काम सञ्चालन गर्न सकिने बताए । उद्योगी व्यवसायीले कार्गाे ल्याए समस्या नहुने उनले भनाइ छ ।  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले रेलवे कम्पनीको कार्यालय काठमाडौंमा रहेको र विराटनगरमा माल मगाउन काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । अध्यक्ष सुराना विराटनगरमा नेपाल रेलवे कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिले तुरुन्त कार्यालय खोलेर कार्गो रेल ल्याउने काममा सहयोग गर्नुपर्ने बताउँछन् । पूर्वाधारलगायत कुरा चाँडो सम्पन्न गरेर दुवै कम्पनीले विराटनगरमा कार्यालय खोलेपछि कस्टम यार्डसम्म वस्तु ढुवानी गर्न समस्या नहुने उनले बताए ।  मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं प्रिमियर स्टीलका सञ्चालक अनुपम राठीले नयाँ कस्टम यार्डमा सबै सुविधा उपलब्ध नभएकाले आफूले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन जोगवनी रेलवे स्टेशनको यार्डमा पल्टी गरेर ट्रकमार्फत उद्योगमा ल्याइरहेको बताए । राठीले जोगवनीको यार्ड गहिरो ठाउँमा भएको हुँदा सामान्य पानी पर्दा पनि पोखरी बन्ने समस्या रहेको र यसअघि स्पन्ज आइरन पानीमा ढुबेकाले ढुवानी गर्न निकै कठिनाइ भएको बताए ।  कस्टम यार्डमा रेलवे र इन्टरमोडल यातायात विकास समितिको कार्यालयसमेत छैन स्पन्ज आइरन पानी जमेको ठाउँमा अनलोड गर्दा पानीले यसको स्ट्रेन्थ नष्ट हुने उनले बताए । त्यसैले आईसीपीसम्म कार्गो रेल ल्याउन सरकारी निकायले चासो देखाउनैपर्ने उनको माग छ । संघका उपाध्यक्ष विकास बेगवानी सरकारी निकायले कार्गो रेल सञ्चालनमा चासो नदिँदा उद्योगी व्यवसायीलाई मात्रै नभएर नेपाल रेलवे कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास कम्पनीलाई समेत घाटा भइरहेकोतर्फ सोच्नुपर्ने बताउँछन् । कार्गो रेल सञ्चालनबाट उद्योगी व्यवसायीलाई लाभ हुने त छँदै छ, यी दुई सरकारी निकायले पनि राजस्व संकलन गर्न पाउँछन् ।  सरकारी निकायको अम्दानी बढाउन पनि कार्गो रेल चाँडो सञ्चालन गर्नुपर्ने उनले बताए । संघका सचिव एवं पायोनियर वायरका सञ्चालक अनिल शारडाले कस्टम यार्डसम्म रेलवे सञ्चालनको उद्घाटन भइसक्दा पनि आफूहरूले पुरानै रुटबाट माल ढुवानी गरिरहेको बताए । उनका अनुसार पूर्वका फलाम उद्योगले अझैसम्म भारतको जोगवनी रेलवे स्टेशनको यार्ड प्रयोग गरेर कच्चा पदार्थ ढुवानी गरिरहेका छन् ।  उद्योगी शारडाले सरकारी पक्षले विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तदारुकता नदेखाएको आरोप लगाए । उनले सरकारको यही अकर्मण्यताका कारण जोगवनी यार्डमार्फत कच्चा पदार्थ आयात गर्न बाध्य हुनुपरेको गुनासो गरे । शारडाका अनुसार दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेकोे बथनाहा–आईसीपी खण्डमा कार्गो रेल पहिलो दिन आयो, सबैले फोटो खिचाए, त्यसपछि त्यो बन्द भयो । फोटो खिचाउनमात्र उद्घाटन गरिएको हो कि भन्ने भान हुन थालेको बताउँदै सारडाले अगाडि थपे, ‘सरकारका सम्बद्ध निकायले दुई देशका प्रधानमन्त्रीको उद्घाटनलाई नै निष्प्रभावी सिद्ध गरिदिए । दुई–दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको संरचना त सञ्चालन हुने वातावरण बनाइँदैन भने अरू निर्णय कार्यान्वयन हुन्छन् भनेर कसरी विश्वास गर्ने ?’

विराटनगर भन्सारसम्म कार्गो रेल चलाउने कार्यगत सहमति

भारतको बथनाहदेखि नेपालको विराटनगर भन्सार यार्डसम्मको कार्गो रेल सेवालाई निरन्तरता दिन सरोकारवाला निकायबीच त्रिपक्षीय कार्यगत सहमति भएको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणका क्रममा दुवै देशका प्रधानमन्त्रीले संयुक्त उद्घाटन गरेर विराटनगर भन्सार यार्डसम्मको कार्गो रेल आएको थियो ।

कार्गो रेलले ढुवानी खर्च ३५ प्रतिशत सस्तो

परीक्षण भएको चार वर्षपछि विराटनगर–१८ स्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) मा कार्गो रेल आएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँदिल्लीमा उद्घाटन गरेपछि बथनाहाबाट आईसीपीसम्म कार्गो रेल चल्न सुरु भएको हो । रेल हेर्न स्थानीयको बाक्लो उपस्थिति थियो भने संघीय सांसद योगेन्द्र मण्डल, विराटनगर महानगरपालिकाका मेयर नागेश […]

भारत–विराटनगर कार्गो रेल सेवा सुरु

भारत–विराटनगर कार्गो रेल सेवा बिहीबारदेखि सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि भारतको बथनाहबाट छुटेको रेल विराटनगर आइपुगेको हो । नयाँदिल्लीस्थित प्रधानमन्त्री मोदीको कार्यालय हैदराबाद हाउसबाट दुवै प्रधानमन्त्रीले हरियो झन्डा देखाएर कार्गो रेल्वे सेवा औपचारिक रूपमा सुरु गरेका हुन् ।

अब विराटनगर आईसीपीबाट पनि बल्क कार्गो भित्रिने

वीरगञ्ज । अहिलेसम्म वीरगञ्जको एकीकृत जाँच चौकी (आईसीपी)बाट भित्रिइरहेको बल्क कार्गो अब विरानगरस्थित आईसीपीबाट पनि भित्रिने भएको छ । भारतको राजस्व विभागले नेपाल–भारत पारवहन सन्धिअन्तर्गतको कार्यविधि संशोधन गरेर विराटनगरबाट पनि यस्तो कार्गो भित्रिने व्यवस्था मिलाएको हो । भारतीय सो निकायले विराटनगरबाट पनि नेपालका लागि बल्क कार्गो भित्त्याउन सकिने सूचना निकालेको कोलकातास्थित नेपाली महावाणिज्यदूत ईश्वरराज पौडेलले जानकारी दिए ।  नेपाली पक्षले विराटनगर–बथनाह र सुनौली–नौतनवा नाकाबाट बल्क कार्गो ल्याउने व्यवस्था गर्न आग्रह गर्दै आएको थियो । नेपाल–भारत अन्तरसरकारी छलफलहरूमा नेपाली पक्षले विगत ४–५ वर्षदेखि यो एजेण्डा उठाउँदै आएको थियो ।  यसमा भारतीय पक्ष सकारात्मक भए पनि कार्यविधि संशोधन नहुँदा कार्यान्वयनमा आउन सकेको थिएन । भारतीय राजस्व विभागले यसै साता राजपत्रमा सूचना निकालेको हो । विराटनगरमा आईसीपी सञ्चालनमा आए पनि त्यहाँबाट बल्क कार्गो भित्रिएको थिएन । तेस्रो मुलुकबाट नेपाल आउने आधाभन्दा बढी कार्गो व्यवस्थापन गरिरहेको कोलकाता बन्दरगाह र नेपालमा कार्गो ढुवानी गर्ने भारतीय कन्टेनर निगम (कोन्कर)ले पनि यसमा पहल गर्दै आएको थियो । राजपत्रमा भारतको बथनाहा हुँदै भारतीय सीमा शुल्क यार्ड, जोगवनी र नेपालको विराटनगर जोड्ने रेलमार्गबाट बल्क कार्गो ल्याउन सकिने व्यवस्था राखिएको छ । यसअघिको व्यवस्था संशोधन गर्दै भारतको कोलकाता बन्दरगाहबाट डनलप पुल, कृष्णनगर, फारबिसगञ्ज–जोगवनी हुँदै विराटनगरसम्मको सडक मार्गलाई पनि संशोधनले समेटेको छ ।  भारतको बथनाहसम्म रहेको रेलमार्गलाई विराटनगर आईसीपीसम्म पूर्वाधार विस्तारको काम भइरहेको छ । आईसीपीसम्म रेलमार्ग र यसका पूरक पूर्वाधारहरूको तयारीसँगै पूर्ण सञ्चालन गरिनुपर्ने महावाणिज्यदूत पौडेलले बताए । ‘अहिलेसम्म वीरगञ्ज नाकामा मात्र सीमित रहेको यस्तो कार्गो अब विराटनगरबाट पनि भित्रिने भएको छ । यो विकल्पले नेपालको उद्यमलाई सहज बनाउने विश्वास गर्न सकिन्छ,’ उनले भने ।  आईसीपीमा पूर्वाधारको तयारी र पूर्ण क्षमतामा सञ्चालनका लागि वाणिज्य मन्त्रालय र नेपाल इन्टरमोडल यातायात विकास समितिसँग समन्वय गरिने पनि पौडेलले बताए । अहिले तेस्रो मुलुकबाट कोलकाता बन्दरगाह हुँदै यस्तो कार्गोमा कोइला भित्रिइरहेको आयातकर्ता माधव राजपालले बताए । कोइला क्लिंकरको सहायक कच्चा पदार्थ हो । वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्षसमेत रहेका राजपालले विराटनगरबाट भित्रिने विकल्प खुल्नु सकारात्मक भएको बताए । यसअघि विराटनगर नाकाको स्थलमार्गबाट कहिलेकाहीँ थोरै परिमाणमा यस्तो कार्गो भित्रिने गरेकोमा भारतले राजपत्रमा सूचना नै निकालेर तेस्रो मुलुकबाट आउने कार्गोका लागि कोलकातादेखि रुट निर्धारण गर्नुले व्यापार सहजीकरण हुने उनले बताए ।  भारतका सबै बन्दरगाह र नेपाल–भारत नाकाहरूबाट कार्गो भित्रिन सक्ने गरी पारवहन सन्धि संशोधन हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष अशोककुमार टेमानी बताउँछन् । ‘सबै बन्दरगाह र नाकाको विकल्प खुला हुँदा जहाँबाट पायक पर्छ, त्यहीँबाट मालसामान भित्त्याउन सकिन्छ । यसले व्यापार सहजीकरण हुन्छ,’ टेमानीले थपे ।

विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तयारी

बिराटनगर, मंसिर ८ । भारतको सीमावर्ती रेल स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आईसीपीको कस्टम यार्डसम्म आगामी पुस महिनाको दोस्रो हप्तासम्ममा कार्गे रेल ल्याउने पहल बढेको छ । कोलकाता बन्दरगाहबाट विराटनगर–१८, बुधनगरस्थित आईसीपीसम्म डिसेम्बर १५ (मङ्सिर अन्तिम)सम्ममा कार्गो रेल ल्याउने प्रक्रिया अगाडि बढाइएको हो । भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउने सङ्केत दिन […]

विराटनगरसम्म कार्गो रेल चलाउने तयारी, पूर्वाधार निर्माणको ठेक्का आह्वान

विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।समितिले बुधबार विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेल र्याड र कन्टेनर यार्ड सञ्चालनका लागि पूर्वाधार निर्माणको ठेक्का आह्वान गरेको हो । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले ठेक्का आह्वान भएको बताए ।उनले विराटनगर भन्सारमा कार्गो रेलमार्फत सामान ढुवानी सुरू भएमा लोजिस्टिक कस्टमा उल्लेख्य गिरावट आउने बताए । गजुरेलले

वथनाह-विराटनगर कार्गो रेल्वे सञ्चालन हुने

विराटनगर – भारतको वथनाहबाट मोरङको विराटनगरसम्म कार्गो रेल्वे अविलम्ब सञ्चालनमा आउने भएको छ । निर्माणको अन्तिम चरणमा पुगेको मालवाहक रेल्वे सञ्चालनपूर्व तयारीका सम्बन्धमा उद्योग सङ्गठन मोरङमा भएको बैठकमा भारतीय रेल्वे कटिहार डिभिजनका डिभिजनल मेनेजर एसके चौधरीले विराटनगरदेखि कार्गो रेल्वे अविलम्ब सञ्चालनमा ल्याउने जानकारी दिए । छलफलमा उद्योग सङ्गठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले मिरगञ्ज पुलमा आएको […]

बथनाह–विराटनगर कार्गो रेल सञ्चालनः सरकारी टोलीले गर्‍यो प्राविधिक अध्ययन

विराटनगर, पुस ५। भारतको बथनाहबाट विराटनगरको आईसीपीसम्म कार्गो रेल सञ्चालन सम्बन्धमा प्रक्रियागत तयारी अघि बढाइएको छ । अहिले विराटनगरका लागि माल लिएर आएका कतिपय कार्गोले ७ किलोमीटर दक्षिण बथनाहामै अनलोड गर्ने र त्यहाँबाट मालवाहक ट्रकमा आईसीपीसम्म ल्याउनुपर्ने बाध्यता छ । रेलवे प्राविधिहरूले २ वर्षअघि नै सुझाएको आधारमा सरकारी टोलीले शुक्रवार र शनिवार आईसीपीसम्म रेलवे सञ्चालनको […]

नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न पहल

भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर सरकारी समन्वयको काम थालेको छ । मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जा