लमजुङ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङमा ९७० घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०७७÷७८ को साउनदेखि असारसम्मको अवधिमा सो संख्यामा घरेलु उद्योग दर्ता भएको कार्यालय प्रमुख तोपलाल भुसालले बताए । घरेलुमा उद्योग दर्ता गर्दा कानुनी झन्झट नहुने, सरकारी सेवा सुविधा पाउने र स्थानीय तहले घरेलुमा दर्ता गराउनुपर्छ भन्ने सन्देश फैलाएकाले कार्यालयमा दर्ता गर्ने व्यवसायी बढ्दै गएको उनले बताए । उनका अनुसार जिल्लाका बँेसीशहर बजार, भोटेओडार, सोती पसल सुन्दरबजार, भोर्लेटारलगायतका स्थानमा पसल व्यवसाय बढिरहेका छन् ।
दर्ता भएका उद्योगमध्ये अधिकांश सिलाइकटाइ, कृषि फार्म, ब्युटिपार्लर, कृषि औजार, मौरीपालन, अलैंची, बंगुर फार्म, दालमोठ उद्योग, पर्यटन उद्योगलगायत सञ्चालनमा रहेको कार्यालयले बताएको छ । साविक घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयमा २०४४÷४५ देखि हालसम्म ४ हजार ७४८ घरेलु उद्योग दर्ता भएका छन् । ४ हजार ६६१ वाणिज्यतर्फ फर्म दर्ता भएका कार्यालयले बताएको छ । यी उद्योगमा हालसम्म ४ अर्बभन्दा बढी पूँजी लगानी भएको कार्यालय प्रमुख भुसालले जानकारी दिए । रासस