झापा । रासायनिक मल अभावका कारण झापामा केरा उत्पादन तथा खेतीको क्षेत्रफल घट्दै गएको छ । विगतमा ५० बिघा जमीनमा केराको खेती गरेका कनकाई नगरपालिका–३ का बेनु पराजुलीले आम्दानी घटेपछि आफूले यसपालि ३० बिघाको केराखेती मासेको बताए । शुरूमा ‘केरा जोन’ बनाउने उद्देश्यले खेती गरे पनि मल अभावका कारण ठूलो घाटा बेहोर्नुपरेको उनको भनाइ छ ।
विगतमा पकेट, ब्लक क्षेत्र घोषणा गरेर सरकारी अनुदान लिएका किसानले पछिल्लो समय भाडामा लिएको जग्गा सम्बन्धित जग्गाधनीलाई नै फर्काएर केराको खेती घटाउन थालेका छन् । विगतमा जिल्लाका कनकाई नगरपालिका–५, शिवसताक्षी नगरपालिका–७, बाह्रदशी गाउँपालिका–६ र झापा गाउँपालिका–७ मा दुर्गामाता तथा कोलाखेती कृषि फार्मले ४०० बिघा जमीनमा व्यावसायिक रूपमा केराखेती गर्दै आएका थिए ।
किसानहरू बेनु पराजुली, हिमदल पराजुली, कुलप्रसाद चिमरिया, लक्ष्मी चिमरिया र गणेश संग्रौलाले संयुक्त रूपमा फार्म सञ्चालन गरेका थिए । उनीहरूले स्थानीय किसानको जग्गा पाँच वर्षका लागि भाडामा लिएर सामूहिक केराखेती शुरू गरे पनि तीन वर्षमै लगानी समेत उठ्न नसकेपछि जग्गा फिर्ता गर्दै केराखेती मास्न थालेका हुन् ।
केराखेती गर्ने यहाँको सबैभन्दा ठूलो फार्मका रूपमा परिचित दुर्गामाता तथा कोलाखेती कृषि फार्मले यसपाली लगभग १०० बिघा जग्गाको केराखेती मासेको छ । खेतीमा चाहिएका बेला रासायनिक मल नपाइने भएको हुँदा उत्पादनमा ह्रास आउने गरेको फार्मका अध्यक्ष लक्ष्मी चिमरियाले बताए ।
वर्षमा केरालाई तीन पटकसम्म मल लगाउनुपर्ने भन्दै उनले गतवर्ष एकपटक समेत मल लगाउन नपाउँदा उत्पादनमा ह्रास आएको गुनासो गरे । केराखेती गर्न युरिया, डीएपी, पोटास र फस्फोरस मलको आवश्यकता पर्दछ । फार्मले दुई वर्ष कृषि ज्ञान केन्द्रबाट खेतीका लागि ५० प्रतिशत लगानी गर्ने शर्तबमोजिम ५० लाख रुपैयाँ अनुदान लिएको थियो । रासस