काठमाडौं (अस) । ‘नेपालको विदेश नीति र संयुक्त राष्ट्रसंघ’ शीर्षकको पुस्तक विमोचन भएको छ । होटल येलो प्यागोडामा पुस्तक सार्वजनिकीकरण कार्यक्रम आयोजना यूएन एसोसिएसन अफ नेपालले वैशाख ९ गते गरेको थियो ।
पुस्तकमा विदेश सचिव, पूर्वविदेश सचिवहरु, पूर्वराजदूत, प्राज्ञ र विद्वान्जस्ता प्रख्यात व्यक्तिले लेखेका २५ विचार समावेश छन् । पुस्तक विमोचन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले गरेका थिए । कार्यक्रमको अध्यक्षता एसोसिएसनका अध्यक्ष एसोसिएट प्राध्यापक डम्बरवीर थापाले गरेका थिए । कार्यक्रममा एसोसिएसनका उपाध्यक्ष राधेश पन्तले स्वागत मन्तव्य व्यक्त गरेका थिए । पूर्वराजदूत प्राध्यापक डा. मोहनप्रसाद लोहनीले पुस्तक प्रकाशनमा सघाएकामा सम्पादकीय टोलीका तर्फबाट योगदानकर्तालाई धन्यवाद दिए ।
संयुक्त राष्ट्रसंघको ७५ औं स्थापना दिवस र नेपालले संस्थाको सदस्यता लिएको ६५ औं वर्ष अवसर पारेर पुस्तक सार्वजनिक गर्नु गरेर राम्रो काम गरेको भन्दै सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक निश्चलनाथ पाण्डेले एसोसिएसनलाई धन्यवाद ज्ञापन गरे ।