कास्की । कास्कीको खुमैडाँडा पुग्ने आन्तरिक पर्यटकको संख्या दिनप्रतिदिन बढ्दो छ । पर्यटकको संख्या बढ्दा त्यहाँका तीन होटल सञ्चालकलाई भ्याइनभ्याइ छ । समुद्री सतहबाट ३ हजार २४५ मिटरको उचाइमा रहेको खुमैडाँडाबाट २ घण्टा हिँडेर कोर्चां पुगिन्छ । कोर्चाङ ३ हजार ६८२ मिटरको उचाइमा छ ।
स्थानीयले ग्रेट माछापुच्छ्रे ट्रेल नाम दिएको सरीपाखा–खुमैडाँडा–कोर्चां पदयात्रा पोखराबाट २ दिनमै पूरा गर्न सकिन्छ । पोखराको हेम्जाबाट सरिपाखासम्म (१३ दशमलव ३ किलोमिटर) सवारीसाधनमार्फत जान सकिन्छ । त्यसपछि ५ देखि ७ घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने माछापुच्छ्रे गाउँपालिका–१ का वडाध्यक्ष इन्द्रबहादुर गुरुङले जानकारी दिए । खुमैभन्दा माथि वास बस्ने व्यवस्था नभएकाले पहिलो दिन त्यहीँ बसेर भोलिपल्ट बिहान २ घण्टाको हिँडाइपछि कोर्चां डाँडासम्म पुगेर पोखरा फर्किन सकिने उनले बताए ।
यसैबीच, कास्कीको माछापुच्छ्रे गाउँपालिकाको १६औं कार्यपालिका बैठक हालै खुमैडाँडामा सम्पन्न भएको छ । पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय डाँडा खुमैमा बैठक राखिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मीनबहादुर गुरुङले जानकारी दिए । पछिल्लो समय खुमै जाने आन्तरिक तथा बाह्य पर्यटक बढेकाले त्यस क्षेत्रको पूर्वाधार विकासको विषयमा बैठक केन्द्रित भएको उनले बताए ।
‘केही महीनायता हाम्रो पालिकामा पर्ने खुमैडाँडामा पर्यटक आगमन बढेको छ,’ उनले भने, ‘पर्यटकका लागि के आवश्यक छ भनेर बुझ्न अवलोकनसहित पालिकाको बैठक नै त्यहाँ राखिएको हो ।’
बैठकले सरीपाखा–खुमै–कोर्चां रूटलाई पर्यटकीय पदमार्ग घोषणा गरी व्यवस्थापन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले जानकारी दिए । रासस