बीपी प्रतिष्ठानबाट फर्कियो उच्चस्तरीय कार्यदल, १५ दिनभित्र प्रतिवेदन दिने

६ साउन, धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन कार्यदल काठमाडौं फर्केको छ । प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वको कार्यदलले धरान पुगी आन्दोलनरत समूह, प्रतिष्ठानका पदाधिकारी, विभागीय प्रमुखसँग छलफल गरी मंगलबार काठमाडौं फर्किएको हो । कार्यदलका सदस्य सचिव सहसचिव शंकर नेपालले कार्यदलले १५ दिनभित्र […]

सम्बन्धित सामग्री

बीपी प्रतिष्ठानका पदाधिकारी हटाउन सिफारिस

२६ कात्तिक, काठमाडौं। बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितताको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय छानबिन समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। समितिले स्थलगत अध्ययन र सरोकारवालाहरुसँग छलफल गरी तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्री देउवालाई बुझाएको हो। स्थलगत अध्यनमा गएका समितिका एक सदस्यका अनुसार अनियमितताका आरोप लागेका पदाधिकारीले आफ्नो पदीय दायित्व र आचरण अनुसारको काम नगरेको […]

बीपी प्रतिष्ठान आन्दोलन : उच्चस्तरीय समितिले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको अनियमितताको छानबिन गर्न गठित उच्चस्तरीय समितिले तीन दिनभित्र प्रतिवेदन तयार पार्ने भएको छ

बीपी प्रतिष्ठानका पदाधिकारी हटाउन गठित समितिले थाल्यो काम

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी हटाउन सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले एक सातापछि काम सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री अध्यक्ष रहेको तीन सदस्यीय उच्चस्तरीय छानबिन समितिले मंगलबारदेखि काम थालेको हो । समितिले दुई साताभित्र प्रतिवेदन तयार पारी प्रतिष्ठानका पदाधिकारीहरुलाई कारबाही गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ ।

बीपी सुधार अभियान : ओपीडी सहितका सेवा सुचारु, तालाबन्दी कायमै

धरान (अस) । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरणको मागसहित आन्दोलित पक्षले चौतर्फी दबाबपछि अन्ततः ओपीडी र अन्य उपचार सेवा सुचारु गर्ने भएको भएको छ । प्रतिष्ठानका प्रमुख चार पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरेर आन्दोलन चर्काउँदै आएका चिकित्सक र कर्मचारीले गत आइतवारदेखि आकस्मिक र कोभिडका बाहेक अन्य उपचार सेवा बहिष्कारको घोषणा गरेका थिए । संयुक्त संघर्ष समितिले नेपाल सरकारको तर्फबाट गठित उच्चस्तरीय छानबिन समितिले ६ बुँदे प्रतिवेदन सार्वजनिक गरेपछि त्यसको कार्यान्वयन नभएको भन्दै काम बहिष्कार गरेका थिए । यसबीच धरानका राजनीतिक दलले गत सोमवार उपकुलपतिको कार्यकक्षमा लगाइएको ताला फोडिदिएका थिए । उपचार नै प्रभावित हुनेगरी भएको आन्दोलनको सर्वसाधारणले समेत व्यापक विरोध गरेपछि उनीहरूले ओडीपी वार्ड अगाडि नै बिरामीको चेकजाँच  गर्दै आएका थिए । संघर्ष समितिले उपकुलपति कार्यालय बाहिरै सञ्चालन गरेको ओपीडीबाट सर्वसाधारणले चेकजाँचबाहेक अन्य सेवा पाउन सकेका थिएनन् । प्रतिष्ठानमा आएका बिरामी विभिन्न प्रकारका शल्यक्रिया, चेकजाँचको रिपोर्ट लगायत काम समयमा नहुँदा मारमा परेका थिए । सोही समस्यालाई ध्यानमा राख्दै चिकित्सकहरूले आइतवारदेखि ओपीडी सहितका सबै उपचार सेवा सुचारु गरेका हुन् । आफूहरूको आन्दोलन प्रतिष्ठानसँग भएकाले सेवा बहिष्कारले सबैलाई समस्या भएको महसूस गरी ओपीडीसहित अन्य उपचारमा संलग्न हुने निर्णय गरिएको संयुक्त आन्दोलन समितिका संयोजक डा. एसपी रिमालले बताए । सेवा सुचारु भए पनि आन्दोलन जारी रहेको भन्दै उनले उपकुलपति लगायत पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी समेत यथावत् रहने प्रस्ट पारे । संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोख्रेलले सर्वसाधारणलाई परेको मर्का बुझेर काममा फर्किएको बताए । ‘हामी काम नगर्न आन्दोलित भएका होइनौं, प्रतिष्ठान जोगाउनुपर्छ भनेर आन्दोलन गरेका हौं,’ उनले भने, ‘विगतका सहमति कार्यान्वयन नभए फेरि कडा आन्दोलनमा उत्रिन्छौं ।’

बीपी प्रतिष्ठानमा आन्दोलनस्थलबाटै उपचार सेवा

धरान । बीपी सुधार अभियान सञ्चालन गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त संघर्ष समितिका चिकित्सकहरूले आन्दोलनस्थलबाटै बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् । गत असार १ गतेदेखि प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका समितिका चिकित्सकहरूले दैनिक धर्ना दिइरहेको उपकुलपतिको कार्यालय अगाडि बिरामीलाई उपचार सेवा दिएका हुन् । आइतवारदेखि आकस्मिक र कोभिड अस्पताल बाहेकका स्वास्थ्य सेवा बहिष्कारको घोषणा गरेका चिकित्सकहरूले बिरामीको समस्यालाई दृष्टिगत गर्दै मंगलवारदेखि आन्दोलनस्थलबाटै उपचार सेवा प्रवाह गरेको संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए । सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयसँग भएको ६ बुँदे सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै चिकित्सकहरूले सेवा बहिष्कार गर्ने घोषणा गरेका थिए । सेवा बहिष्कार नगर्न सबैतिरबाट आग्रह भएपछि संघर्ष समितिले मंगलवारदेखि आन्दोलनस्थलमै उपचार सेवा सञ्चालन गरेको हो । जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष पदम नेपालीले आन्दोलन फिर्ता लिने अवस्था नभए पनि आन्दोलनस्थलबाटै बिरामीलाई उपचार सेवा प्रदान गरिएको बताए । ‘फलोअपमा आएकाहरूको पुर्जा हुन्छ, नयाँ बिरामीलाई आवश्यक जाँच गरेर खाली कागजमा औषधि र सल्लाह लेखेर दिएका छौं,’ उनले भने । उपचारार्थ आएका बिरामीहरूको मंगलवार २ घण्टासम्म भीड थियो । मंगलवार करीब २ सय बिरामीले सेवा पाएको संघर्ष समितिले बताएको छ । आन्दोलनरत चिकित्सकहरूले छाला, हाडजोर्नी, मेडिसिन, कार्डियो, मानसिक, पल्मोनोजोली, डेन्टललगायतका विशेषज्ञ सेवा प्रवाह गरेको जुनियर रेसिडेन्टका अध्यक्ष डा. नेपालीले जानकारी दिए ।

अध्ययन र उपचारमा भन्दा खरिदमै बीपी प्रतिष्ठानका पदाधिकारीको ध्यान : प्रतिवेदन

सरकारले गठन गरेको उच्चस्तरीय अध्ययन टोलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको ध्यान सुधारमा भन्दा खरिदमा केन्द्रित रहेकाले शिक्षा र स्वास्थ्य सेवा लथालिङ्ग अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।

बीपी प्रतिष्ठानमा बेथिति : प्रधानमन्त्री कार्यालयमै थन्किए प्रतिवेदन

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अनियमितताका अनेक घटनाबारे विभिन्न कार्यदलले बुझाएका प्रतिवेदन प्रधानमन्त्री कार्यालयमै थन्किएका छन् । भ्रष्टाचार र कमिसनलाई बढावा दिने गरी भौतिक संरचना निर्माण र खरिद ऐन तथा नियमावलीविपरीत मेडिकल उपकरण खरिद भएको आधा दर्जन उच्चस्तरीय कार्यदलले नै औंल्याएका छन् ।

बीपी आन्दोलन : उच्चस्तरीय कार्यदलले १५ दिनभित्र प्रतिवेदन बुझाउने

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा देखिएको भ्रष्टाचार र अनियमितताको चौतर्फी विरोध हुन थालेपछि प्रधानमन्त्रीको निर्देशनमा गठित उच्चस्तरीय कार्यदल पहिलो चरणको सूचना संकलनको काम सकेर काठमाडौं फर्किएको छ । प्रतिष्ठानमा विगत ३६ दिनदेखि चलेको आन्दोलनको निकाससहित प्रतिष्ठान सुधारका लागि अध्ययन गर्न आएको टोली पहिलो चरणको अध्ययन सकेर काठमाडौं फर्किएको हो । गत बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव वैकुण्ठ अर्यालको संयोजकत्वमा आठसदस्यीय कार्यदल गठन गरिएको थियो । विभिन्न शाखाका सचिवस्तरीय कार्यदलले १५ दिनभित्र सरकारलाई प्रतिवेदन बुझाउनेछ । सोमवार आएको अध्ययन टोलीले आन्दोलनकारी सहित पदाधिकारी, विभागीय प्रमुख, नागरिक समाज, धरान उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख र पत्रकारहरूसँग छलफल गरेको थियो । टोलीका संयोजक अर्यालले पहिलो चरणको वस्तुस्थितिको अध्ययन गरिएको बताए । अर्यालका अनुसार टोलीले चार समूहमा विभाजन भएर प्रतिष्ठानमा समस्या आउनुको कारण र यसको निकासको बाटोका विषयमा विभिन्न निकायसँग छलफल गरेको थियो । टोलीले खरीद प्रक्रिया, शैक्षिक अवस्था र पदाधिकारीका विषयमा सुझाव तथा जानकारी संकलन गरेको छ । ‘प्रतिष्ठानको वस्तुस्थिति, डकुमेन्टहरूको आधारमा सूचना संकलन गरेका छौं, त्यसको विश्लेषण गरेर समाधान निकाल्छौं ।’ समस्या समाधानको पहिचान गरेर प्रतिष्ठानलाई कसरी पारदर्शी र सक्षम बनाउन सकिन्छ भन्ने ठोस सुझाव पेश गरिने उनको भनाइ छ । प्रतिष्ठानका चार प्रमुख पदाधिकारीको राजीनामा सहित शुद्धीकरणको माग गर्दै चिकित्सक, विद्यार्थी, कर्मचारीे संयुक्त संघर्ष समित गठन गरेर आन्दोलनमा छन् । समितिले चारै जनाको पदाधिकारीको राजीनामासहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय आयोग गठन गरी छानबिन गर्न माग गर्दैै आएको थियो । सोही माग अनुसार उच्चस्तरीय अध्ययन कार्यदल बनाएपछि आन्दोलनको स्वरूप पनि परिवर्तन भएको छ ।

बीपी आन्दोलन : उच्चस्तरीय अध्ययन कार्यदलले थाल्यो छलफल

धरान । विगत ३५ दिनदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जारी ‘बीपी शुद्धीकरण अभियान’ अन्तर्गतको आन्दोलन निकासतर्फ प्रवेश गरेको छ । प्रतिष्ठानका चारैजना पदाधिकारीको राजीनामा सहित अनियमितता सुधारको माग गर्दै आन्दोलित संयुक्त संघर्ष समितिसँग सोमवार उच्चस्तरीय अध्ययन कार्यदलले अध्ययन शुरू गरेपछि आन्दोलन टुंगोमा पुग्ने अपेक्षा गरिएको छ । असार १५ गते उपकुलपति डा. ज्ञानेन्द्र गिरी मादकपदार्थ सेवन गरी छलफलमा बसेपछि संघर्ष समितिले उनी लगायत चार उच्च पदाधिकारीको राजीनामा सहित प्रधानमन्त्रीको पहलमा उच्चस्तरीय आयोग गठन गरी छानबिन हुनुपर्ने माग गर्दैै आएको थियो । आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा आठसदस्यीय कार्यदल गठन गर्नुभएको थियो । कार्यदलले अध्ययन शुरू गरेपछि संघर्ष समितिले घोषणा गरेको आकस्मिक बाहेक दुई घण्टा सेवा बन्दको कार्यक्रम फिर्ता लिएको छ । माग पूरा नभएसम्म दैनिक दुई घण्टा धर्ना तथा विरोधसभा भने चलिरहने समितिका सदस्य तथा जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका उपाध्यक्ष पदम नेपालीले बताए । ‘सचिवको संयोजकत्वमा उच्चस्तरीय अध्ययन कार्यदल गठनपछि सकारात्मक बनेका छौं, यसले निकास दिने विश्वास छ ।’ पहिलो चरणको छलफल सकारात्मक रहेको उनको प्रतिक्रिया छ । समितिले कार्यदललाई आफ्ना मागहरूको बारेमा जानकारी गराएको उनले बताए । कार्यदलले सोमवार नै प्रमुख पदाधिकारीहरूसँग पनि छलफल गरेको छ । त्यसैगरी नागरिक समाज, सञ्चारकर्मीसँग छलफल गरेर प्रतिवेदन तयार गरिने कार्यदलका प्रवक्ता डा. शंकर नेपालले बताए । संघर्ष समितिसहित पदाधिकारी, नागरिक समाजसँग समेत छलफल गरेर विषयवस्तुको गहिराइमा पुग्ने प्रयास गरिने उनको भनाइ छ । प्रतिष्ठानका उपकुलपति गिरीले वार्ताका लागि पटक पटक आह्वान गर्दा पनि संघर्ष समितिले उच्चस्तरीय वार्ता समितिसँग मात्रै वार्तामा बस्ने अडान कायमै राखेको छ । प्रतिष्ठानको बेथिती, आर्थिक अनियमितता एवं भ्रष्टाचार अन्त्यका लागि जारी आन्दोलनको क्रममा असार १५ गते भएको वार्ता भाँडिएको थियो । संयुक्त संघर्ष समितिले गत बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउँदै ४८ घण्टाभित्र माग पूरा नभए आइतवारदेखि दैनिक २ घण्टा इमर्जेन्सी, कोभिड अस्पताल र पूर्वनिर्धारित परीक्षाबाहेक सबै सेवा बहिष्कारको चेतावनी दिएको थियो । बीपीका लेखाप्रमुखलाई कारबाही गर्न माग यसैबीच, चिकित्सकलाई दुव्र्यवहार गर्ने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाहीको माग गर्दै चिकित्सक, कर्मचारी लगायत आन्दोलित भएका छन् । संयुक्त संघर्ष समिति गठन गरी शुद्धीकरणको आन्दोलन चर्किरहेको बेला  प्रतिष्ठानमा अध्ययनरत विद्यार्थीलाई प्रतिष्ठानकै लेखा प्रमुखले गालीगलौज गरी धाकधम्की दिएको भन्दै जुनियर रेजिडेन्ट समेत आक्रोशित भएका छन् । उनीहरूले सोमवारदेखि प्रतिष्ठानको आकस्मिक र कोभिड उपचार बाहेक अन्य सेवा ठप्प पार्दैै दुव्र्यवहार गर्ने रायमाझीविरुद्ध कारबाहीको मागसहित इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका छन् । आइतवार राति ८ बजे प्रतिष्ठानका डीएम र एमडी अध्ययनरत विद्यार्थी डा. विप्लप कार्कीलाई आवास खाली गराउन लेखा प्रमुख रायमाझीले दिएको धम्की र गालीगलौज विरुद्ध सम्पूर्ण चिकित्सक आन्दोलित बनेका हुन् । जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीले रायमाझीलाई आन्तरिक कारबाही स्वरूप प्रशासनबाट जिम्मेवारी मुक्त गर्न पनि माग गरेको छ ।