धरान । बीपी सुधार अभियान सञ्चालन गरेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको संयुक्त संघर्ष समितिका चिकित्सकहरूले आन्दोलनस्थलबाटै बिरामीको स्वास्थ्य चेकजाँच गरेका छन् । गत असार १ गतेदेखि प्रतिष्ठान सुधारको माग गर्दै आन्दोलनमा रहेका समितिका चिकित्सकहरूले दैनिक धर्ना दिइरहेको उपकुलपतिको कार्यालय अगाडि बिरामीलाई उपचार सेवा दिएका हुन् ।
आइतवारदेखि आकस्मिक र कोभिड अस्पताल बाहेकका स्वास्थ्य सेवा बहिष्कारको घोषणा गरेका चिकित्सकहरूले बिरामीको समस्यालाई दृष्टिगत गर्दै मंगलवारदेखि आन्दोलनस्थलबाटै उपचार सेवा प्रवाह गरेको संघर्ष समितिका संयोजक डा. एसपी रिमालले बताए । सरकारले उच्चस्तरीय कार्यदलको प्रतिवेदन र स्वास्थ्य मन्त्रालयसँग भएको ६ बुँदे सहमति कार्यान्वयनमा ढिलासुस्ती गरेको भन्दै चिकित्सकहरूले सेवा बहिष्कार गर्ने घोषणा गरेका थिए । सेवा बहिष्कार नगर्न सबैतिरबाट आग्रह भएपछि संघर्ष समितिले मंगलवारदेखि आन्दोलनस्थलमै उपचार सेवा सञ्चालन गरेको हो ।
जुनियर रेसिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष पदम नेपालीले आन्दोलन फिर्ता लिने अवस्था नभए पनि आन्दोलनस्थलबाटै बिरामीलाई उपचार सेवा प्रदान गरिएको बताए । ‘फलोअपमा आएकाहरूको पुर्जा हुन्छ, नयाँ बिरामीलाई आवश्यक जाँच गरेर खाली कागजमा औषधि र सल्लाह लेखेर दिएका छौं,’ उनले भने ।
उपचारार्थ आएका बिरामीहरूको मंगलवार २ घण्टासम्म भीड थियो । मंगलवार करीब २ सय बिरामीले सेवा पाएको संघर्ष समितिले बताएको छ । आन्दोलनरत चिकित्सकहरूले छाला, हाडजोर्नी, मेडिसिन, कार्डियो, मानसिक, पल्मोनोजोली, डेन्टललगायतका विशेषज्ञ सेवा प्रवाह गरेको जुनियर रेसिडेन्टका अध्यक्ष डा. नेपालीले जानकारी दिए ।