काठमाडौं । चितवनमा किसानले तरकारी सडकमा फालेको केही दिनमात्रै भयो । उनीहरूले उचित मूल्य नपाएको भन्दै ५ ट्याक्टर तरकारी सडकमा फालेर विरोध गरेका थिए ।
त्यहि समयमा बजारमा भने उपभोक्ताले चर्को मूल्य हालेर भान्सा चलाइरहेका थिए । यस्तोमा किसानहरुलाई उचित मूल्य दिएर उपभोक्तालाई पनि राहत दिन बिचौलियाका लेयर (तह) घटाउन किन सकिन्न ? भन्ने प्रश्न पनि उठे ।
नेपालमा देशव्यापी विक्री सञ्जाल भएका सुपरमार्केट र मार्टले किसानबाट सिधै किनेर उपभोक्तालाई सिधै विक्री गरे त सबैलाई राहत हुने थियो भन्ने कुरा पनि उठे ।
यहि बेलामा भाटभटेनी सुपरमार्केटले यसको शुरुवात गरेको छ ।
भाटभटेनीका स्टोरहरुमा अहिले हरियो तरकारीहरु प्रतिकिलो १५ रुपैयाँदेखि नै विक्री भइरहेका छन् ।भाटभटेनीको कलंकी शाखामा अहिले बन्दा १५ रुपैयाँ किलो, काउली र गाजर १९/१९ रुपैयाँ किलो, आलु र गोलभेडा २५/२५ रुपैयाँ किलोमा विक्री भइरहेको छ ।
त्यस्तै, मुला र फर्सी ३०/३० रुपैयाँ किलो, प्याज ३९ रुपैयाँ किलो र मटरकोशा ६० रुपैयाँ किलोमा विक्री भइरहेको छ । कागती पनि १५० रुपैयाँ किलोमा विक्री भइरहेको भाटभटेनीको मूल्य सूचीमा उल्लेख छ ।
किसानहरुबाट सिधै किनेर एकैपटक उपभोक्तालाई विक्री गर्दा बजारको भन्दा करीब आधा मूल्यमा विक्री गर्न सफल भएको भाटभटेनीको कलंकी शाखाकी म्यानेजर आरति उप्रेतीले जानकारी दिइन् ।
यसरी सस्तोमा विक्री गरिएको तरकारी चितवनका किसानहरुबाट ल्याइएको पनि उनले बताइन् ।
अहिले कलंकी मात्रै नभएर भाटभटेनीका उपत्यकामा रहेको सबै शाखा र उपत्यका बाहिरका शाखामा पनि यसरी नै तरकारी विक्री गरिरहेको उनलेे जानकारी दिइन् ।
'फार्मर टू फ्याम्ली' भन्ने नाराका साथ भाटभटेनीले अहिले किसानबाट किनेर सिधै अन्तिम उपभोक्तालाई विक्री गरिरहेको छ । यसबाट सडकमा तरकारी फाल्ने किसानले उचित मूल्य पाएका छन् भने, महँगीले ढाड सेकिरहेका बेला उपभोक्ताले पनि सस्तो मूल्यमा तरकारी उपभोग गर्न पाएका छन् ।
देशव्यापी होस या उपत्यकाव्यापी सञ्जाल भएका अन्य स्टोरहरुले पनि यसरी सिधै किसानबाट किनेर अन्तिम उपभोक्तालाई बेच्न सके किसान र उपभोक्ता दुवैलाई राहत हुनेछ ।