संसद विघटनविरुद्ध नेकपाको दाहाल-नेपाल समूहले आज शक्ति प्रदर्शन गर्यो । बस रिजर्भ गरेर विभिन्न जिल्लाबाट कार्यकर्ताहरूलाई काठमाडौं झिकाइयो । मूल सडक नै थुनेर सभा आयोजना गरिँदा ट्राफिक व्यवस्था अस्तव्यस्त बन्न पुग्यो। मन्त्रीसम्मको पैदल यात्रा देखियो।
प्रचण्ड स्वयमले आजको कार्यक्रममा तीन लाख कार्यकर्ता काठमाडौंको सडकमा उतार्ने घोषणा गरेका थिए। त्यसका लागि बाग्मती, गण्डकी र प्रदेश दुईका विभिन्न जिल्लाबाट बस रिजर्भ गरेरै कार्यकर्ता ल्याइएको थियो।
यो समूहले विघटनविरुद्ध निर्णायक शक्ति प्रदर्शन भन्दै काठमाडौंमा १ लाख मान्छे उतार्ने लक्ष्य सहित विरोधसभा गरेता पनि २४ हजार मात्रैको उपस्थिति रह्यो।
काठमाडौँको माइतीघर, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपन्डोल, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका र बाल्मिकी क्याम्पसबाट विरोधसभा शुरु भएको थियो ।
विरोधसभा अंग्रेजी अक्षर ‘टी’ आकारमा सञ्चालन गरिएको थियो । जुलुसका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बन्न पुग्दा सर्वसाधारणहरु हिँडेरै गन्तव्यतर्फ लागेका थिए ।
आन्दोलनमा आइपुगेका कति व्यक्तिलाई त् आफू किन आन्दोलनमा आएको हो समेत थाहा थिएन।
विरोधसभालाई सम्बोधन गर्दै नेकपका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन् । आफूहरुको उदारतालाई कमजोरी ठानेर ओली अगाडि बढेकाले आफू जनतामा आउनुपरेको उनको मत थियो ।
नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रदर्शनमा जनआन्दोलनको झल्को देखिएको बताएका छन् । ओली हिटलरको बाटोमा हिँडेको बताउँदै नेपालले समेत सच्याउन नसकेको भन्दै आत्मालोचना गरेका थिए ।
प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनी देखाउने बताएका हुन् ।