आज संसद विघटनसम्बन्धी विवाद नहेर्ने न्यायाधीश कार्कीको घोषणा, वायु प्रदूषण रोक्न माग गर्दै माइतीघरमा प्रदर्शन, संसद विघटनविरुद्ध अनेरास्ववियूको लालटिन जुलुस, भारी हिमपातले हिल्सा नाका बन्द, भारतमा एक साताभित्र खोप अभियान सुरु हुने लगायतका विषयवस्तुहरू समावेश गरिएका छन्।
न्यायाधीश हरिकृष्ण कार्कीले संसद विघटनबारे सुनुवाई गरिरहको संवैधानिक इजलासमा नबस्ने घोषणा गरेका छन्। बुधबार सुरु भएको सुनुवाइका क्रममा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठ र दिनेश त्रिपाठीले न्यायाधीश कार्कीको सहभागितामा प्रश्न उठाएपछि कार्कीले साे निर्णय लिएका हुन्। कार्की, केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारमा महान्यायाधिवक्ता रहेकाेले अहिले यो मुद्दा हेर्दा स्वार्थ बाझिने उनीहरूको तर्क थियो।
सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपडबहादुर बोहराले राजीनामा दिएका छन्। नेकपामा देखिएकाे विग्रहपछि केपी शर्मा ओली समूहमा लागेका उनी ओली समूहले बनाएको ११९९ सदस्यीय केन्द्रीय कमिटीको सदस्य समेत रहेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको जनता समाजवादी पार्टी (जसपा)का राष्ट्रिय परिषद् अध्यक्ष बाबुराम भट्टराईले आरोप लगाएका छन्। भट्टराईले ओलीलाई राजनैतिक क्यान्सरको संज्ञा दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता ईश्वर पोख्रेलले पूर्वसम्झौताको पालना गर्दै एकताका पक्षमा उभिन नेताकार्यकर्तालाई आग्रह गरेका छन्। पार्टीको बैठक महासचिवले अध्यक्षको सहमतिमा बोलाउने र निर्णय गर्ने विधि भएकाले केपी शर्मा ओली अध्यक्ष भएको पार्टी नै वैधानिक भएको जिकिर उनले गरेका छन्।
संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–माधव नेपाल समूहमा रहेका अनेरास्ववियू नेता–कार्यकर्ताहरूले काठमाडौँमा लालटिन जुलुस निकालेका छन्। जुलुसमा पूर्वमन्त्री योगेश भट्टराई, अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङलगायत नेता कार्यकर्ताहरूकाे सहभागिता रहेकाे थियाे।
सरकारका खोनपानी मन्त्री मणि थापालाई नेकपा प्रचण्ड-माधव समूहको स्ववियूले कालो झण्डा देखाएको छ। ओली समूहको पार्टी प्रशिक्षणका लागि जाजरकोट पुगेका मन्त्री थापालाई कालो झण्डा देखाइएको हो। संसद् विघटनपछि उनी खानेपानी मन्त्री नियुक्त भएका हुन्।
बेलायतबाट फर्केका तीन जनामा यूके भेरिएन्ट (बी–११७) कोरोना भाइरस भएको आशंका गरिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा उनीहरूको स्वाब परीक्षण गर्दा बेलायतमा आनुवांशिक गुण परिवर्तन गरेको कोरोना भाइरसको संकेत देखिएको हो।
भारी हिमपात भएपछि नेपाल-चीन सीमा हिल्सा नाका पूर्णरूपमा बन्द भएको छ। हिमपातका कारण सोलार चार्ज नहुँदा अँध्यारोमा बस्नुपरेको सुरक्षाकर्मीको गुनासो छ। बीओपीका २० जनासहित केही होटलका कुरुवा मात्र अहिले हिल्सा क्षेत्रमा छन्।
सविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदमबारे प्रतिक्रिया नदिइरहेकाे बेला प्रतिनिधिसभा बिघटन गर्न नपाइने भनेर उनैले विगतमा दिएकाे वक्तव्य भाइरल भएकाे छ। युएनडिपी र संसद सचिवालय २०७६ साल साउन ४ गते धुलिखेलमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले प्रधानमन्त्रीले संसद् विघटन गर्न नसक्ने बताएका थिए।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानका संवाहकले नै संविधान हत्याको बाटो रोजेपछि आफ्नो पार्टीले रामराम बाहेक अरु केही गर्न नसक्ने बताएका छन्। उनले संसद विघटनको संवैधानिकताको परीक्षण अदालतले गर्ने बताएका छन्। अदालतलाई दवाव वा प्रभाव पार्ने काम सरकार र सडक कतैबाट हुन नहुने उनकाे भनाइ छ।
नेकपा (दाहाल-नेपाल समूह)का अध्यक्ष माधवकुमार नेपालले आफू दुई तिहाइ केन्द्रीय सदस्यहरूबाट चुनिएको सर्वसम्मत भएको अध्यक्ष भएको बताएका छन्। ओलीले नेतृत्व गरेको गुट नेकपा नभएको नेपालले बताए। प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई माया लागे नेकपा (ओली गुट) भन्न आग्रह गरेका हुन्।
चार महिनाअघि मृत्यु भएका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव गरेको दाबी गरेका छन्। मृत्युपर्यन्त हिजो (मंगलबार) सार्वजनिक गरिएको मुखर्जीको आत्मकथा ‘द प्रेसिडेन्सियल इयर्स’ मा उनले उक्त कुरा सार्वजनिक गरेका हुन्।
दार्चुलास्थित महाकाली नदीमा भारतले नेपाललाई जानकारी नै नदिएर एकपक्षीय रूपमा बाँध निर्माण गर्न थालेको छ। दार्चुलाको महाकाली नगरपालिका ५, गल्फैरभौरादगढमा महाकाली नदीको प्राकृतिक बहाव अवरुद्ध पारेर भारतले एकपक्षीय रूपमा बाँध निर्माण थालेको हो।
वायु प्रदूषण बढेको भन्दै वातावरण अभियन्ताहरूले आज माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। सोमबार काठाडौँको वायु प्रदूषण विश्वकै पहिलो स्थानमा देखिएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अन्य विदेशी यात्री जसरी नै स्कटल्यान्डमा प्रवेश गर्नबाट रोक लगाइने भएको छ। कोरोना भाइरससँग सम्बन्धित नियमका कारण अत्यावश्यकबाहेक कामका लागि कोही पनि विदेशीलाई देश भित्रिन निषेध गरिएको स्कटल्यान्डकी प्रथम मन्त्री निकोला स्टरजनले मंगलबार जानकारी दिएकी हुन्।
कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ। ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ।
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न जान लागेको आफ्नो टिमलाई अझै अनुमति नदिएको बताएको छ। अधिकारीहरू कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न चीनको वुहान जान घरबाट हिँडे पनि चीनको अनुमति पर्खिरहेका छन्।
भारतमा त्यहाँकाे सरकारले साता दिनमा पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको छ। भारतको औषधि नियन्त्रण महानिर्देशालयले शनिबार र आइतबार गरी भारतमा उत्पादित कोभिसिल्ड र कोभ्याक्सिन खोपलाई आपत्कालीन प्रयाेग अनुमति दिने निर्णय गरेसँगै सरकारले खाेप अभियान सुरु गर्ने भएकाे हाे।