छोटकरीमा यस हप्ता : २०७७ मंसिर १४- मंसिर २१ (विदेश)

कुन-कुन देशका सर्वसाधारणले ल्याउन थाले कोभिड-१९ विरुद्धको खोप ? कोभिड–१९ विरुद्धको खोप विकास गरिरहेका कम्पनीहरूले खोप प्रयोगको अनुमति मागेको खबर यस हप्ता अन्तर्राष्ट्रिय जगतमा अत्याधिक चर्चामा रहे । भारतमा रहस्यमयी रोगको अनुसन्धान हुँदै, चिनियाँ मानवरहित अन्तरिक्ष यान चन्द्रमामा अवतरण, इरानले परमाणु गतिविधिलाई बढावा दिने कानुन ल्याउँदै लगायतका विषयवस्तुहरू यस हप्ता उत्तिकै चर्चामा रहे । छोटकरीमा यस हप्ताभरका सम्पूर्ण जानकारीहरू यहाँ पढ्नुहोस् ।



 हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख धर्मका प्रवर्तक गुरुनानकको जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइएको छ। सोमबार गुरुनानक जयन्तीका अवसरमा कुपोन्डोलको गुरुनानक गुरुद्वारामा ‘गुरु ग्रन्थ साहिब’ पाठ गराउनुका साथै साधुसन्तलाई भण्डारा गराइएको थियो ।



 अस्ट्रेलियाको सिड्नीमा अहिलेसम्मकै अत्यधिक गर्मी महसुस गरिएको छ । मौसम विभागका अनुसार तापक्रमको तथ्यांक राख्न सुरु भएदेखि नै रातको समयमा हालसम्मकै अत्यधिक गर्मी मापन भएको हो ।



श्रीलङ्काको राजधानीमा कोलोम्बोको बाहिरी इलाकामा रहेको एक कारागारमा भएको दङ्गामा परी आठ व्यक्तिको मृत्यु भएको छ । 

दङ्गामा मारिएका सवै व्यक्ति कैदी नै भएका सिन्हवा समाचार समितिद्वारा प्रकाशित समाचारमा जनाइएको छ । दङ्गामा परी अन्य ४५ जना घाइते भएका छन् । घाइते भएकाहरुमा सुरक्षाकर्मी पनि रहेका छन् । 



हजारौं वर्ष अगाडिदेखि नै एसिया, उत्तरपूर्वी अफ्रिका र युरोपमा दालचिनी, अदुवा, मरिच, बेसारलगायत मसलाहरुको ठूलो व्यापार चल्दै आएको छ । तर, विश्वव्यापी महामारीमा यो प्राचीन व्यवसायसमेत अन्त्यको नजिक पुग्न लागेको थियो । पूरै दुनियाँ लकडाउनमा रहँदा यी मरमसालाहरु उत्पादन गर्ने, जाँच गर्ने, ओसार्ने अनि प्रोसेस र प्याक गर्ने जस्ता जटिल नेटवर्कहरु सञ्चालनमा नआउँदा एउटा परम्परा नै गुम्ने जोखिम बढेको थियो । कोरोना फैलिरहेका बेला यसको खेती कसरी गर्ने ? कसले बिरुवाहरु प्रोसेस गर्ने र बिक्रीका लागि बाहिर केबाट कसरी पठाउने ? र, ती उत्पादनको सुरक्षा कसले जाँच गर्ने भनेर किसानहरु गम्भीर चिन्तामा थिए । 



बेलायतमा डिसेम्बर पहिलो साताभित्रै कोभिड खोप उपलब्ध हुने भएको छ । अमेरिकी औषधि कम्पनी फाइजर र जर्मन साझेदार बायोएनटेकले विकास गरेका खोप ७ डिसेम्बरभित्र बेलायत आइपुग्ने विवरण सार्वजनिक भएका छन् ।



अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको कुकुरसँग खेल्ने क्रममा खुट्टा मर्किएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । 

बाइडेनका चिकित्सकका अनुसार बाइडेनको दायाँ खुट्टा मर्किएको र उनलाई केही हप्तासम्म सहयोगी आवश्यक पर्न सक्नेछ । 



कोभिड–१९ विरुद्धको खोप विकास गरेको अमेरिकी कम्पनी मोडर्नाले अमेरिका र युरोपमा खोपको प्रयोगका लागि अनुमति माग गरेको छ । आफूले विकास गरेको खोपको क्लिनिकल परीक्षण ९४ प्रतिशत प्रभावकारी रहेको पुष्टि भएको भन्दै मोडर्नाले सोमबार खोप प्रयोगको अनुमति मागेको हो ।



संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले रासायनिक हतियार नष्ट गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् । विश्वलाई नै रासायनिक हतियारविहीन बनाउन उनले सोमबार सबै राष्ट्रलाई आग्रह गरेका हुन् । 



क्रोएसियाका प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिक कोरोना भाइरसबाट संक्रमित भएका छन् । गत शनिबार उनकी श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्रीको पनि परीक्षण गरिएको थियो । उनलाई पनि संक्रमण पुष्टि भएपछि अहिले १० दिनका लागि सेल्फ आइसोलेसनमा बसेको अधिकारीहरूले जानकारी दिएका छन् ।



उत्तर कोरियाली नेता किम जोङ अनले चीनले निर्माण गरेको कोरोनाविरुद्धको खोप लगाएको एक अमेरिकी सुरक्षा विशेषज्ञले दाबी गरेका छन् । जापानी जासुसी स्रोतलाई उदृत गर्दै ती विज्ञले किमलाई हालै सो खोप दिइएको बताएका हुन् । 



बेलायतले फाइजर र बायोएनटेकले बनाएको कोरोनाविरुद्धको खोपको आपत्कालीन प्रयोग अनुमति दिएको छ । बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो । कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको छ ।



विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण विश्वमा महिलाविरुद्धको लैंगिक हिंसा वृद्धि भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

कोभिड–१९ का कारण विश्वका सबै स्थानमा महिला तथा बालबालिकाविरुद्धको हिंसामा वृद्धि भएको राष्ट्रसंघीय लागूऔषध तथा अपराधबारे अनुसन्धान गर्ने राष्ट्रसंघीय कार्यालय (यूएनओडीसी) को अध्ययनले देखाएको संस्थाका कार्यकारी निर्देशक घाडा वालाईले बताए ।



बेलायत सरकारले डिसेम्बर १ तारिखदेखि अंकमा आधारित भिसा प्रणाली सुरु गरेको छ । बेलायतले युरोपेली संघ (ईयू) छाडेपछि संसारभरिका प्रतिभावान तथा दक्ष कामदार भित्र्याउन नयाँ प्रणाली सुरु गरेको अधिकारीहरुले जनाएका छन् । 



जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रूपमा कोरोना भाइरसबाट संक्रमित भेटिइरहेका वेला जापानको संसद्ले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।



चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले घोषणा गरेको छ । मानवरहित उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने बुधबार चीन सरकारले जनाएको छ ।

चांगे– ५ नाम दिइएको यो यान मंगलबार ११ बजे राति चन्द्रमामा अवतरण गरेको चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासनले जनाएको छ । 



अमेरिकामा कोरोना संक्रमित र अस्पताल भर्ना हुनेहरुको सङ्ख्या अहिलेसम्मकै उच्च रेकर्डमा पुगेको छ । स्वास्थ्यविद्हरुका अनुसार क्रिस्मससम्म यो दर घट्न धेरै कठिन पर्नेछ । 

पहिलोपटक त्यहाँ एकैदिनमा अस्पताल भर्ना हुनेको सङ्ख्या १ लाख पार गरेको ‘कोभिड ट्रयाकिङ प्रोटेक्ट डाटा’ ले देखाएको छ ।



 अमेरिकी स्टेट जर्जियाका निर्वाचन अधिकारीले राष्ट्रपति ट्रम्पमाथि हिंसालाई बढावा दिइरहेको आरोप लगाएका छन् । नोभेम्बरमा भएको चुनावमा हार बेहोरेपछि मतगणनामा धाँधली भएको भन्ने आधारहिन दाबी गरिरहँदा यसबाट उत्पन्न विभिन्न किसिमका हिंसात्मक गतिविधिकका लागि उनले ट्रम्पलाई जिम्मेवार ठहर्याएका हुन् ।  



पाकिस्तानका पूर्वप्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिण्डीस्थित अस्पतालमा निधन भएको छ । उनलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको थियो । उपचारकै क्रममा हृदयाघात भएपछि उनलाई सैनिक अस्पतालमा भर्ना गरिएको पाकिस्तानी अखबार डनले जनाएको छ । 



जापानले सन् २०५० सम्ममा कार्बन तटस्थताको आफ्नो लक्ष्य पूरा गर्ने उद्देश्यले आगामी पन्ध्र वर्षभित्रै पेट्रोल कारको बिक्री बन्द गर्ने योजना सार्वजनिक गर्न लागेको छ । जापानी सञ्चारमाध्यमहरूका अनुसार अर्को साताभित्रै जापानले नयाँ नीति सार्वजनिक गर्न लागेको छ । 



 भारतले पहिलो ट्वान्टी–२० मा शुक्रबार अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । यससँगै भारतले तीन ट्वान्टी–२० को शृंखलामा १–० को अग्रता पनि लिएको छ । टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको भारतले २० ओभरमा सात विकेट गुमाएर १ सय ६१ रन बनायो । त्यसमा प्रारम्भिक ब्याट्सम्यान केएल राहुलले सर्वाधिक ५१ रन बनाए ।



फ्रान्सका पूर्वराष्ट्रपति वेलेरी जिस्कार्ड डी स्टाइङको कोरोना भाइरसबाट निधन भएको छ । फ्रान्सलाई संगठित बनाउन र एकजुट पार्ने श्रेय ९४ वर्षीय वेलेरीलाई दिने गरिन्छ ।

सन् १९७४ देखि १९८१ सम्म राष्ट्रपति बनेका वेलेरीलाई केही दिनयता श्वासप्रश्वासमा समस्या देखिएको थियो । गत साता मात्र अस्पतालबाट स्वास्थ्यलाभ गरी उनी घर फर्किएका थिए । स्वास्थ्यमा खराबी आएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो । बुधबार राति वेलेरीले अन्तिम सास लिएको अस्पतालले जनाएको छ ।



इरानले संयुक्त राष्ट्र संघका निरीक्षकहरुलाई आफ्ना परमाणु क्षेत्रको निगरानी गर्न रोक लगाउँदै परमाणु गतिविधिलाई बढावा दिने किसिमको कानुन संसदमा पारिद गरेको छ । यस नयाँ नियम अन्तर्गत सरकारले २० प्रतिशतसम्म युरेनियम संवर्धन गर्न पाउने अनुमति दिएको हो।



भुटानी शरणार्थीसम्बन्धी समस्या पूर्ण रूपमा समाधान नभई राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्च आयुक्त (युएनएचसिआर)को दमकस्थित कार्यालय एक महिनापछि बन्द हुँदै छ । युएचएचसीआरले यसअघि घोषणा गरेअनुसार सन् २०२० को डिसेम्बर अन्तिमबाट दमक कार्यालय बन्द हुने भएको हो । 



आफ्ना सबै नागरिकका लागि फ्रान्सले कोरोना भाइरसविरुद्धको खोप नि:शुल्क दिने भएको छ । फ्रान्सका प्रधानमन्त्री जा कार्तेक्सले यस्तो घोषणा गरेका हुन् । उनका अनुसार जनवरीमा प्रारम्भिक चरणमा स्वास्थ्य संस्थामा रहेका १० लाख व्यक्तिलाई खोप लगाइनेछ । फेब्रुअरीमा संक्रमणको उच्च जोखिममा रहेका १ करोड ४० लाख नागरिकले खोप लगाउन पाउनेछन् ।



इटालीमा चाडपर्वका बेला कोरोना संक्रमण फैलिनसक्ने भन्दै फेरि नयाँ प्रतिबन्धात्मक व्यवस्था लागू गरिने भएकाे छ ।

महत्वपूर्ण चाडपर्वहरू आएकाले चाडपर्व मनाउने क्रममा कोरोना महामारी थप फैलिन सक्ने आकलन गर्दै फेरि प्रतिबन्धात्मक व्यवस्थाहरू लागू गरिएको हो ।  



अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रूपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गरेका छन् । 

उनले आफ्नो कार्यकाल सुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने बिहीबार जानकारी दिएका हुन् । 



रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ । जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समूहलाई खोप दिइएको छ । यसमा रुसले अगस्टमा दर्ता भएको आफ्नै देशमा निर्मित ‘स्पट्नीक भी’ खोपको प्रयोग गरेको छ । 



 कोरोना भाइरसबाट संक्रमित भइसकेपछि फोक्सोमा पर्ने असर बिरामी भएको तीन महिनासम्म पनि देखा पर्ने गरेको नयाँ रिसर्चमा पत्ता लागेको छ । अक्सफोर्ड युनिभर्सिटीका बिरामीमा गरिएको यस अध्ययनमा भिन्दै किसिमको ‘स्क्यानिङ प्रक्रिया’ मार्फत कोभिडका कारण फोक्सोमा भएको क्षति पहिचान गरिएको हो ।



 बङगलादेशको कोक्स बजार वरपर रहेका रोहिंग्या शरणार्थीलाई दवावमा पारी बङ्गालको खाडी नजिकको एक टापूमा सार्न लागेको भन्दै संयुक्त राष्ट्रसंघले चासो व्यक्त गरेको छ । 

“हामीले शिविरहरूबाट प्राप्त रिपोर्टहरूमा केही शरणार्थीहरू भसन चार टापूमा बसाइँ सर्न दबाब महसुस गरिरहेको बताइएको छ । स्थान परिवर्तनको बारेमा शरणार्थीहरूको प्रारम्भिक दृष्टिकोण परिवर्तन भएको छ र अब बसाइँ सर्न चाहेको छैनन्,” राष्ट्रसंघ प्रमुख महासचिव एन्टोनियो गुटेरेसका प्रवक्ता स्टेफेन दुजारिकले भने । 



शनिबार र आइतबार भारतको आन्द्रप्रदेशमा एक अपरिचित स्वास्थ्य समस्याका कारण ३०० भन्दा धेरै बिरामी परेको र १४० बढी मानिस एकैपटक अस्पताल भर्ना भएपछि सरकारी अधिकारीहरुले यसबारे अनुसन्धान सुरु गरेका छन् । सबै बिरामीहरुमा वाकवाकी हुनेदेखि बेहोस् हुनेलगायत विभिन्न लक्षण देखिएको डाक्टरहरुले बताएका छन् । 



फाइजरले आफ्नो कोरोना भाइरस विरुद्धको खोपको आपत्कालीन प्रयोगको स्वीकृतिका लागि भारतमा पनि निवदेन दिइसकेको वरिष्ठ सरकारी स्वास्थयविद्ले एक टेलिभिजन अन्तरवार्तामा बताएका छन् । यसरी विश्वकै दोस्रो धेरै संक्रमण दर भएको भारतमा फाइजरले आफ्नो खोप प्रयोगमा ल्याउने प्रयास गरिरहेको छ । 



चीनको एक कोइला खानीमा भएको विस्फोटमा परी कम्तीमा २३ जनाको ज्यान गएको छ । चोकिङस्थित एक कोइला खानीमा अधिक मात्रामा कार्बन मोनोअक्साइड रहेकाले विस्फोट भएको थियो । 


सम्बन्धित सामग्री

कञ्‍चनपुरको बेलौरीमा प्रहरी र तस्करबीच गोली हानाहान, एक भारतीयको मृत्यु

सीमा क्षेत्रमा गस्ती गरिरहेको इलाका प्रहरी कार्यालयको टोलीले चलाएको गोली लागेर एक तस्करको मृत्यु भएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहामा प्रहरी र तस्करबीच गोली हानाहान भएको हो।

छोटकरी सम्पादक

म्यान्मारमा '३८ जनाको मृत्यु, कू यताकै रक्तपातपूर्ण दिन'

म्यानमारमा सेनाको आक्रमणबाट बुधबार एकैदिन ३८ जना प्रदर्शनकारीको ज्यान गएको छ । नेतृ आङ सान सुकीलगायत नेताहरुको रिहाइको माग गर्दै म्यानमारमा १ महिनाभन्दा लामो प्रदर्शन भइरहेको छ ।

छोटकरी सम्पादक

एक विधवा महिला, जसले ६ सय विवाहित पुरुषहरूको खुलेआम कत्लेआम गरिन्!

जूलिया टूफाना मेकअपको भाँडो (काँचको सिसी)मा विष बोकेर हिँड्ने गर्थीन्। वर्षौसम्म सयौँ व्यक्तिहरूलाई मार्दै रहिन्, कसैलाई कानोकान खबर पनि भएन। टूफना कसरी गर्थीन् हत्या? र सुराक किन कसैले भेट्टाएन? छ सयको हाराहारीमा विवाहित पुरुष 'बलीको बख्रो' बन्न उनीसमक्ष कसरी पुगे? प्रश्नहरूको उत्तर खोज्दै जाऔँ!

छोटकरी सम्पादक

पाकिस्तान र टर्कीबीच ऐतिहासिक ‘रेल सेवा’ सुचारु हुने

एक दशकदेखि बन्द रहेको पाकिस्तान र टर्कीबीच मालबाहक रेल सेवा आजदेखि सुरु हुने भएको छ। अहिले विश्व बजारमा चीनको बढ्दो प्रभावलाई फाइदा हुने गरी यो सेवा पुनः सुरु गर्न लागिएको हो।

छोटकरी सम्पादक

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक