छोटकरीमा यस हप्ता : भदौ २० गतेदेखि भदौ २७ गतेसम्म (अन्तर्राष्ट्रिय)

यस हप्ता (भदौ २० देखि भदौ २७ गते) भित्र देशबाहिर के-कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? एकैसाथ एकै ठाउँमा थाहा पाउनुहोस्।



कोरोना वस्तुस्थिति :

गत आइतबारसम्म २,७२,८३,७१८ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार २,८७,४०,७७८ पुगेको छ। 

गत आइतबारसम्म कोरोना भाइरसका कारण ८,८७,३०५ जनाको मृत्यु भएकोमा यस शनिबार

९,२१,१५० पुगेको छ।

हालसम्म विश्वभर २,०६,५२, ३४७ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्।



कोरोना भाइरस एवं लकडाउन सम्बन्धित प्रभाव :

  • कोरोना भाइरस संक्रमितको संख्याको हिसाबमा भारत दोस्रो नम्बरमा पुगेको छ। पछिल्लो २४ घण्टामा ९० हजारभन्दा बढी कोरोना संक्रमित थपिएसँगै दोस्रो नम्बरको रहेको ब्राजिललाई पछाडि पार्दै भारत दोस्रो नम्बरमा पुगेको छ।
  • भारतको हिमाञ्चल प्रदेशका धार्मिक स्थलहरु बिहीबारदेखि खुल्ला हुने भएका छन्। कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरेको लकडाउनका कारण पाँच महिनादेखि बन्द रहेका धार्मिकस्थलहरु बिहीबारदेखि खोल्न लागेको भारतीय सञ्चारमाध्ययमले जनाएका छन्।
  • सोमबार डब्लूएचओको मुख्यालय जेनेभामा भएको भर्चुअल मिडिया ब्रिफिङका क्रममा महानिर्देशक डाक्टर टेड्रोसले अब विश्वका सबै देशले जनस्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन्।महानिर्देशक डाक्टर टेड्रोसले जनस्वास्थ्य सामाजिक, आर्थिक र राजनीतिक स्थायित्वको आधार स्तम्भ भएको बताए। उनले कोरोना नै अन्तिम महामारी नहुने उल्लेख गर्दै भविष्यका लागि विश्व तयार रहनुपर्ने पनि बताए ।
  • रुसको सार्वभौम सम्पत्ति कोषले तीन करोड २० लाख डोज सम्भावित कोरोनाविरुद्धको खोप मेक्सिकोलाई बिक्री गर्ने भएको छ। रुसले कोभिड-१९ को सम्भावित 'स्पुतनिक-भी' खोप मेक्सिकोको एक मुख्य फर्मासिटिकल कम्पनीलाई बिक्री गर्ने सम्झौता भएको स्रोतले रोयटर्सलाई जानकारी दिएको छ। यो रुसको खोप निर्यातको दोस्रो सम्झौता(पहिलो काजकस्तान) भएकोसमेत बताइएको छ।
  • कोरोनाविरुद्धको खोपका लागि अन्तिम चरणको ट्रायलमा रहेको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेका कम्पनीको खोप परीक्षणमा सहभागी एकजनाले नकारात्मक प्रतिक्रिया देखाइ बिरामी परेपछि परीक्षण रोकिएको छ। अज्ञात कारणले बिरामी परेका एक बेलायती सहभागीका कारण परीक्षण केही समयका लागि रोकिएको कम्पनीले जनाएको हो।
  • पछिल्लो ६ महिनादेखि विश्वका लगभग सबै देशलाई संक्रमित गराइरहेको कोरोना भाइरसले जनस्वास्थ्य र आर्थिक संकट उत्पन्न गराइरहेकै बेला अर्को ठूलो आपत्काल – ‘पृथ्वीको बढ्दो तापमान’ पनि नजरअन्दाज गर्न नसकिने अवस्थामा पुगेको छ। जलवायु परिवर्तनको प्रभाव कोभिड–१९ जस्तो तिव्र गतिमा नभएपनि यसले बिस्तारै वातावरणमा ठुल्ठुला परिवर्तन ल्याइरहेको प्रमाणित भइसकेको छ।
  • कोरोना भाइरसको महामारीले गरिब देशहरूलाई बाँकी विश्वभन्दा धेरै धक्का दिएको र विश्वव्यापी असमानता बढाइदिएको बीबीसीले गरेको सर्वेक्षणमा देखिएको छ। तीस हजार मानिसमा गरिएको सर्वेक्षणले मार्च ११ मा महामारी पुष्टि भएयताको ६ महिनामा कसरी विभिन्न देशहरूलाई असर पारेको छ भनेर हेरेको थियो।


यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • रूसका विपक्षी नेता एलेक्सी नाभाल्नी काेमाबाट बाहिर आएका छन्। डाक्टरहरुका अनुसार नाभाल्नीकाे स्वास्थ्य अवस्था सुधार भइरहेकाे छ। नाभाल्नीलाई 'नाेभिचाेक नर्भ एजेन्ट' नामकाे विष खान दिएर ज्यान लिने काेसिस भएकाे थियाे। उहाँकाे जर्मनीकाे राजधानी बर्लिनमा रहेकाे एक अस्पतालमा उपचार भइरहेकाे छ। 
  • बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले अक्टोबर १५ भित्र पनि ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिएका छन्। बेलायती अधिकारीहरु र युरोपेली युनियनका प्रतिनिधिबीच ब्रेक्जिटपछि बेलायत र युरोपेली युनियनबीचको व्यापार तथा अरु सम्बन्धका विषयमा वार्ता जारी छ। तर दुवै पक्ष आ-आफ्ना अडानमा रहेकाले ठोस प्रगति हुन सकेको छैन।
  • दुई अस्ट्रेलियन सञ्‍चारमाध्यमहरुले चीनमा रहेका आफ्ना संवाददाताहरुलाई फिर्ता बोलाएका छन्। अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसनका बिल बिर्टलेस र अस्ट्रेलियन फाइनान्सियल रिभ्युका माइक स्मिथ मंगलबार सिड्नी फर्किएका हुन्। 
  • अफगानिस्तानका उपराष्ट्रपतिलाई लक्षित गरेर बुधबार राजधानी काबुलमा आत्मघाती बम विस्फोट हुँदा  दुई जनाको मृत्यु र अरु १२ जना घाइते भएको बताइएको छ। घटनाका बारेमा अहिलेसम्म कसैले पनि जिम्मेबारी नलिएको र घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको प्रहरीले जनाएको छ।
  • अनुसन्धानकर्ताहरूले अमेरिकाका लागि खतरा मानेका १,००० भन्दा बढी चिनियाँ विद्यार्थीहरूको भिसा अमेरिकी सरकारले खारेज गरिदिएको छ। गत मे महिनामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ सेनासँग सम्बन्ध भएका चिनियाँ नागरिकलाई लक्षित गरी गरेको एउटा घोषणाअनुरूप यो निर्णय आएको बताइएको छ।
  • भारतीय मिडियाको भूमिकालाई लिएर प्रश्न उठिरहेका बेला स्वतन्त्र मिडियाको निधन भएको भन्दै समवेदना अर्थात् शोकसन्देश प्रकाशित भएको छ। भारतीय अंग्रेजी दैनिक द हिन्दुको शुक्रबारको संस्करणमा भारतमा स्वतन्त्र मिडियाको अवसान भएको भन्दै शोक सन्देशको छापिएको हो।
  • माइक्रोसफ्टका अनुसार राष्ट्रपति डोनल्ड ट्रम्प र आगामी चुनावका लागि उनका प्रतिस्पर्धी डेमोक्र्याटिक उम्मेदवार जो बाइडन दुवैको चुनावी अभियान साइबर हमलाको निसानामा परेका छन्।माइक्रोसफ्टले रुस, चीन र इरानका लागि काम गर्ने ह्याकरहरूले अमेरिकामा आउँदो नोभेम्बरमा हुने राष्ट्रपतीय चुनाव अभियानमा संलग्न रहेका व्यक्ति र समूहहरूको सूचना अनधिकृत रूपमा लिने प्रयास भएको बताएको हो।
  • अफगानिस्तानमा लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ। अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि कतारको दोहा पुगिसकेको बताइएको छ। अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता गर्ने तयारी गरेको हो।मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा आठ सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छ। मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा आठ जना मारिएका र अरु तीन जना घाइते भएका बताइएको छ। 



 भारत-चीन सीमा विवाद :

  • पछिल्लो समय भारत-चीनबीचको सीमा विवादका कारण बढ्दो तनावका बीच फेरि अर्को तनाव सिर्जना भएको छ। गत साता चिनियाँ सेनाले पाँच भारतीय नागरिकहरुलाई सीमा क्षेत्रबाट अपहरण गरेको आरोप लगाइएको छ। ५ सेप्टेम्बरमा पहिलो पटक अरुणाञ्‍चल प्रदेशका सांसद तापिर गाओले ट्विट गर्दै चिनियाँ सेनाले भारतीय नागरिकलाई अपहरण गरेको जानकारी गराएका थिए। सांसद गाओले ३ सेप्टेम्बरमा सीमा क्षेत्रबाट भारतीय नागरिकलाई अपहरण गरेको बताएका थिए। उनले यस विषयमा कुनै थप विवरण दिएका छैनन्। 
  • लद्दाखमा भारतीय सेनाले सीमास्थित नियन्त्रणरेखा उल्लङ्घन गरेको चिनियाँ आरोपको भारतले खण्डन गरेको छ। बरु उक्त दुर्गम हिमाली क्षेत्रमा दुई पक्षबीच तनाव उत्पन्न हुँदा चिनियाँ पक्षले हावामा गोली हानेको नयाँ दिल्लीले दाबी गरेको छ।
  • लामो समयदेखि सीमा विवादका कारण तनावमा रहेका भारत र चीनबीच द्वन्द्वको स्थितिबाट 'छिट्टै पछि हट्‍ने' सहमति भएको छ। यसअघि भारत-चीनबीच एकअर्काले सीमा क्षेत्रमा गोली हानेको आरोप लगाएका थिए भने भारतले चिनियाँ सेनाले आफ्ना पाँच नागरिकलाई अपहरण गरेको आरोप लगाएका थिए। 



अमेरिकामा हिंसा र चुनावी माहोल :

  • आफ्नो एक बयानका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रशस्तै आलोचना खेप्न थालेका छन्। युद्धमा मारिएका अमेरिकी सैनिकहरूलाई 'हरूवा' र 'बुद्धु' भनेकोमा उनको आलोचना भएको हो। ट्रम्पको यो बयान सबैभन्दा पहिला 'द एट्लान्टिस' पत्रिकामा छापिएको बिबिसीले जनाएको छ। त्यसपछि यसको अंशलाई एसोसिएटेड प्रेस(एपी) र फक्स न्यूजले प्रकाशित गरेको बिबिसीको समाचारमा उल्लेख छ।
  • संयुक्त राष्ट्र अमेरिकाको निर्वाचन नजिकिएसँगै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रतिस्पर्धी डेमोक्रेटिक उमेदवार जो बाइडेन एक-अर्काप्रति आक्रामक रुपमा प्रस्तुत भइरहेका छन्। कोरोना भाइरसविरुद्धको खोप विकास र वितरणका विषयमा पनि ट्रम्प र बाइडेनले एक-अर्कालाई आरोप लगाउनुका साथै आलोचनासमेत गरेका छन्। राष्ट्रपति ट्रम्पले कोरोनाविरुद्धको खोप नोभेम्बरअघि नै आउने संकेत गरेका छन्। उनले नोभेम्बरको निर्वाचनअघि नै कोरोनाविरुद्धको खोप उपलब्ध हुने बताउँदै डेमोक्रेटिक उमेदवार बाइडेनले 'खोपविरुद्ध लापरबाही रुपमा अभिव्यक्ति' दिइरहेको आरोप लगाएका छन्।
  • अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुन दुई महिनाभन्दा कम समय रहेको बेला राष्ट्रपति डोनल्ड ट्रम्पका लागि खुसीको खबर आएको छ: नोबेल शान्ति पुरस्कारका उनको नाम मनोनयनमा परेको छ। नर्वेका एक नेताले ट्रम्पले इजरेल र यूएईबीच शान्ति सम्झौता गर्न भूमिका खेलेको भन्दै उनको मनोनयन गरेका हुन्।


विविध :

  • फ्रान्सको एउटा गाउँमा एक वृद्ध मानिसले झिँगा धपाउने प्रयास गर्दा उनको घरमा विस्फोटन भएको छ। रातिको भोजन गर्न बस्न लागेको बेला एउटा झिँगाले दुःख दिएपछि ८० वर्षभन्दा बढी उमेरका ती व्यक्तिले झिँगा र कीराफट्याङ्ग्रा धपाउन प्रयोग गरिने विद्युतीय साधन चलाएका थिए। तर त्यही बेला घरमा ग्यास चुहिएकाले उक्त साधनसँग घर्षण हुँदा त्यहाँ विस्फोटन भयो।
  • अवैध निर्माण गरेको भन्दै बृहन्‍मुम्बई महानगरपालिका (बीएमसी)ले बलिउड अभिनेत्री कंगना रनावतको कार्यालय भत्काएको छ। बीएमसीले मंगलबार क‌ंगनाको कार्यालयमा २४ घण्टाभित्र सामान हटाउन भन्दै नोटिस पठाएको थियो।कंगनाका तर्फबाट उनका वकिलले लिखित जवाफ दिए पनि चित्तबुझ्दो नभएको बताउँदै बीएमसीले उनको कार्यालय भत्काएको हो।
  • अमेरिकाको क्यालिफोर्निया राज्यमा लागेको डढेलो ९ लाख हेक्टर क्षेत्रमा फैलिएको छ। विभागले मंगलबार सार्वजनिक गरेको विवरणमा डढेलोबाट हालसम्म ८ जनाको मृत्यु भइसकेको छ । डढेलोका कारण ३ हजार ३ सयभन्दा बढी संरचना ध्वस्त भएको उल्लेख छ।
  • सात अर्ब वर्षअघि ब्रह्माण्डमा दुईवटा ब्ल्याक होल (अर्थात् कृष्णगर्त) को विलय हुँदा गुरुत्वीय तरङ्ग फैलियो। त्यो घटनालाई अहिलेसम्म थाहा पाइएको ब्ल्याक होलहरूको सर्वाधिक ठूलो विलय मानिएको छ। गत वर्ष बल्ल उक्त खगोलीय घटनाको सङ्केत पृथ्वीमा आइपुग्यो। मे २०१९ मा अमेरिका र इटलीमा जडित लेजर डिटेक्टरहरूले त्यसको सङ्केत प्राप्त गरे।
  • बासस्थान र आहार प्रजातिको अत्यधिक दोहनका कारण करिब ५० वर्षमा विश्वभर चरा, माछा, स्तनधारी, उभयचर र सरिसृप (घस्रिने) लगायतका जीवमा ६८ प्रतिशतले गिरावट आएको छ। संयुक्त राष्ट्र संघको ७५ औं महासभाको पूर्व सन्ध्यामा बिहीबार डब्लूडब्लूएफले सार्वजनिक गरेको  मा अत्यधिक मात्रामा माछा मारिँदा, जंगलमा डढेलो लाग्दा र मानवीय क्रियाकलापले वन्यजन्तुको आश्रयस्थल विनाश हुँदा दुई तिहाई जीव घटेको उल्लेख छ।
  • ओस्कर अवार्डबाट सम्मानित चर्चित भारतीय संगीतकार एआर रहमानमाथि कर छलीको आरोप लागेको छ। आयकर विभागले मद्रास उच्च अदालतमा मुद्दा दायर गरेपछि अदालतले रहमानलाई नोटिस जारी गरेको हो। आयकर विभागको अपिलमा जस्टिस टीएस शिवंगनानम र जस्टिस वी भवानी सुब्बोरोयनको ब्याचले रहमानविरुद्ध नोटिस जारी गरेको हो। आयकर विभागका अनुसार रहमानले उनको परोपकारी ट्रस्ट एआर रहमान फाउन्डेशनको प्रयोग गरी कर छली गरेको हो।
  •  भारतका सामाजिक अभियन्ता स्वामी अग्निवेशको ८० वर्षको उमेरमा निधन भएको छ। 'हिन्दुस्तान टाइम्स'का अनुसार कलेजोको समस्याका कारण मंगलबार अस्पताल भर्ना गरिएका उनको शुक्रबार निधन भएको हो।

सम्बन्धित सामग्री

संसदलाई कोरोना खोप : योगेश र ईश्वर पोख्रेलको भेट, तर एक अर्कासँग बोल्दै बोलेनन्!

प्रतिनिधिसभाको बैठक नजिकिँदै गर्दा संसद् सचिवालयले सांसदहरूलाई कोरोनाविरुद्धको ‘कोभिसिल्ड भ्याक्सिन’ लगाइदिन सुरु गरेको छ । जहाँ एउटा रमाइलो दृश्य देखियो, नेकपा प्रचण्ड नेपाल खेमाका नेता योगेश भट्टराई र बहालवाला उपप्रधानमन्त्री ईश्वर पोख्रेलबीचको भेट। तर २० मिनेटको अवधि दुवै एक-अर्कासँग बोलेनन्।

छोटकरी सम्पादक

प्रतिनिधि सभा बैठकको सम्पूर्ण तयारी पूरा, ओली र प्रचण्ड समूह आमुनेसामुने हुँदै

पुस ५ गते विघटन भएको प्रतिनिधि सभाको बैठक फागुन २३ गते आइतबार बस्दैछ । पुस ५ गतेदेखि नै आमने सामने हुन नसकेका नेकपाका दुई अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल आइतबार नै संसद् सचिवालयमा आमने सामने हुने देखिएको छ । त्यो दृश्य कस्तो हुनेछ, आउनुहोस् जानौं ।

छोटकरी सम्पादक

यी हुन् नेकपा प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकका निर्णय

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङसहित ७ जनालाई कारबाही गरेको छ। बैठकले ओलीलले राजीनामा नदिएकोमा निन्दा समेत गरेको छ। थप केके निर्णय भए, आउनुहोस् जानौं।

छोटकरी सम्पादक

पेट्रोलियममा मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूको प्रदर्शन

पेट्रोलियममा गरिएको मूल्यवृद्धिविरुद्ध विद्यार्थीहरूले नेपाल आयल निगमअगाडि प्रदर्शन गरेका छन् । विद्यार्थीहरूले बढाइएको मूल्य तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन् । पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले बढाइएको छ ।

छोटकरी सम्पादक

‘जनकपुर साहित्य महोत्सव’ सुरु हुँदै

जनकपुरधामको ऐतिहासिकता पौराणिकतालाई प्रचारप्रसार गर्ने उद्देश्यले ४ दिवसीय (फागुन १९ देखि फागुन २२ सम्म) जनकपुर साहित्य महोत्सवको आयोजना हुन भएको छ। के-कस्ता सेसनहरू रहनेछन् ? को-को रहनेछन् वक्ताहरू ? आउनुहोस्, जानौं ।

छोटकरी सम्पादक

सल्यानटारमा डोजरको ठक्करबाट महिलाको मृत्यु, स्थानीयले गरे डोजरमा आगजनी

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका- १ सल्यानटार खोल्सी नजिक डोजरले ठक्करबाट एक महिलाको मृत्यु भएको छ। घटनास्थलमा रहेका स्थानीय बासीन्दाका अनुसार डोजरको ठक्करपछि घाइते भएकी महिलालाइ जिउदै अवस्थामा डोजरले माटो खनेर पुरिदिएको भन्दै डोजरमाथि आगजानी गरेका छन्।

छोटकरी सम्पादक