छोटकरीमा यस हप्ता : (श्रावण १० देखि १७ गतेसम्म)

यस हप्ता ( श्रावण १०- १७ गते) भित्र राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमामा के कस्ता राजनीतिक, आर्थिक, न्यायिक एवं कोरोना लक्षित गतिविधिहरू भए ? थाहा पाउनुहोस्।

कोरोना स्थिति विवरण:

  • नेपालतर्फ :

गत शनिबारसम्म १८,३७४ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार २०,०८६ पुगेको छ। 

गत शनिबारसम्म कोरोना भाइरसका कारण ४५ जनाको मृत्यु भएकोमा यस शनिबार ५६ पुगेको छ।

हालसम्म नेपालमा १४,४९२ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन् भने ११,५३३ जना क्वारेन्टाइनमा रहेका छन्।

  • विदेशतर्फ :

गत शनिबारसम्म १,५९,३२,९११ जनामा देखिएको कोरोना भाइरस बढेर यस शनिबार १,७८,०१,८१९ पुगेको छ। गत शनिबारसम्म कोरोना भाइरसका कारण ६,४२,६१९ जनाको मृत्यु भएकोमा यस शनिबार ६,८३,८९१ पुगेको छ। हालसम्म विश्वभर १, ११,९१,५७१ जना कोरोना संक्रमित निको भइ घर फर्किएका छन्। 


यस हप्ताका आर्थिक, राजनीतिक एवं न्यायीक गतिविधिहरू :

  • नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशकामार्फत् सबै प्रकारका व्यक्तिगत कर्जाको सीमा तोक्दै बैंक तथा वित्तीय संस्थाबाट ५० लाख रुपैयाँसम्मको व्यक्तिगत कर्जा पाइने नियम लागू गरेको छ।
  • भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरा, गुन्जीलगायत क्षेत्र आफ्नो भूमि रहेको बताउँदै नेपालीहरुको त्यस क्षेत्रमा प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको छ। नेपालले कालापानीदेखि लिम्पियाधुरासम्मको भूभाग समेटेर गत ५ जेठमा नयाँ नक्सा जारी गरेसँगै भारतको असुन्तुष्टि क्रमश: व्यक्त हुँदै आएको बताइएको छ।
  • निर्वाचन आयोगले सरिता गिरीको ठाउँमा समाजवादी पार्टीको सिफारिसमा लिलादेवी सिटौलालाई संघीय संसदको प्रतिनिनिसभा सदस्यमा निर्वाचित गरेको थियो। 
  • सर्वोच्च अदालतले अदालतमा विचाराधीन विषय वा अदालतबाट भएका फैसला र निर्णयका सम्बन्धमा टिकाटिप्पणी गर्दा वा समाचार प्रवाह गर्दा अदालतको मर्यादा र गरिमामा आँच आउन सक्ने तर्फ ध्यान दिन आग्रह गरेको थियो। पछिल्लो समय पत्नी हत्याका दोषी पूर्व प्रहरी अधिकृत रञ्जन कोइरालाको कैद घटाउने र 'हिट एन्ड रन' को केसमा पृथ्वी मल्ललाई धरौटीमा रिहा गर्ने सर्वोच्चका आदेशहरु विवादमा आएका छन्।
  • राप्रपा र राप्रपा संयुक्तबीचको एकतापछि असन्तुष्ट भई गत शनिबार राप्रपा त्यागेका पूर्वमन्त्री सुनिलबहादुर थापा मंगलबार औपचारिक रुपमा कांग्रेस प्रवेश गरेका थिए।
  • विवादबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको नेकपाको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीले विधिविपरीत गएर स्थायी कमिटी बैठक स्थगित गरेको निर्णय गरेको थियो । साथै बैठकले आगामी स्थायी कमिटी बैठक अघि बढाउने जिम्मेवारी अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको थियो। 
  • एक महिनाभन्दा लामो समयदेखि जारी स्थायी कमिटी बैठक कुनै निष्कर्षमा पुग्न नसकिरहेका बेला सत्तारुढ नेकपाका १५२ केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक गर्दै पार्टी कार्यालयमा लिखित पत्र दर्ता गरेका थिए।
  • कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा प्रमाण नष्ट र यातनाविरुद्धको कसुरमा मुद्दा खेपिरहेका एसपी दिल्लीराज विष्टसहित आठजना प्रहरीले सफाइ पाएका छन्। कञ्चनपुर जिल्ला अदालतले उनीहरुलाई सफाइ दिएको हो।
  • सरकारले मुग्लिन–नारायणगढ सडकमा चल्ने हलुका(२५ रुपैयाँ) तथा भारी सवारी(५५ रुपैयाँ) बाट शुल्क असुल्ने निर्णय गरेको छ ।
  • सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ। आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिने बताएको छ।
  • काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाललाई जिम्मेवारीबाट हटाइएको छ। १५ किलो ‘सुन’ भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि महानगरीय प्रहरी वृत्त दरवारमार्गको नेतृत्वबाट हटाइएको प्रहरी स्रोतले जनाएको छ। दाहालको ठाउँमा डीएसपी रामशरण पौडेललाई पठाइएको छ।
  • उच्च अदालत पाटनले थुनामा राखी मुद्दामा पुर्पक्ष गर्न आदेश गरेका शिव कोइराला राष्ट्रिय खेलकुद परिषद्को उपाध्यक्ष नियुक्त भएका छन्। गत फाल्गुनमा उच्च अदालत पाटनका न्यायाधीश रमेशबहादुर थापा र टेकनारायण कुँवरको संयुक्त इजलाशले सवारी अङ्गभङ्ग मुद्दामा कोइरालालाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको थियो।
  • काठमाडौं उपत्यकाका सबै नाका साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म बन्द हुने भएका छन्।सरकारले अर्को आदेश जारी नभएसम्मका लागि अत्यावश्यक र ढुवानी सेवाका सवारीसाधन मात्र उपत्यका भित्रन पाउने जनाएको छ
  • राजनीतिक आडमा संगठनको चेन अफ कमाण्डलाई लत्याएको आरोप लागेका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर मल्लले रमाना बुझेका छन् । चितवन प्रहरी प्रमुख मल्ललाई प्रहरी प्रधान कार्यालय, नक्सालले ४ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको थियो । तर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पूर्वपीएसओ समेत रहेका मल्लले अवज्ञा गर्दै जिल्ला छाड्न मानेका थिएनन् ।
  • चितवन राष्ट्रिय निकुञ्‍ज सुरक्षार्थ खटिएका सैनिकले नियन्त्रणमा लिई कुटपिट गरेको साता दिनपछि मृत्यु भएका राप्ती नगरपालिका–२ पिप्ले मिलनटोलका राजकुमार चेपाङका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने लिखित प्रतिबद्धता जनाइएको छ ।
  • संघीय संसद् राष्ट्रिय सभा मातहतका संसदीय समिति गठन भएका छन् । राष्ट्रिय सभाका समितिमा सांसदहरूको दुई वर्षे कार्यावधि शुक्रबार पूरा भएपछि नयाँ गठन गरिएको हो ।

शैक्षिक गतिविधिहरू :

  • काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रका सबै विद्यालयमा नेपाल भाषाको स्थानीय पाठ्यक्रम लागू गर्ने जनाएको थियो।
  • राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको जनाउँदै नतिजा प्रकाशन गर्ने तयारि अन्तिम अवस्थामा पुगेको जनाएको थियो । जसअनुसार आगामी मंगलबार नतिजा प्रकाशन हुने बताइएको छ
  • सरकारले क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग हुन छाडेका विद्यालय भवनहरुलाई तोकिएको मापदण्ड बमोजिम स्थानीय तहले निर्मलीकरण गरी अध्ययन गर्न योग्य बनाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालय स्रोतका अनुसार यदि कुनै विद्यालयमा क्वारेन्टिन तथा आइसोलेसन सेन्टर सञ्चालन गरिएको भए त्यसलाई खाली गराइनेछ। शैक्षिक सत्र २०७६ को नजिता प्रकाशन, पाठ्यपुस्तक वितरण र भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्न दिने निर्णय समेत गरेको छ।

अमेरिका-चीन विवाद :

  • अमेरिका र चीनबीच एक–आपसमा आरोप–प्रत्यारोप चर्किएसँगै एक–अर्काे देशमा रहेका महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिने क्रम पनि बढेको छ। अमेरिकाले हुस्टनमा रहेको चिनियाँ महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएलगत्तै चीनले पनि जवाफी निर्णयका रूपमा छेन्दुस्थित अमेरिकी महावाणिज्य दूतावास बन्द गर्न निर्देशन दिएको थियो। 
  • चीनको आदेशपछि अमेरिकी कूटनीतिज्ञहरूले चीनको दक्षिण-पश्चिमी सहर चेङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास छोडेका छन्। सोमबार कर्मचारीहरूले 'बक्स' फाइल र फोहोर राखिएका झोला बोकेको देखिएको थियो भने त्यहाँस्थित अमेरिकी झण्डा झिकिएको छ। 

थप प्रसंगहरू :

  • भारतले फ्रान्ससँग गरेको खरिद सम्झौताअन्तर्गत ‘विवादित’ डसाल्ट रफाल लडाकु विमानको पहिलो खेपअन्तर्गत पाँच वटा जहाजले बुधबार हरियाणाको अम्बालास्थित एयरबेसमा अवतरण गरेका छन्।
  • मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाक भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। फैसला सरकारी कोषबाट तात्कालीन प्रधानमन्त्रीका निजी खाताहरूमा चार करोड २० लाख रिंगिट (करिब एक करोड अमेरिकी डलर) स्‍थानान्तरण गरेको विषयसँग सम्बन्धित छन्। 
  • मंगलग्रहको प्राचीन इतिहास अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरीक्ष संस्था 'नासा'ले मंगल ग्रहमा पर्सिभरेन्स रोभर त्यसतर्फ पठाएको छ । सन् २०२१ को फेब्रुअरी १८ मा पर्सिभरेन्स मार्सको जजोरो क्रेटरस्थित एक प्राचीन नदीको डेल्टा नजिकै अवतरण गर्ने नासाले जनाएको छ।
  • ईदको अवसर पारेर तालिबानले तीन दिने युद्धविरामको घोषणा गरेलगत्तै अफगान राष्ट्रपति अस्रफ घानीले पाँच सय तालिबानीलाई जेलमुक्त गरेका छन्। संयुक्तराज्य अमेरिकासँग गत फेब्रुअरीमा तालिबान समूहले गरेको सम्झौतामा उल्लेखित सबै पाँच हजार तालिवानी पछिल्लो पटक गरिएको रिहाईसँगै मुक्त भएका हुन्। 
  • ताइवानका पूर्व राष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ। ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्वपूर्ण भूमिका रहेको थियो।
  • मध्यपूर्व राष्ट्र इराकमा तापक्रम बढदै गएको छ। गर्मी बढदै गएपछि त्यहाँको जनजीवनमा असर परेको छ। अहिले त्यहाँ ५१ डिग्री सेल्सियससम्म तापक्रम पुग्ने गरेको छ। राजधानी बग्दाद मा केही दिनयता निरन्तर ५१ देखि ५२ डिग्री सेल्सियससम्म तापक्रम पुगेको थियो। त्यहाँको तापक्रम मंगलबार र बुधबार लगातार ५२ डिग्री सम्म पुगेको थियो।

कोरोना सम्बन्धित :

अन्तर्राष्ट्रिय :

  • अमेरिकामा दिनप्रतिदिन बढ्दो कोरोना भाइरस प्रकोपका कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडामा आयोजना गर्न लागिएको रिपब्लिकन पार्टीको चुनावी सभा स्थगित गरेका छन्। ह्वाइटहाउसमा आयोजित पत्रकार सम्मेलनमा उनले अर्को महिना ज्याक्सनभिल्लेमा गर्न लागिएको अर्को भेला पनि रद्द गरेको जानकारी दिएका थिए। 
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओब्रायनलाई कोरोना संक्रमण पुष्टि भएको छ। अमेरिकामा कोरोना संक्रमण हुने ओब्रायन अहिलेसम्मका शीर्ष अधिकारी हुन्।
  • कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ अहिलेसम्म घोषणा गरिएका स्वास्थ्य आपतकालमध्येकै 'सबैभन्दा गम्भीर स्वास्थ्य संकट' भएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले बताएको छ। विगत ६ हप्तामा कुल संक्रमितको संख्या दुई गुणाले बढेको बताइएको छ। 
  • अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भीषण गत वर्षको जंगल डढेलोमा परेर करिब ३ अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनधारी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुंगी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएको उल्लेख छ ।
  • अमेरिकी बायोटेक कम्पनी मोडर्नाले तयार पारेको कोभिड–१९ को खोप बाँदरमा परीक्षण गर्दा निकै सकारात्मक नतिजा प्राप्त भएको अध्ययनले देखाएको छ। खोप लगाइएका बाँदरका नाक र फोक्सोमा कोरोना भाइरसका विषाणु थप वृद्धि नभएको न्यु इंग्ल्यान्ड मेडिसिन जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ। 
  • कोरोना भाइरसको महामारीको कारण देखाउँदै हङकङ प्रशासनले स्थानीय निर्वाचनलाई एक वर्ष पछि सार्ने निर्णय गरेको छ। हङकङको उक्त निर्णयप्रति ‘प्रजातन्त्र पक्षरत’ हङकङवासीलाई भने आक्रोशित तुल्याएको छ। उनीहरूले निर्वाचनलाई पछि सार्ने निर्णय प्रतिपक्षीलाई कमजोर पार्ने अभिप्रायबाट आएको बताएका छन्।

राष्ट्रिय :

  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुर पुगेर 'इनफ इज इनफ' अभियानका सत्याग्रही ई:लाई भेटेका छन् । देउवाले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाएका छन् । इनफ इज इनफ समूहका युवाहरू करिब दुई हप्तादेखि पुन: कोभिड– १९ रोकथाम तथा नियन्त्रणका लागि आरडिटी परीक्षण खारेज गर्न र पिसिआर परीक्षण गर्न माग गर्दै खाना–पानी नखाई सत्याग्रह बसीरहेका छन्। 
  • राजधानीमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि उपत्यका प्रवेश गर्ने नागढुंगा, साँगा लगायत मुख्य नाकामा नै यात्रीहरुको परीक्षणका लागि स्वाब संकलन थालिएको छ। स्वास्थ्य मन्त्रालय र चन्द्रागिरी नगरपालिका मिलेर थालिएको यो अभियानमा दिनको एक हजार जनाको स्वाब संकलन गर्ने लक्ष्य लिइएको छ।
  • सभामुख अग्निप्रसाद सापकोटाको सुरक्षार्थ खटिएका एकजना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ। कोरोना पोजेटिभ देखिएका सुरक्षाकर्मी ६ साउनदेखि सुरक्षामा नखटिएको सभामुख सचिवालयले जनाएको छ । 

सम्बन्धित सामग्री

४८ वर्षीय बुद्धकृष्ण आठौँ पटक जिब्रो छेड्दै

मध्यपुर थिमि नगरपालिका–८ बोडेका बुद्धकृष्णवांग श्रेष्ठले आठौंपल्ट जिब्रो छेडाउने भएका छन् । बोडे निवासी ४८ वर्षीय श्रेष्ठले यसअघि ०६२ देखि ०६५ सम्ममा ४ र ०७४ देखि ०७६ सम्मगरी सातौं पल्ट जिब्रो छेडाएर संस्कृति बचाएका छन् ।

भरिएको सिसिडोलले राहत पाउने आशा, बन्चरेडाँडामा जेठदेखि फोहोर विसर्जन गर्न सकिने

जेठ पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्यान्डफिलसाइटमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न सकिने बताइएको छ । हाल निर्माण भइरहेको दीर्घकालीन ल्यान्डफिलसाइट नुवाकोट र धादिङको सिमानामा पर्दछ ।

३३ अर्बमा तयार हुने भनिएको मध्यपहाडी लोकमार्गको लागत एक खर्ब नाघ्यो

२६ जिल्लाको दुई सय १५ बस्ती जोड्ने र एक करोड जनता प्रत्यक्ष लाभान्वित हुने राष्ट्रिय गौरवको मध्यपहाडी राजमार्ग निर्माण थालिएको १३ वर्ष लागेको छ । । तीन वर्षअघि नै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको आयोजनाको ३३ अर्ब लागत निर्धारण भएकोमा बढेर एक खर्ब एक अर्ब ५० करोड पुगीसकेको छ ।

नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै भारतको राजधानी नयाँदिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द भएका छन् ।