पाकिस्तान टाट पल्टने जोखिम नजिक : अन्तरराष्ट्रिय जगतले नपत्याउँदा सकस

काठमाडौं । संकटग्रस्त पाकिस्तानी अर्थतन्त्र टाट पल्टने जोखिम बढ्दै गएको छ । स्टेट बैंक अफ पाकिस्तानको वेबसाइटअनुसार यतिबेला पाकिस्तानसँग ४ दशमलव ६ अर्ब अमेरिकी डलरमात्र सञ्चिति छ । तर, त्यहाँका स्थानीय तथा अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले विदेशी मुद्रा सञ्चिति ४ देखि ४ दशमलव ३ अर्ब डलरबीचमा रहेको बताइरहेका छन् । अहिलेको विदेशी मुद्रा सञ्चितिले पाकिस्तानलाई २२/२३ दिनको मात्रै आयात धान्न पुग्छ । २३ करोडभन्दा बढी जनसंख्या रहेको पाकिस्तानले पेट्रोलियम पदार्थ, खाद्यान्नसँगै आफ्ना कतिपय आवश्यकताका सामग्री आयात गर्नुपर्छ । पाकिस्तानमा अधिकतर ऊर्जा उत्पादन पनि आयातित जीवाश्म इन्धनबाटै हुन्छ । विदेशी मुद्रा सञ्चिति कम हुँदै गएपछि पाकिस्तानले सहयोगी राष्ट्रका साथै अन्तरराष्ट्रिय संस्था गुहारिरहेको छ । केही समयअघि उसले जलवायु परिवर्तनबाट भएको क्षति पुनःस्थापनाका लागि भन्दै जेनेभामा सम्मेलन गरेको थियो । सम्मेलनमा विभिन्न अन्तरराष्ट्रिय संस्था र राष्ट्रले पाकिस्तानलाई ९ अर्ब डलरभन्दा बढी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । साउदी अरेबिया र यूएईले पाकिस्तानी प्रधानमन्त्री सहबाज सरिफको भ्रमणका क्रममा सहयोग गर्ने वचन दिएको स्थानीय सञ्चारमाध्यमहरूले बताएका थिए । पाकिस्तानी पत्रिका डनका अनुसार साउदी अरेबिया एक्लैले अवस्था हेरेर १० अर्ब डलरसम्म पाकिस्तानलाई सहयोग गर्ने बताएको थियो । तर, यी दुवै सहयोग प्राप्त भएको छैन । वल्र्ड इकोनोमिक फोरम, डाबोसमा बोल्दै साउदी अरेबियाका अर्थमन्त्रीले विश्व बैंक र अन्य संस्थासँग कसरी ‘त्यो सहयोग प्रदान गर्न थप रचनात्मक’ हुन सकिन्छ भनेर छलफल गरिरहेको बताएको डनले लेखेको छ । डाबोसमा साउदी अर्थमन्त्रीले अनुदान र ऋण दिने साबिकको तरीका परिवर्तन गरी बहुपक्षीय संस्थासँग काम गर्ने अभिव्यक्ति दिएसँगै साउदी अरेबियाबाट सीधै आर्थिक सहयोग प्राप्त हुने पाकिस्तानको आशामा तुषारापात भएको देखिन्छ । साउदी अरेबियाको यो अडानसँगै यूएईबाट पनि उस्तै प्रतिक्रिया आउन सक्ने चिन्ता पाकिस्तानलाई छ । पाकिस्तानले लामो समयदेखि खाडी मुलुकबाट आर्थिक सहयोग पाइरहेकोमा पछिल्लो समय त्यो घट्दो क्रममा छ । कतिपयले खाडी मुलुकसँग भारतको नजिकिँदो सम्बन्धले पाकिस्तानलाई अप्ठ्यारो परेको हुन सक्ने अनुमान गरेका छन् । साउदी अरेबियाको नीति परिवर्तनमा पनि भारतीय आर्थिक कूटनीतिले भूमिका खेलेको हुनसक्ने अनुमान छ । अर्थराजनीतिका जानकार एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्द पोखरेल भारतको भूमिकालाई नकार्न नसकिने बताउँछन् । ‘अर्थ–कूटनीतिले काम गर्छ । भारत ठूलो बजार हो । खाडी देशले पनि ठूलो बजारसँगको व्यापारलाई हेर्छन् । भारत हावी भयो र पाकिस्तानले कूटनीतिक कौशल देखाउन सकेन भने स्वाभाविक रूपले त्यसको प्रभाव पर्छ,’ पोखरेलले भने । अन्यत्र सहयोगी नपाउँदा पाकिस्तानको ध्यान अन्तरराष्ट्रिय मुद्राकोष (आईएमएफ) तिर सोझिएको छ । आईएमएफले पाकिस्तानलाई ऋण दिनुपूर्व आफ्ना शर्त पालना गर्नुपर्ने बताउँदै आएको छ । पाकिस्तानसामु उसले विद्युत्को अनुदान फिर्ता लिनुपर्ने, ग्यासको मूल्यलाई अन्तरराष्ट्रिय बजारसँग जोड्नुपर्ने, डलरलाई स्वतन्त्र रूपमा प्रवाह गर्नुपर्ने, एलसी रोक्न नहुनेलगायत शर्त राखेको छ । पोखरेलका अनुसार आईएमएफले आफ्ना शर्त पूरा नगरे ऋण दिँदैन । ‘अन्तरराष्ट्रिय संस्थाहरूले सबै कुरालाई गहन तरीकाले अध्ययन गरेर आफ्नो पैसा फिर्ता हुन सक्ने अवस्थामा मात्रै लगानी गर्छन्,’ उनले भने । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका  अर्थ–राजनीतिका विज्ञ दीपेन्द्रबहादुर क्षेत्री आईएमएफको ऋण नपाउनुमा भूराजनीति पनि जिम्मेवार हुनसक्ने बताउँछन् । ‘आईएमएफलगायत संस्थामा यूरोपेली र अमेरिकीको वर्चस्व हुन्छ । पाकिस्तान चीनसँग अलि नजिक छ । इन्डो–प्यासिफिक क्षेत्रमा चीनसँग नजिक भएका देशलाई अलग्याउने रणनीतिअनुरूप पाकिस्तानलाई ऋण नदिएर अल्झाइरहेको हुन सक्ने सम्भावना रहन्छ,’ उनले भने । पाकिस्तान सरकार आईएमएफका शर्त स्वीकार्न हिचकिचाइरहेको देखिन्छ । पहिलेदेखि नै महँगीको चर्को मार खेपिरहेका जनतामा बोझ थप बढ्ने चिन्ताका साथै आगामी केही महीनाभित्रै आमचुनाव हुन लागेकाले अलोकप्रिय हुने र चुनावमा क्षति बेहोर्नुपर्ने डरले सत्तारूढ दलहरू आईएमएफका शर्त स्वीकार्न हच्केका हुन् । पाकिस्तानमा अहिले खाद्यान्नको मूल्य निकै बढेको छ । महँगोमा गहुँको पिठो किन्न मानिसले तँछाडमछाड गरेका तस्वीर र भिडियोहरू पाकिस्तानी सञ्चारमाध्यमले निरन्तर देखाइरहेका छन् । ऊर्जाका लागि जीवाश्म इन्धनमा निर्भर पाकिस्तानको डलर सञ्चिति कम हुँदै जाँदा ऊर्जासंकट देखिन लागेको छ । केही समयअघि पाकिस्तान सरकारले राति ८ ः ३० बजेपछि बजार बन्द गर्नुपर्ने आदेश जारी गरेको थियो । सोमवार त पाकिस्तान अन्धकारमै बस्नुपर्‍यो । सरकारले प्राविधिक समस्याका कारण यस्तो भएको बताएको छ । तर, सर्वसाधारणमा आसन्न संकटलाई लिएर डरको माहोल देखिएको बीबीसीले बताएको छ । केही दिनअघि पाकिस्तान सरकारले रूससँग सस्तो मूल्यमा कच्चा तेल किन्ने सम्झौता भएको बताएको थियो । रूस तेलको भुक्तानी मित्रराष्ट्रहरूको मुद्रामा लिन सहमत भएको छ । डनका अनुसार दुवै पक्षले मित्रराष्ट्रको मुद्रामा भुक्तानी गर्न सकिने सैद्धान्तिक सहमति गरेका छन्, यद्यपि यो मुद्दा अझै चर्किरहेको छ । मित्रराष्ट्रका मुद्रामा पाकिस्तानले चीन, भारत, साउदी अरब र इरानको मुद्रा प्रयोग गर्न सक्छ । भारत र पाकिस्तानबीच कश्मिर मुद्दालाई लिएर लडाइँ भइसकेको छ । अहिले पनि त्यो क्षेत्रमा विवाद कायमै छ । यस्तोमा भारतले पाकिस्तानलाई आफ्नो मुद्रा चलाउन दिने सम्भावना देखिँदैन । साउदी अरब र इरान आफैले पेट्रोलियम पदार्थ उत्पादन र निर्यात गर्छन् । उनीहरूले आफ्नो पेट्रोलियम पदार्थलाई महँगो भनेर रूसबाट कच्चा तेल किन्न खोज्ने पाकिस्तानलाई विनिमयका लागि आफ्ना मुद्रा चलाउन दिने सम्भावना नगन्य छ । त्यही भएर पाकिस्तानले रूसबाट कच्चा तेल ल्याउन चीनको भर पर्नुपर्ने बाध्यता छ । डलर संकटको सामना गर्दै आएको पाकिस्तानले आपूर्ति शुरू भएपछि आफूले किनेको तेलको मूल्य भुक्तानी गर्न चिनियाँ युआन प्रयोग गर्न सक्छ । तर, चीनले पहिलादेखि नै चाइना–पाकिस्तान इकोनोमिक कोरिडोर (सिप्याक) अन्तर्गत पाकिस्तानमा धेरै लगानी गरिसकेको छ । यस्तो अवस्थामा पाकिस्तानलाई चीनले कहिलेसम्म र कति दिने भन्ने प्रश्न रहने अर्थविद् दीपेन्द्रबहादुर क्षेत्रीको भनाइ छ । जानकारहरू अहिलेको स्थितिमा कतैबाट छिटो आर्थिक सहयोग नपाए पाकिस्तान टाट पल्टिने बताउँछन् । पाकिस्तान टाट पल्टियो भने त्यसको असर दीर्घकालीन र निकै गम्भीर हुनेमा नजिकबाट नियालिरहेका विज्ञहरू एकमत देखिन्छन् ।

सम्बन्धित सामग्री

पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा!

पारिजातको जस्तै सुगन्ध आउँछ तिमी नजिक हुँदा,मातले धर्तीभन्दा माथि पुर्‍याउँछ तिमी नजिक हुँदा।

पाँच दिनमा ५०० करोड नजिक 'सलार'

भारतीय सञ्चार माध्यमहरूका अनुसार फिल्मको व्यापार पाँच दिनमा ५०० करोड नजिक पुगेको छ। यो कमाइ विश्वभरको हो।...

मिडफिल्डर सान्द्रो न्यूक्यासलमा अनुबन्ध नजिक

एजेन्सी – इंग्लिस क्लब न्यूक्यासल युनाइटेड इटालीका मिडफिल्डर सान्द्रो टोनालीलाई अनुबन्ध नजिक पुगेकोछ । न्यूक्यासलले सान्द्रो टोनालीलाई इटालियन सिरी ए क्लब एसी मिलानबाट अनुबन्ध गर्न नजिक पुगेको उनका एजेन्टले बताएका छन् । २३ वर्षीय टोनालीले न्यूक्यासलमा ६ वर्षको हस्ताक्षर गर्ने र केही दिनमा नै मेडिकल लगायत कागजी प्रक्रिया पूरा गरिने अपेक्षा गरिएको छ । इटालियन […] The post मिडफिल्डर सान्द्रो न्यूक्यासलमा अनुबन्ध नजिक first appeared on Hamro Khelkud.

झापाको एक मतदान स्थल नजिक बिस्फोटको आवाज

काठमाडौँ – झापाको झापा गाउँपालिकामा मतदान स्थल नजिक बिस्फोट भएको छ। झापा गाउँपालिका वडा नं २ को क्वडीमावी मतदान स्थल नजिक बिष्फोटक पदार्थको आवाज सुनिएको झापामा प्रहरि प्रवक्ता डिएपी बसन्त पाठकले बताएका छन्। उनका अनुसार आतंक मचाउने हिसाबले मात्रै बिस्फोट गराइएको हुनसक्ने बुझिएको छ। मतदान स्थल नजिक केही पड्किएको जस्तो आवाज आएको भन्ने जानकारी हामीलाई […]

जसपा फुटको नजिक, को कता

काठमाडौं, २६ असार । जनता समाजवादी पार्टी फुटको नजिक पुगेको छ । अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले छुट्टाछुट्टै केन्द्रीय कार्यसमिति बैठक डाकेपछि फुटको नजिक पुगेको हो । यादवले वीरञ्जनमा असारको २९ र ३० गते बैठक डाकेका छन् । भट्टराई त्यसभन्दा एक दिन अघि २९ र २९ असारमा काठमाडौंमा बैठक डाकेका […]

‘गठबन्धन सहमति नजिक’

काठमाडौं, ६ वैशाख । सत्ता गठबन्धनबीच चुनावी तालमेल निष्कर्ष नजिक पुगेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सहमतिको नजिक पुगेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्कीले बैठक जारी रहेको र निष्कर्षको चरणमा प्रवेश गरेको बताए । उनले भने,‘हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं र बैठक जारी छ ।’ […]

लिग वान : पिएसजी उपाधि नजिक

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ । गए राति भएको खेलमा मार्सेलीलाई २-१ गोलले हराउँदै पिएसजी उपाधि नजिक पुगेको हो । पिएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक-एक गोल गरे। पाहुना टाेली मार्सेलीका डुजे कालेटा कारले एक गाेल फर्काए । खेलकाे १२ औँ मिनेटमा नेयमारकाे गाेलबाट पिएजसीले […]

इंग्ल्यान्ड हार नजिक

एजेन्सी – वेस्टइन्डिजसँगको तेस्रो तथा अन्तिम टेस्ट खेलमा इंग्ल्यान्ड हार नजिक पुगेको छ । तेस्रो दिनको खेल सकिँदा इंग्ल्यान्ड दोस्रो इनिङमा ५३ ओभरमा १०३–८ रनको दयनीय अवस्थामा छ । इंग्ल्यान्डले १० रनको अग्रता लिएको छ । पहिलो इनिङमा इंग्ल्यान्ड ९३ रनले पछि परेको थियो । दुबै इनिङमा खराब ब्याटिङ गरेपछि इंग्ल्यान्ड हार नजिक पुग्दै सिरिज […]

काबुल पावरप्लान्ट नजिक सातवटा मिसाइल दागिए

एजेन्सी, १ असोज । अफगानिस्तानको राजधानी काबुलस्थित रहेको पावर प्लान्ट नजिक सातवटा मिसाइल आक्रमण भएको छ । काबुलको उत्तरपश्चिम क्षेत्रमा रहेको पावर प्लान्ट नजिक बिहीबार सातवटा मिसाइल आक्रमण भएको प्रत्येक्षदर्शीहरुले आमाज न्युज एजेन्सीलाई बताएको हो । न्युज एजेन्सीको रिपोर्ट अनुसार मिसाइल काबुल स्थित रहेको पावर प्लान्ट नजिक खसालिएको छ । उक्त आक्रमणमा कुनै विवरण सार्वजनिक […]

नेदरल्यान्ड्स फाइनल नजिक

नेपालले दिएको २ सय ७ रनको लक्ष्य पछ्याउँदै पाहुना टोली नेदरल्यान्ड्स राजधानीमा जारी क्रिकोणात्मक शृखंलाको फाइनल नजिक पुगेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा नेदरल्यान्ड्सले नेपालले निर्धारित २० ओभरको समाप्तिमा ६ विकेट गुमाएर दिएको २ सय ७ रनको लक्ष्य तीन बल बाँकी छँदा भेटाउँदै शृखंलाको फाइनल नजिक पुगेको हो । पहिलो खेल […]