विदेशबाट फर्केर पशुपालन : मासिक डेढ लाख आम्दानी

गलेश्वर, २१ वैशाख । आफ्नै गाउँमा कमाइ गर्न सकिएन भन्दै विदेश जान मरिहत्ते गर्ने युवाको भीडमा दरवाङका एक युवाले भने गाउँमा नै विदेशभन्दा बढी कमाउन सकिन्छ भन्ने कुरा प्रमाणित गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ उपल्लो बजारका २८ वर्षीय युवा सुजन पौडेल चार वर्ष युएईमा काम गरेर फर्केपछि पुन: विदेश नजाने प्रण गर्दै गाउँमै […]

सम्बन्धित सामग्री

खाडीबाट रित्तो हात, गाउँमा बाख्रापालनबाट आकर्षक आम्दानी

म्याग्दी । विदेश गएर मनग्गे कमाएका युवाहरू म्याग्दीमा धेरै छन् । रित्तै हात फर्केर गाउँमै व्यवसायको थालनी गरेकाहरू पनि कम छैनन् । विदेशबाट ऋण बोकेर गाउँ फर्किएका यहाँका केही युवाले भने नपत्याउँदो प्रगति गरेका छन् । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीश यस्तै प्रनिनिधि पात्र हुन्, जसले आफ्नै गाउँठाउँमा उद्यम व्यवसाय गरेर आकर्षक आम्दानी गरिरहेका छन् । भकिम्लीका श्रीशको बाख्राफार्ममा साढे ३ लाख मूल्य पर्ने बोयर जातको बोका छ । दुईओटा गोठमा रहेका बाख्रा र पाठापाठीको बजार मूल्य करीब १ करोड रुपैयाँभन्दा बढी रहेको उनी बताउँछन् । उनको ‘श्रीश पशुपालन तथा बहुउद्देश्यीय कृषिफार्म’मा सबै बाख्रा बोयर जातका छन् । एक दशकअगाडि खाडीबाट फर्किंदा उनको साथमा केही थिएन । विदेशको धनले उँभो लाग्न नसकेपछि उनले गाउँ फर्किएर बाख्रापालन थालेका थिए । बाख्रापालनकै लागि उनले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोयर बाख्रा खरीद गरे । सामान्य खोर बनाएर बाख्रापालन शुरू गरेका श्रीशको सोच अनुसार लगानी जुट्न सकेन । स्थानीय जातका बाख्रामा क्रस गर्दै बोयर बाख्राको स्रोतकेन्द्रसम्म आइपुगेका उनी अहिले बाख्रापालनबाटै करोडपति भएका छन् । ‘मेरो गोठमा अहिले भएका बोयर जातका बोका डेढ लाख रुपैयाँभन्दा बढी मूल्यका छन्,’ उनले भने । उनले गतवर्ष ३५ लाख रुपैयाँ बराबरको बोका विक्री गरेकोमा यस वर्ष करीब ५० लाखको विक्री गर्ने लक्ष्य राखेका छन् । ‘बोयर जातका बाख्राको विशेषता नै छिटो बढ्नु हो,’ उनले भने, ‘यसबाट राम्रो फाइदा लिन सकिन्छ ।’ नेपाल व्यावसायिक बाख्रापालक महासंघको केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक समेत रहेका श्रीशले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई तालीमसहित आवश्यक सहयोग गर्ने गरेका छन् । १ वर्षमा बोयर जातका १०० भन्दा बढी बाख्रा पुर्‍याउने र ५ वर्षभित्र वार्षिक करोडको आम्दानी गर्ने लक्ष्यसहित उनले फार्मलाई अघि बढाएका छन् । उनको फार्म अवलोकनका लागि नेपालका विभिन्न स्थानबाट संघसंस्था र किसानहरू आउने गरेका छन् ।

गाईपालन र छुर्पी उद्योगबाट मासिक डेढ लाख आम्दानी

भदौ २९, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ मारेकका कमल अधिकारीले १५ लाख रुपैयाँको लागतमा गाउँमै गाईपालनसँगै छुर्पी उद्योग व्यावसायबाट राम्रो आम्दानी गरिरहेका छन् । शुरुमा केही गाईबाट व्यवसाय शुरु गरेका अधिकारीले नमूना गाईफार्म दर्ता गरेर डेरी उद्योग नै सञ्चालन गरिरहेका छन् ।  विसं २०७४ देखि नै डेरी उद्योग व्यवसाय सञ्चालन गरेका अधिकारीले शुरुमा आफ्नै फर्ममा उत्पादित ६० लिटर दूधबाट व्यवसाय शुरु गरेका थिए । करीब डेढ वर्ष आफ्नै फर्ममा उत्पादित दूधबाट मात्रै उद्योग सञ्चालन गरेका अधिकारीले अहिले आफ्नो गोठ र गाउँका कृषकको गरी दैनिक एक हजार २०० लिटर दूध प्रशोधन गर्ने गरेको बताए ।  उत्पादित छुर्पीलाई बजारको कुनै समस्या छैन । यहाँ उत्पादन भएको छुर्पी, घ्यू धनकुटा लगायत पूर्वी तराईका जिल्ला सहित भारत, कोरिया, अमेरिका लयातका मुलुकमा निर्यात हुने गरेको छ । छुर्पी खरीदका लागि व्यापारीहरू उद्योगसम्मै आउने गरेका छन् । उद्योगबाटै छुर्पी प्रतिकिलो ८०० रुपैयाँ र घ्यू प्रतिकिलो ५०० रुपैयाँमा विक्री हुने गरेको छ । ४ वर्षदेखि व्यवसाय सञ्चालन गरिरहेका अधिकारी गाउँमै मनग्य आम्दानी गर्न सफल भएका छन् । गाईपालन र डेरी उद्योगमा मासिक १५ लाख दूध अन्य किसानको खरीद गर्ने बताउने अधिकारीले मासिक ३ लाख आम्दानी गरेको भएपनि खर्च कटाएर मासिक एक लाख ५० हजार रुपैयाँसम्म बचत गर्ने गरेको बताए ।  हुन त युरोपका बजारमा छुर्पीको माग बढेपछि पूर्वी नेपालको पहाडी जिल्लामा दुग्ध प्रशोधन उद्योग खुल्ने क्रम निकै बढेको छ। तरपनि अधिकारीले गाईको दूधबाट बनाइने छुर्पीको माग धान्न नसकेको बताउँछन् । अधिकारीले आफ्नो उद्योगमा दूधका अन्य परिकार समेत बनाइरहेका छन् । यसरी भयो उद्योग स्थापना गाउँका किसानले उत्पादन गरेको दूध विक्री नभएपछि गाउँलेको समेत दूध खरीद गरेर छुर्पी उद्योग सञ्चालन गरेको अधिकारीले बताउँछन् । शुरुमा सुनसरीको एक सहकारीले गाउँमा आएर किसानहरुसँग वार्षिक कति दूध विक्री गर्ने भनेर सम्झौता गरेको र पछि दूध धेरै भएको सो सहकारीले नलिएपछि आफैं उद्योग स्थापना गरेको अधिकारीले बताए । उद्योग स्थापनाका शुरुका दिनमा काम नजानेर धेरै सामान खेर गएको अधिकारीको भनाइ छ ।  डेढ वर्षसम्म आफूलाई दुग्ध परिकार बनाउन सिक्नै लागेको अब केही जान्दछु भनेर अन्य किसानको दूध संकलन गर्न थालेको अधिकारीले बताए । उनले छुर्पी उद्योगसँगै आफ्नै गाई फर्ममा देनिक १७० लिटर दूध उत्पादन गर्दै आएका छन् ।   किसानलाई सहज गाउँमै छुर्पी उद्योग स्थापनासँगै महालक्ष्मी १ का किसानले उत्पादन गरेको दूधले बजार पाउन निकै सहज भएको छ । दुग्ध विकास संस्थान र कामधेनु सहकारी सुनसरीले आफूलाई आवश्यक पर्दा मात्रै दूध लाने गरेको बताउने किसानहरु गाउँमै स्थापना भएको उद्योगले दूध खरीद गर्न थालेपछि खुशी भएका छन् । उद्योगले दूध खरीद गर्न थालेपछि आम्दानीको मुख्य स्रोतको रुपमा पशुपालन रोज्न शुरु गरेका छन् ।  यहाँका किसानले दैनिक कम्तिमा १५ लिटर दूध उत्पादन गर्न थालेका छन् । भनेको बेला विक्री नभएको दूध सहज रुपमा विक्री हुन थालेपछि किसानलाई राहत मिलेको स्थानीय राजेन्द्र थापाले जानकारी दिए । उद्योगले गाईको दूध प्रतिलिटर ३५ र भैँसीको ४५ रुपैयाँमा खरीद गरिरहेको छ । गाउँमै छुर्पी उद्योग सञ्चालनमा आएपछि दूधको खपत पनि बढेको किसानको भनाइ छ ।

कृषिलाई पर्यटनमा जोड्न माडीमा ‘फार्म स्टे’ सञ्चालनको तयारी

साउन १०, चितवन । कृषिलाई पर्यटनमा जोड्ने उद्देश्यसहित माडीमा फार्म स्टे सञ्चालनको तयारी गरिएको छ ।  स्थानीय पिछडिएका समुदायलाई लक्षित गर्दै उनीहरुलाई आयआर्जनमा जोड्न सहयोग पुगोस् भन्ने हेतुले पनि माडीमा फार्म स्टे सञ्चालनमा ल्याउन लागिएको हो  ।  चक्लाबन्दीमा आधारित सामूहिक खेती गरिदैं आएको माडी नगरपालिका वडा नम्बर ८ कान्तिपुरमा सूर्योदय कृषि सहकारी संस्था मार्फत खेती गरिएको सो ठाउँमा फार्मस्टे घरहरु सञ्चालनमा ल्याउन लागिएको हो  ।  संस्थाले कुल १०० घरमा फार्मस्टे घरहरु बनाउने लक्ष्य लिएपनि हाल ४६ ओटा घर परिवारलाई पक्की घर बनाएर त्यही फार्मस्टे सञ्चालन गर्न लागिएको छ ।  प्रदेश सरकारको रू. तीन लाख, माडी नगरपालिकाको डेढ लाख र स्थानीय जनताको चार लाख ५० हजार गरी रू नौ लाखको लागतमा घरहरु बनेका हुन् । दुईओटा बेड रूम, एक लिभिङ रूम, एक किचन र दुईओटा एट्याच्ड ट्वाइलेट बाथरूम छन् ।  कृषि सहकारी संस्थाका प्रबन्धक शिवजी गायकले ४६ ओटा फार्म स्टे घरहरु तयार भएर हस्तान्तरण गरिसकिएको र दशैंबाट सञ्चालनमा ल्याइने जानकारी दिए । हाल सञ्चालनमा ल्याउन सकिएपनि कोभिडका कारण केही समय पछि सञ्चालनमा ल्याइने उनको भनाइ छ ।  १०० विघा क्षेत्रफल रहेको त्यो स्थानमा खेतीको बीचबीचमा घर बनाइएको छ  । माडीलाई कृषि पर्यटनको नमूना नगरपालिका बनाउनको लागि फार्मस्टे सञ्चालनमा ल्याउन लागिएको उनले बताए । ‘यहाँ २० ओटा माछा पोखरी, पशुपालन फार्म, लोकल कुखुरा फार्म रहनुका साथै अर्गानिक कृषि उपज उत्पादन गरिनेछ । रिसोर्टहरुमा होटल, पार्क, स्वीमीङ पुल इत्यादि हुन्छन, गायकले भने, फार्म स्टेमा पाहुन आउँछन् फार्मस्टेमा बस्छन कृषि कर्म हेर्छन् ।’  माडीमा ‘फार्मस्टे’ घरहरु कान्तिपुर गाउँको मूलबाटोनजिकै होमस्टेसमेत सञ्चालन गर्न मिल्ने गरी घरहरु बनाइएको छ । विशेष गरी पिछडिएको समुदायको लागि आयस्तर उकास्न र आत्मनिर्भर बनाउन यो योजना अघि सारिएको हो ।  स्थानीय डिलबहादुर गन्धर्वले यी घरमा होमस्टे सञ्चालन गरेपछि आफ्नो संस्कृतिको संरक्षण पनि हुने र आय आर्जनसमेत गर्न सकिने बताए । जसअनुसार फार्म स्टेमा विभिन्न समुदायका संस्कृति झल्कने गीत, संगीत तथा नाचगान गरी पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।  यसअघि आ–आफ्ना जमिनमा परम्परा र निर्वाहमुखी खेती गर्दा घाटा ब्यहोर्दै आएको भन्दै गन्धर्वले फार्मस्टे सञ्चालनमा आएपछि आफूहरु दिगो आर्थिक उपार्जन गर्न सकिने आशा रहेको बताए ।  वाग्मती प्रदेश सरकारले गन्धर्व समुदायका लागि एकीकृत नमूना बस्ती निर्माण गरेको छ । साथै उनीहरुको संस्कृति र भेषभूषाको संरक्षणका लागि गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रसमेत निर्माण गरिएको छ । रू. ५० लाखको लागतमा गन्धर्व संग्रहालय भवन निर्माण गरेको हो । सो भवनमा २५० जना अट्ने क्षमता छ । गन्धर्व संग्रहालय तथा सांस्कृतिक केन्द्रमा गन्धर्व समुदायको भेषभूषा, बाजागाजा, कृषि उपजहरुको प्रदर्शनी तथा विक्री केन्द्र स्थापना गरिने सहकारीका प्रबन्धक गायकले बताए । सामूहिक खेती गरिएको ठाउँमा कृषि क्षेत्रलाई पर्यटनसँग जोड्दै विविध पक्षको अध्ययन गर्ने केन्द्रको रुपमा विकास गर्नको लागि सो गाउँमा विभिन्न संरचनाहरु निर्माण भएको प्रबन्धक गायकले जानकारी दिए । संस्थाले त्यहाँका ८६ घर परिवारको जग्गा एकीकृत गरी सामूहिक खेती गरेको छ । सामूहिक खेतीका लागि १०० बिगाहा जमिन एकीकृत गरिएको छ । यहाँ तीन कट्ठादेखि चार बिगाहसम्म जमिन भएकाहरु अहिले एउटै संस्थामा आवद्ध भएका छन् । सूर्योदय कृषि सहकारी संस्थामार्फत् किसानको जमिनलाई चक्लाबन्दी गरिएको हो । कान्तिपुर क्षेत्रको करीब १०० बिगाह खेतीयोग्य जमिनलाई चक्लाबन्दी गर्ने लक्ष्य राखिएकोमा ७० बिगाहभन्दा बढी जमिनलाई एउटै प्लटमा रुपान्तरण गरिएको छ । क्रमश यस क्षेत्रमा ड्रयागन फ्रुट, सूर्यमुखी, तोरीलगायतको खेतीमार्फत् पर्यटकलाई आकर्षण गराउने लक्ष्य राखिएको  छ । एकै ठाउँबाट सबै खेतीको अवलोकन गर्न मिल्ने गरी भ्यू टावर निर्माण गर्ने तयारी पनि सहकारीको छ । सहकारीका अध्यक्ष इन्द्रबहादुर पौडेलले कृषि पर्यटनका लागि माडीमा फार्मस्टे उपयोगी र प्रभावकारी हुँदै गएको  बताए । चितवनको दुर्गम क्षेत्रको रुपमा माडी लाई चिनिएपनि नजिकै रहेको राष्ट्रिय निकुञ्ज र उर्बर भूमि भएका कारण कृषि पर्यटनको आकर्षक गन्तव्य हुने पौडेलको भनाइ छ । आगामी दिनमा संस्थाले थप पर्यटन प्रवर्द्धनका कामहरु अघि बढाउंँदै लगिने उनले जानकारी दिए ।

उत्पादनमा आधारित अनुदानले लाभान्वित हुँदै किसान

सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसानले लाभ लिन थालेका छन् । जिल्लामै पहिलो पटक किसानलाई प्रोत्साहन गर्दै उत्पादनको आधारमा अनुदान दिन थालेपछि उनीहरू उत्साहित भएका हुन् । गण्डकी बहुउद्देश्यीय कृर्षि फार्मका सञ्चालक अर्जुनकुमार श्रेष्ठ गाउँपालिकाले सञ्चालन गरेको उत्पादनमा आधारित अनुदान कार्यक्रम किसानका लागि लोकप्रिय भएको बताउँछन् । ‘अनुदान वास्तविक किसानले पाउने भएकाले यसलाई निरन्तरता दिनुपर्छ’, उनले भने । करिब ७ सय लेयर्स कुखुरापालन गर्दै आएका उनले गत वर्ष मात्रै झन्डै डेढ लाख अन्डा उत्पादन गरेका थिए । गाउँपालिकाको नीतिअनुसार दूध उत्पादक किसानले जति लिटर दूध उत्पादन गर्छन्, पालिकाले प्रतिलिटर ५ रुपैयाँका दरले अनुदान दिन्छ । यस्तै, खसीबोका उत्पादन गर्ने किसानलाई प्रतिखसीबोकाको ५ सय रुपैयाँ र अन्डा उत्पादनतर्फ प्रतिगोटाको ५० पैसाका दरले अनुदान दिँदै आएको छ । गत वर्षदेखि नै यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाको पशु सेवा शाखा प्रमुख वसन्त रावतले यो वर्ष किसानको उत्पादन, पालिकाको अनुदान कार्यक्रमका लागि ६ लाख रुपैयाँ छुट्याइएको बताए । यो वर्षको अनुदान प्रदान गर्न अहिले व्यावसायिक कृषिमा संलग्न किसानको विवरण संकलन भइरहेको उनले जानकारी दिए । गत वर्ष मात्रै किसानको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रमअन्तर्गत ८२ जना कृषकको उत्पादनमा ५ लाख ६२ हजार ५७ रुपैयाँ अनुदान दिइएको थियो । अनुदान प्राप्त गर्न वार्षिक ५ वटा खसीबोका आफैंले गरेर बिक्री गरेको हुनुपर्ने उल्लेख गरिएको छ । यस्तै, दूध उत्पादन गर्ने किसानले दुधालु २ वटा गाई वा भैंसी पालेको र मासिक २ सय लिटर दूध बिक्री गरेको हुनुपर्ने प्रावधान छ । यस्तै, मासिक २ हजार अन्डा उत्पादन गरेको हुनुपर्ने प्रावधान राखिएको छ । किसानको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाइ उत्पादनको अनुदान प्रदान गर्ने प्रोत्साहन गर्ने, रोजगारी प्रदान गर्ने र जीवनस्तरमा सुधार ल्याउने उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष मानबहादुर डाँगीले कार्यक्रमले पशुपालन व्यवसायमा युवा पुस्ताको आकर्षण बढेको बताए । उत्पादनका आधारमा अनुदान दिँदा साना किसान लाभान्वित हुने भएकाले यस्तो नीति लिइएको उनको भनाइ छ । आगामी वर्षको नीति, कार्यक्रम र बजेटमा यो कार्यक्रमलाई निरन्तरता दिइने उनले जानकारी दिए ।

पशुपालनबाट मासिक डेढ लाख आम्दानी

वालिङ । यहाँका एक युवाले व्यावसायिकरूपमा नमूना पशुपालन व्यवसाय गर्दै आएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–१२ पनियारेमा झण्डै १५० रोपनी क्षेत्रफलमा ३६ वर्षीय पीताम्बर डुम्रेले व्यावसायिकरूपमा पशुपालन गर्दै आएका हुन् ।      झण्डै ...