खाडीबाट रित्तो हात, गाउँमा बाख्रापालनबाट आकर्षक आम्दानी

म्याग्दी । विदेश गएर मनग्गे कमाएका युवाहरू म्याग्दीमा धेरै छन् । रित्तै हात फर्केर गाउँमै व्यवसायको थालनी गरेकाहरू पनि कम छैनन् । विदेशबाट ऋण बोकेर गाउँ फर्किएका यहाँका केही युवाले भने नपत्याउँदो प्रगति गरेका छन् । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीश यस्तै प्रनिनिधि पात्र हुन्, जसले आफ्नै गाउँठाउँमा उद्यम व्यवसाय गरेर आकर्षक आम्दानी गरिरहेका छन् । भकिम्लीका श्रीशको बाख्राफार्ममा साढे ३ लाख मूल्य पर्ने बोयर जातको बोका छ । दुईओटा गोठमा रहेका बाख्रा र पाठापाठीको बजार मूल्य करीब १ करोड रुपैयाँभन्दा बढी रहेको उनी बताउँछन् । उनको ‘श्रीश पशुपालन तथा बहुउद्देश्यीय कृषिफार्म’मा सबै बाख्रा बोयर जातका छन् । एक दशकअगाडि खाडीबाट फर्किंदा उनको साथमा केही थिएन । विदेशको धनले उँभो लाग्न नसकेपछि उनले गाउँ फर्किएर बाख्रापालन थालेका थिए । बाख्रापालनकै लागि उनले जग्गा धितो राखेर २०६८ सालमा एउटा बोयर बाख्रा खरीद गरे । सामान्य खोर बनाएर बाख्रापालन शुरू गरेका श्रीशको सोच अनुसार लगानी जुट्न सकेन । स्थानीय जातका बाख्रामा क्रस गर्दै बोयर बाख्राको स्रोतकेन्द्रसम्म आइपुगेका उनी अहिले बाख्रापालनबाटै करोडपति भएका छन् । ‘मेरो गोठमा अहिले भएका बोयर जातका बोका डेढ लाख रुपैयाँभन्दा बढी मूल्यका छन्,’ उनले भने । उनले गतवर्ष ३५ लाख रुपैयाँ बराबरको बोका विक्री गरेकोमा यस वर्ष करीब ५० लाखको विक्री गर्ने लक्ष्य राखेका छन् । ‘बोयर जातका बाख्राको विशेषता नै छिटो बढ्नु हो,’ उनले भने, ‘यसबाट राम्रो फाइदा लिन सकिन्छ ।’ नेपाल व्यावसायिक बाख्रापालक महासंघको केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश संयोजक समेत रहेका श्रीशले बाख्रापालन गर्न इच्छुक किसान तथा व्यवसायीलाई तालीमसहित आवश्यक सहयोग गर्ने गरेका छन् । १ वर्षमा बोयर जातका १०० भन्दा बढी बाख्रा पुर्‍याउने र ५ वर्षभित्र वार्षिक करोडको आम्दानी गर्ने लक्ष्यसहित उनले फार्मलाई अघि बढाएका छन् । उनको फार्म अवलोकनका लागि नेपालका विभिन्न स्थानबाट संघसंस्था र किसानहरू आउने गरेका छन् ।