काठमाडौं । मुलुकका उद्योगी व्यवसायीको सबैभन्दा ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी माहोल बढेको छ । यही चैत २८ र २९ गते हुने उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारणसभाबाट निर्वाचित हुने ६४ पदका लागि ११९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन समितिका अनुसार एक वरिष्ठ उपाध्यक्षका लागि तीन जना, तीन उपाध्यक्षका लागि आठजना र ६० सदस्यका लागि १०८ जनाको उम्मेदवारी परेको छ । महासंघको चुनावमा सबैभन्दा बढी चासोका साथ हेरिएको वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्ष पछिल्लो कार्यकालमा स्वतः अध्यक्ष हुने प्रावधानका कारण पनि यो पदप्रति आकर्षण बढेको देखिन्छ । महासंघको इतिहासमा तीनओटा चुनावी प्यानल बनेको यो पहिलो पटक हो ।
वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बनेका तीनैजनाले आआफ्नो प्यानल बनाएका छन् । त्यसैले आगामी निर्वाचनमा तीनओटा प्यानलबीच प्रतिस्पर्धा हुनेछ । वर्तमान उपाध्यक्षसमेत रहेका रामचन्द्र संघईले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण वैद्य, वस्तुगत उपाध्यक्षमा सुकुन्तलाल हिराचन र एसोसिएट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठलाई उम्मेदवार बनाएका छन् ।
त्यस्तै पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा अहिले पनि यही पदमा रहेका दिनेश श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाललाई उम्मेदवार बनाएका छन् । वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठले आफ्नो समूहबाट जिल्लानगर उपाध्यक्षमा अरुण सुमार्गी र वस्तुगत उपाध्यक्षमा मनीषलाल प्रधानलाई उम्मेदवार बनाएका छन् । उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठ दुवैको समूहबाट एसोसिएट उपाध्यक्षमा भरतराज आचार्य उम्मेदवार रहेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रावधानअनुसार साधारणसभासम्म वर्तमान अध्यक्ष शेखर गोल्छाको कार्यकाल रहनेछ ।
साधारणसभापछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन व्यवस्था रहेको छ, जसअनुसार महासंघको अबको अध्यक्ष चन्द्र ढकाल हुनेछन् । यी दुवै जना हालसम्म पनि कुनै उम्मेदवारको पक्षमा खुलेका छैनन् । सोहीकारण पनि महासंघको निर्वाचनप्रति चासो बढेको छ ।