वीरगञ्ज । सरकारले आलु र प्याजमा आत्मनिर्भर हुने भन्दै भन्सारमा लिइने राजस्व बढाएपछि अवैध आयात बढेको छ । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को बजेटमार्फत आलु र प्याजमा १३ प्रतिशत मूल्य अभिवृद्धिकर (भ्याट) असुल्ने नीति लिएपछि प्याजको वैध आयात ठप्प भएको व्यवसायीले बताएका छन् । आलुको आपूर्ति भने आन्तरिक उत्पादनले धानेको छ ।
आलु प्याज आयातमा सरकारले ९ प्रतिशत भन्सार महशुल र १ दशमलव ५ प्रतिशत अग्रिम आयकर पनि लिन्छ । वीरगञ्जमा आलु र प्याजका आयातकर्ताले मंगलवार पत्रकार सम्मेलन गरी सरकारी नीतिले प्याजको अवैध आयात बढाएको बताए । आलुको आपूर्ति स्वदेशी उत्पादनबाटै भइरहे पनि प्याज अवैध रूपमा भित्रिइरहेको व्यवसायी राजेशकुमार कलवारले दाबी गरे ।
भन्सारमा लिने राजस्वभन्दा अवैध आयातको खर्च कम पर्ने भएपछि सीमावर्ती क्षेत्रमा त्यस्ता वस्तुको अनधिकृत आयात मौलाउने गर्छ । वैध तरिकाले आयात गर्दा भन्सार, भ्याट र आयकर गरी २७ प्रतिशत जति पर्न जाने भएपछि अवैध आयात बढेको हो ।
भन्सारमा लिने राजस्वभन्दा अवैध आयातको खर्च कम पर्ने भएपछि सीमावर्ती क्षेत्रमा त्यस्ता वस्तुको अनधिकृत आयात मौलाउने गर्छ ।
अवैध आयातमा ढुवानीकर्ताले १० देखि १५ प्रतिशत खर्चमा भारतीय बजारबाट सीमावर्ती नेपालका बजारसम्म ढुवानी गरिदिने आयातकर्ता बताउँछन् । त्यसमाथि भारत सरकारले गत डिसेम्बरदेखि मार्चसम्मका लागि निर्यातमा प्रतिबन्ध लगाएपछि भन्सारबाट यसको आयात शून्य छ । भारतले मार्च ३१ पछि परिमाण तोकेर निर्यात प्रतिबन्ध हटाउने भएको छ । प्याजमा भ्याट नहटाएसम्म वैध आयात नहुने दाबी अर्का आयातकर्ता मुन्नाकुमार रायले गरे । सरकारकै नीतिका कारण सरकारी राजस्व मरिरहेको वीरगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष माधव राजपालले बताए ।
‘आत्मनिर्भर भइसकेको उत्पादनमा आयात नियन्त्रणको नीति ठीकै भए पनि आयातको भरमा आपूर्ति हुने वस्तुमा राजस्व बढाउँदा अनधिकृत आयात बढेको छ । यसले एकातिर सरकारको राजस्व गुमेको छ भने अर्कातिर वैध आयातमा लाग्ने व्यवसायी समस्यामा परेका छन्,’ उपाध्यक्ष राजपालले भने ।
प्याजको अधिकांश आपूर्ति आयातको भरमा चलेको छ । ४ लाख १ हजार टन वार्षिक खपत रहेकोमा १ लाख ६९ हजार टनमात्र उत्पादन हुने सरकारी आँकडा छ । अन्य परिमाण आयातको भरमा चलेको आयातकर्ता बताउँछन् । नेपालमा वर्षेनि करीब ३८ लाख टन आलु खपत हुनेमा ४ लाख टन अझै आयात हुने व्यवसायीहरू बताउँछन् । अहिले सीमावर्तीदेखि राजधानी काठमाडौंसम्म भारतबाट अवैध रूपमा भित्रिएको प्याज पुगिरहेको छ । नेपालका सीमावर्ती बजारमै प्याजको मूल्य भारतीय बजारको तुलनामा प्रतिकिलो १० रुपैयाँसम्म महँगो पर्ने व्यवसायी राकेशकुमार कलवार बताउँछन् ।
नेपालमा अवैध रूपमा भित्रिएको प्याज सीमावर्ती क्षेत्रबाट काठमाडौं, पोखरा, नारायणगढलगायत शहरमा पुर्याइने गरेको व्यवसायी बताउँछन् । अवैध कारोबारीले स्थानीय प्रहरी, प्रशासन र चुहावट नियन्त्रणका निकायलाई प्रभावमा पारेर यस्तो धन्धा चलाइहेको उनीहरूको दाबी छ ।
प्याजको अवैध आयात बढेको भेटिएपछि निगरानी बढाइएको राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत प्रेमप्रसाद देवकोटाले बताए । देवकोटाका अनुसार अनुसन्धान कार्यालयले फागुन २ गतेसम्मका यस्तो कारबाहीबाट २१ लाख २० हजार धरौटी र ७ लाख ६५ हजार रुपैयाँ भीसीटीएस जरीवाना तिराएको छ ।