आन्तरिक अर्थतन्त्रमा सुधार

पछिल्लो ५ महीनामध्ये फागुनमा आयात र निर्यात बढेको तथ्यांक भन्सार विभागले सार्वजनिक गर्‍यो । अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार आए पनि आन्तरिक अर्थतन्त्र सुस्त नै रहिरहेको सन्दर्भमा वैदेशिक व्यापार बढ्नु भनेको आन्तरिक अर्थतन्त्रमा केही सुधार आउनु हो भनेर बुझ्ने गरिन्छ । यस्तो वृद्धि कस्तो वस्तुको आयात बढेर भएको हो भन्ने कुराले निकै अर्थ राख्छ । मुलुकभित्रको माग र आपूर्तिको अवस्था हेर्दा सुधारोन्मुख छ भन्न नसकिए पनि वैदेशिक व्यापारमा देखिएको वृद्धि सानै भए पनि सकारात्मक मान्नुपर्ने हुन्छ । भन्सार विभागका अनुसार चालू आर्थिक वर्ष (आव) २०८०/८१ को फागुनमा १ खर्ब ३२ अर्ब २७ करोड रूपैयाँ बराबरको सामान आयात हुँदा १३ अर्ब ७८ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । चालू आवमा असोजपछि सबैभन्दा बढी आयातनिर्यात फागुनमा भएको हो । असोजमा १ खर्ब ४८ अर्ब रुपैयाँ बराबरको सामान आयात हुँदा १४ अर्ब ४२ करोड बराबरको निर्यात भएको थियो । माघको तुलनामा फागुनमा साढे २ अर्ब रुपैयाँले आयात बढ्दा निर्यात पनि त्यत्ति नै बढेको देखिन्छ । गत आवको फागुनसम्मको तुलनामा भने चालू आवमा आयात निर्यात दुवै घटेको छ । गत आवको ८ महीनामा १० खर्ब ५८ अर्ब रुपैयाँ बराबरको सामान आयात भएकोमा चालू आवको सोही अवधिमा २ दशमलव ६६ प्रतिशतले घटेको देखिन्छ । पछिल्लो ५ महीनाको अवधिमा फागुनमा बढी वैदेशिक व्यापार हुनुले माग बढेको हो कि भन्ने आधार देखिएको हो ।  तर, आयातको मूल्य बढेको देखिए पनि वस्तुको परिमाण भने नबढेको पनि हुन सक्छ । डलरमा मूल्य तिरेर आयात गरिएको सामानको नेपाली मूल्य बढेको देखिन्छ किनभने डलरको मूल्य बढेको छ । उदाहरणका लागि सुनलाई लिन सकिन्छ । सुनको मूल्य उच्च तहमा पुगेकाले फागुनमा यो १०औं सर्वाधिक रकमको आयात हुने वस्तुमा पुगेको हो भन्न सकिन्छ ।  नेपालमा प्रमुख आयात हुने वस्तुमा पहिलो, दोस्रो र तेस्रोमा क्रमश: पेट्रोल, डिजेल र एलपी ग्यास रहेका छन् । यद्यपि पेट्रोल र डिजेलको आयात घटिरहेको छ । नेपालमा बिजुली बढी भई निर्यात गर्नु परिरहेको सन्दर्भमा यसले पेट्रोल, डिजेल र एलपी ग्यासलाई विस्थापित गर्दै जानु सकारात्मक हो । अहिले विद्युतीय सवारीसाधनको आयात निकै बढेको छ । त्यसले गर्दा खनिज तेलको खपत घट्दो छ । केही मात्रामा सार्वजनिक यातायातका साधनसमेत विद्युतीय हुन थालेको छ जुन सकारात्मक छ । नेपालले सकेसम्म सार्वजनिक यातायातलाई विद्युतीय बनाउन आवश्यक छ । यसले एकातिर भाडा घट्दै जान्छ भने अर्कातिर बिजुलीको उपभोग बढ्दै जान्छ । केही अर्थशास्त्रीले भने विद्युतीय सवारीका कारण सरकारले राजस्व जुन परिमाणमा गुमाइरहेको छ त्यसको दाँजोमा विद्युतीय सवारीसाधन आयातबाट फाइदा नहुने विश्लेषण गरिरहेका छन् । विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा सरकारले एकातिर सवारीसाधनबाट प्राप्त गर्ने राजस्व गुमाएको छ भने अर्कातिर पेट्रोल–डिजेलबाट प्राप्त हुने राजस्व पनि गुमाइरहेको छ । जे भए पनि बिजुलीको खपत बढाउन र कार्बन उत्सर्जन न्यून गर्न विद्युतीय सवारीसाधनको योगदान छ । सरकारले कतिबेला विद्युतीय सवारीमा लाग्ने करमा दिएको छूट फिर्ता लिने वा हेरफेर गर्ने हो पत्तो छैन । मुख्य आयात हुने अन्य वस्तुमा मोबाइल र सुनबाहेक औद्योगिक प्रयोजनका वस्तु बढी देखिन्छ । यसले अर्थतन्त्रमा केही सुधार हो कि भन्ने देखिन्छ । यद्यपि परिमाणको हिसाबले भने आशा जगाउने खालको देखिँदैन । मुलुकको आन्तरिक अर्थतन्त्र चलायमान बनाउन सरकारले प्रभावकारी नीति ल्याउन आवश्यक छ । तर, सरकारले मुखले जति नै प्रतिबद्धता व्यक्त गरे पनि प्रतिबद्धताअनुसारका काम भने चर्चा गर्नुपर्ने गरी गरेको देखिँदैन ।

सम्बन्धित सामग्री

आन्तरिक कारणले अर्थतन्त्रमा सुधार भएन : परिसंघ

४ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले बाह्य क्षेत्र राम्रो हुँदाहुँदै पनि अर्थतन्त्रमा अपेक्षित सुधार आउन नसक्नुमा आन्तरिक कारण प्रमुख रहेको बताएको छ । परिसंघको २१औं वार्षिक साधारणसभाका अवसरमा मंगलबार राजधानीमा आयोजित कार्यक्रममा अध्यक्ष …

अर्थतन्त्रमा सुधार

कोरोना महामारीपछि नेपाली अर्थतन्त्र सन्तोषजनक छैन । महामारी सकिएपछि अर्थतन्त्र लयमा फर्केला भन्ने धेरैका अनुमानविपरीत आजको दिनसम्म अर्थतन्त्रका अधिकांश सूचक कमजोर छन् । वैदेशिक रोजगारीमा गएका नेपालीले पठाएको विप्रेषण वृद्धि हुन नसकेको भए अवस्था झनै खराब हुनेमा शंका छैन । अर्थतन्त्र समस्यामा छ भन्ने कुरा प्रधानमन्त्री पुष्पकमल दाहालले पनि स्वीकार गर्नुभएको छ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र सुधारोन्मुख छ भनिरहँदा प्रधानमन्त्रीले अर्थतन्त्र समस्यामा रहेको र यसका लागि ‘माइनर अपरेशन’ ले काम नगर्ने बताउनुलाई समस्या स्वीकार गरेका रूपमा बुझ्न सकिन्छ ।  नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा देशको कार्यकारी तहमा रहेको व्यक्तिले यसरी अभिव्यक्ति दिएपछि सरकारका तर्फबाट कामचाहिँ के भइरहेको छ भनेर प्रश्न उठ्नु स्वाभाविक हो । नेपाली अर्थतन्त्र समस्यामा पर्नुका अनेक कारण छन् । केही अन्तरराष्ट्रिय घटनाक्रम पनि छन् । कोरोना महामारीपछि शुरू भएको रसिया–युक्रेन द्वन्द्वले केही अप्ठ्यारो बनाएको पक्कै हो । तर, नेपाली अर्थतन्त्र सुधारका लागि सबभन्दा बढी भूमिका आन्तरिक अस्तव्यस्त नै हो । सरकारले गर्नसक्ने थुप्रै ठाउँ र सम्भावना छन् ।  सरकार अलिकति गम्भीर रूपमा काम गर्ने नियतका साथ अघि बढ्ने हो भने अर्थतन्त्र सुधार गर्न कुनै अपरेशन चाहिँदैन । अहिले इमानदारीपूर्वक काम गरे मात्र पुग्छ ।  अहिलेको अर्थतन्त्र ‘माइनर अपरेशन’ ले सुधार हुँदैन भन्ने हेक्का भएका प्रधानमन्त्रीलाई समस्या कहाँनेर छ भनेर थाहा छैन भन्ने कुरा अनुमान गर्न सकिँदैन । तर, यदि थाहा भएको हो भने किन काम भइरहेको छैन भन्ने कुराचाहिँ महत्त्वपूर्ण छ । विगतमा जस्तो अहिले सरकार टिकाउन त्यति समय दिनुपर्ने बाध्यता छैन । सरकार टिकाउनकै लागि दौडधुप भइरहेको छ भने पनि कसै न कसैले त्यसलाई तोड्नैपर्छ । वर्तमान प्रधानमन्त्री दाहालको राजनीतिमा प्रवेशको कारण सत्ता टिकाउनुभन्दा पनि सुधार मुख्य हो भन्ने कुरा नेपाली जनताले सुनेका हुन् । तर, अहिले सुधारको ठाउँमा पुगेको बेला पुन: ‘माइनर अपरेशन’ ले अर्थतन्त्र सुधार हुँदैन भन्नुको अर्थ पुन: जनतालाई छक्याउने अर्को प्रयास हो । बजारमा कर्जा लगानी किन भएन ?, नेपालमा के कारणले वैदेशिक लगानी आएन ?, किन पूँजीगत खर्च हुन सकेन ?, के कारणले चालू खर्च बढिरहेको छ ?, उपलब्धिविनाका विदेशी कार्यक्रममा गएर राज्यकोषको दोहन कसले गर्दैछ ?, कहिले कर्मचारी, कहिले शिक्षक, कहिले किसानको आन्दोलन किन  हुँदैछ ?, काम गर्ने उमेरका युवाशक्ति विदेश पस्न कसले उत्प्रेरित गरिरहेको छ ?, दशैं, तिहारको मुखमा सर्वसाधारणलाई दुई केजी चिनी पाउन सहज छैन । यस्ता कुराको दायित्व कसको हुन्छ ? यी सबैमा सरकारको भूमिका छ र हुन्छ भन्नेमा कसैको दुईमत हुँदैन । यस्तो वास्तविकताका अघिल्तिर प्रधानमन्त्रीले पनि उम्किने कुरा गर्ने हो भने अर्थतन्त्र सुधारको काम कसले गर्ने ? प्रधानमन्त्रीले भनेजस्तै ‘मेजर अपरेशन’ कसले गरिदिने ? त्यसैले अहिलेको समयमा प्रधानमन्त्रीले अर्थहीन कुरा गरेर हिँड्नुभन्दा काम गर्नुपर्छ । समस्याका चाङमाथि बसेकाले सबै काम एकैचोटि हुन सक्दैनन् भने कुन काम पहिला गर्ने र कुन पछि गर्ने भन्नेबारे कार्य योजना बनाएर अघि बढ्नुपर्छ । मेरो कार्यकाल त २ वर्ष हो त्यसपछि अर्कै व्यक्ति प्रधानमन्त्री हुन्छ भनेर ठान्ने र अर्थतन्त्र सुधारका लागि अर्ती उपदेश दिँदै हिँड्ने हो भने यो केवल समयको बर्बादी मात्र हो ।  उदाहरणका लागि यो वर्ष लक्ष्यअनुसार पूँजीगत बजेट खर्च गर्ने र खर्च हुन नसके सम्बन्धितलाई जिम्मेवारी बनाउने वा कारबाही गर्ने व्यवस्था मिलाउन सक्ने हो भने पनि सुधारको शुरुआत त्यहीबाट हुन्छ । संविधानले आर्थिक वर्ष शुरू हुनुभन्दा साढे १ महीनाअघि नै बजेट ल्याउने व्यवस्था गरेको छ । सोहीअनुसार बजेट पनि आउने गर्छ । तर खर्च हुँदैन । यसको दोष कानून त होइन नि । कार्यान्वयनमा लैजाने सरकारले यसको जिम्मा लिन पर्ने कि नपर्ने ? त्यसैले सरकार अलिकति गम्भीर रूपमा काम गर्ने नियतका साथ अघि बढ्ने हो भने अर्थतन्त्र सुधार गर्न कुनै अपरेशन चाहिँदैन । अहिले इमानदारीपूर्वक काम गरे मात्र पुग्छ ।

आन्तरिक ऋणको प्रयोजन

सरकारले विकास निर्माणका लागि आन्तरिक र बाह्य ऋण लिने गरेको छ । यसका लागि बजेटको लक्ष्यअनुसार कार्यतालिका बनाइएको हुन्छ र त्यसैअनुसार ट्रेजरी बिल लगायतका उपकरणबाट आन्तरिक ऋण उठाइरहेको छ । तर, अहिले कार्यतालिका मिचेर निर्धारित समयभन्दा अगावै लक्ष्यभन्दा बढी ऋण उठाउन थालेको छ । यसरी कार्यतालिका नै हेरफेर गरी आन्तरिक उठाउनुपर्ने अवस्था किन आयो त ? यसको स्पष्ट जवाफ सरकारले दिएको छैन ।  नेपालको सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको झन्डै ४३ प्रतिशत पुगेको छ । यो ऋणको अंश धेरै होइन किनभने अन्तरराष्ट्रिय मुद्रा कोषका अनुसार कुल गार्हस्थ्य उत्पादनको तुलनामा सार्वजनिक ऋण जापानको २१४, सिंगापुरको १३५ र अमेरिकाको ११० प्रतिशतसम्म रहेको छ । विकसित देशहरूले यस्तो ऋण पचाउन सक्छन् । उनीहरूले यस्तो ऋणको उच्चतम परिचालन गरेका हुन्छन् । नेपालको सन्दर्भमा पनि कुल गार्हस्थ्य उत्पादनको अनुपातमा सार्वजनिक ऋण धेरै होइन तर यसको प्रयोग उत्पादनमूलक क्षेत्रमा हुन्छ कि हुँदैन भन्ने चिन्ता हो । हुन त ५० को दशकमा नेपालको सार्वजनिक ऋण ५०/५२ प्रतिशत पुगेको देखिन्छ । त्यति बेला पनि अर्थतन्त्र समस्यामा थियो र सरकारी बैंकहरूलाई सुधार्न ठूलो रकम चाहिएको थियो । यसरी लिएको ऋण अर्थतन्त्र सुधार्नमा खर्च भएको थियो । तर, अहिले लिएको ऋण त्यस्तो कार्यमा खर्च नहुने सम्भावना बढी देखिन्छ । अहिले लिएको ऋण उत्पादनमूलक क्षेत्रमा प्रयोग नहुने तर तलबभत्ता आदिमा खर्च हुने देखिएकाले यस्तो ऋण भोलिका दिनमा निकै ठूलो समस्या हुन सक्छ । नेपालले अहिलेको भन्दा निकै बढी ऋण लिन सक्ने सामथ्र्य राख्छ तर त्यो ऋण कहाँ र कसरी प्रयोग हुन्छ भन्ने कुराले धेरै अर्थ राख्छ । अहिले सरकारले ठूलो परिमाणमा सार्वजनिक ऋण उठाउनुको कारण विदेशी ऋण तिर्नका लागि भएको आशंका छ । ऋण लिएको रकमले कमाएर ऋण तिर्नुपर्नेमा उल्टै ऋण तिर्नेका लागि ऋण लिन लागिएको देखिएको छ । सरकारले यो पुष्टि गरेको त छैन तर केही विदेशी ऋण यही समयमा परिपक्व भएकाले त्यसैका लागि कार्यतालिका मिचेर ऋण उठाएको अनुमान गर्न सकिन्छ । यसरी ऋण लिएर ऋण तिर्ने हो भने मुलुकको अर्थतन्त्र कुनै पनि बेला समस्याको खाडलमा जाकिन सक्छ ।  सरकारले जथाभावी ऋण लिनभन्दा आफ्नो खर्च घटाउन आवश्यक छ । तर, सरकारी कर्मचारीले विदेश भ्रमणमै ठूलो रकम खर्च गरेका छन् । खर्च घटाउने अन्य उपाय पनि छन् । त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ ।  अर्को, अहिले बैंकहरूमा तरलता थुप्रिएकाले तुलानात्मक रूपमा केही सस्तो ब्याजदरमा सरकारले ऋण उठाउन पाएको छ । यो दीर्घकालीन ऋण भएको सरकारको भनाइ छ । त्यसको अर्थ यो रकम सरकारी ढुकुटीमा जम्मा गरेर राख्नु हो भन्ने देखिन्छ । यसरी ऋण लिएर ढुकुटीमा रकम थुपार्ने हो भने अर्थतन्त्रका लागि यो झनै ठूलो खतरा हुने देखिन्छ । त्यसैले ऋणको प्रयोजन सरकारले स्पष्ट पार्नु जरुरी छ । सरकारले अहिले बजारबाट ७२ अर्ब ३१ करोड आन्तरिक ऋण उठाएको छ । यसो भन्नुको अर्थ बैंकहरूसँग यति रुपैयाँ बराबरको लगानीयोग्य रकम कम हुनु हो । अहिले ऋणको माग नभएकाले तत्कालका लागि यसले खासै फरक नपार्ला तर यसले ब्याजदर घट्न दिँदैन किनभने बैंकहरूको तरलतामा यसले दबाब सृजना गर्छ । सरकारले जथाभावी ऋण लिनभन्दा आफ्नो खर्च घटाउन आवश्यक छ । तर, सरकारी कर्मचारीले विदेश भ्रमणमै ठूलो रकम खर्च गरेका छन् । खर्च घटाउने अन्य उपाय पनि छन् । उदाहरणका लागि सामान्य मुद्दामा पनि जेल खेपिरहेका कैदीबन्दीलाई रिहा गर्ने हो भने पनि केही रकम बचाउन सकिन्छ । खर्च घटाउने यस्ता अन्य थुप्रै क्षेत्र छन् । त्यसतर्फ सरकारको ध्यान जानु आवश्यक छ । खासमा अर्थतन्त्रको अहिलेको संकटप्रति अर्थमन्त्री स्वयं गम्भीर र जिम्मेवार देखिइरहेका छैनन् । अर्थतन्त्रमा सुधार आइरहेको छ भन्ने उनको भनाइ आत्मरतिबाहेक केही होइन भन्ने देखिँदै छ । यस्तो तरिकाले अर्थतन्त्र झन समस्यामा फस्न सक्छ । अत: सरकारले गम्भीर भएर अर्थतन्त्रका समस्या विश्लेषण गरी समाधानमा हिम्मतिलो पाइला चाल्न ढिला गर्नु हुँदैन ।

पालो आन्तरिक क्षेत्र सुधारको

चालु आर्थिक वर्षमा अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरिए पनि राष्ट्र बैंकले सुधारको सुरुवात नभएको तथ्यांक सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा जस्तै यो वर्ष पनि मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र क्रमश: मजबुत हुँदै गएको छ । तर, आन्तरिक क्षेत्र झनै खुम्चिँदै आएको छ । नेपाल राष्ट्र बैंकले आइतबार जारी गरेको चालू आर्थिक वर्षको साउनको मुलुकको […]

अर्थतन्त्रबारे सकारात्मक धारणा बन्‍न सकेन : अर्थमन्त्री महत

ललितपुर- अर्थमन्त्री डा प्रकाशशरण महतले पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको बताएका छन् । आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै ...

राजनीति र प्रशासन सुधारिएमात्रै आन्तरिक अर्थतन्त्रमा सुधार

नेपालको अर्थतन्त्र यो अवस्थामा आउनुमा राज्य संयन्त्रको काम गराइ जिम्मेवार छ ।

नेपालको आर्थिक वृद्घिदरमा सुधार आउने

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीको चपेटामा परेको मुलुकको अर्थतन्त्रसँगै आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । नेपालमा जारी कोभिड–१९ विरुद्घको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको र सन् २०२२ मा नेपालको आर्थिक वृद्घिदर ४ दशमलव १ प्रतिशतले वृद्धि हुने प्रक्षेपण एडीबीले गरेको हो । एएडीबीद्वारा बुधवार प्रकाशित ‘एशियन डेभलपमेण्ट आउटलुक २०२१’ मा वर्ष २०२१ मा २ दशमलव ३ प्रतिशतमा सीमित हुने आर्थिक वृद्घिदर अर्को वर्ष बढ्ने अनुमान गरिएको छ । तर, उक्त अनुमान यसअघि गरिएको प्रक्षेपणभन्दा न्यून हो । एडीबीले गत अप्रिलमा यो वर्ष ३ दशमलव १ प्रतिशत र २०२२ मा ५ दशमलव १ प्रतिशत आर्थिक वृद्घि प्राप्त हुने प्रक्षेपण गरेको थियो । सरकारले चालू आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्घि प्राप्त गर्ने लक्ष्य राखेको छ । ‘हाल चलिरहेको खोप अभियानले ठूलो मात्रामा सहयोग पुर्‍याउनेछ किनकि राष्ट्रिय खोप योजना नेपालको आर्थिक सुधारका लागि महत्त्वपूर्ण रहेको छ,’ एडीबीका नेपाल निर्देशक अरनौड काउचोइसले भने, ‘कोभिडको जोखिम न्यून हुँदै जानु र रोकथामका कडा उपायहरूका कारण २०२१ मा क्रमिक आर्थिक सुधार बढाउन सक्छ ।’ प्रतिवेदनअनुसार यस वर्ष प्रशस्त वर्षात् भएसँगै धान रोपाइँ बढेकाले नेपालको कृषिक्षेत्रमा वृद्घि हुने सम्भावना छ । उद्योग उत्पादन बढ्ने अपेक्षा गरिएको छ, निर्यातको मात्रामा ठूलो वृद्घि र संक्रमण दर घटाउन राष्ट्रिय खोप अभियानको भूमिका महत्त्वपूर्ण रहने बताइएको छ । स्वास्थ्य सेवा प्रणालीलाई सुदृढ बनाउन सरकारको वित्तीय नीति केन्द्रित रहेको, मौद्रिक नीतिमा पुनर्कर्जा सुविधा, प्राथमिकता परियोजनाहरू र प्रभावित व्यवसायहरूका लागि सहुलियत प्रदान गरिएकाले अर्थतन्त्रमा सुधार हुने एडीबीको प्रतिवेदनमा उल्लेख छ । थोक तथा खुद्रा व्यापार, ढुवानी र वित्तीय सेवाहरूका साथसाथै देशव्यापी आर्थिक गतिविधिहरू बढेकाले आर्थिक वृद्घिमा सहयोग पुग्ने औंल्याइएको छ । ‘ट्रेकिङ रूट र आरोहण खुलेसँगै विदेशी पर्यटक आवागमन बढ्न सक्छ, जुन २०२० मा ८० प्रतिशतले घट्न पुगेको थियो । यद्यपि, होटल, रेस्टुराँ, यात्रा र पर्यटन कोभिड–१९ महामाारीको पूर्वअवस्थामा फर्कन केही समय लाग्नेछ,’ प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा २०२२ मा मूल्य वृद्घि ५ दशमलव २ प्रतिशतसम्म बढ्ने प्रक्षेपण गरिएको छ, जुन २०२१ मा ३ दशमलव ६ प्रतिशत अनुमान गरिएको थियो । विश्वव्यापी तेलको उच्च मूल्य वृद्घि र आन्तरिक मागमा क्रमिक सुधारका कारण मूल्य वृद्घि बढ्न सक्ने अनुमान छ । कोरोना कालमै विप्रेषण आप्रवाहमा खासै प्रभाव नपरेको तथा विदेशी मुद्राको सञ्चितिमा दबाब सृजना हुने खतरा नभएको एडीबीले आप्mनो प्रतिवेदनमा उल्लेख गरेको छ । यस वर्ष चालू खाता घाटा कुल गार्हस्थ्य उत्पादनको ६ प्रतिशतमा सीमित हुने अनुमान गरेको छ । गएको वर्ष यस्तो घाटा ८ प्रतिशत थियो । एडीबीले सन् २०२१ मा एशियाको आर्थिक वृद्घिदर ७ दशमलव १ प्रतिशत कायम हुने अनुमान गरेको छ । यसअघि ७ दशमलव ३ प्रतिशत हुने प्रक्षेपण गरेको थियो । २०२१ शुरू भएपछि फेरि कोरोना भाइरसको संक्रमण यो क्षेत्रमा बढेको भन्दै वृद्घिदर पहिलेको अनुमानको तुलनामा घटाइएको हो । २०२२ मा ५ दशमलव ४ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । दक्षिण एशिया क्षेत्रको वृद्घिदर भने ८ दशमलव ८ प्रतिशतले हुने बैंकले अनुमान गरेको छ । यसअघि ९ दशमलव ५ प्रतिशतले वृद्घि हुने प्रक्षेपण गरिएको थियो । सन् २०२२ मा यो क्षेत्रमा ७ प्रतिशतको वृद्घिदर कायम हुने बैंकले प्रक्षेपण गरेको छ । दक्षिण एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र भारतमा यो वर्ष १० प्रतिशत र अर्को वर्ष ७ दशमलव ५ प्रतिशत हुने अनुमान गरिएको छ ।