बजेटको सफल कार्यान्वयन जनअपेक्षाको सम्बोधन गर्ने एउटा महìवपूर्ण संयन्त्र हो । बजेटको सफल कार्यान्वयनमा नीतिगत, कार्यगत, प्रक्रियागत र व्यवस्थापकीय विषयहरूको प्रभावकारिताका अतिरिक्त विनियोजित बजेटको खर्च गर्ने क्षमतामा अभिवृद्धि गरेर अपेक्षित उपलब्धि हासिल गर्ने गरिन्छ । बजेटको सफल कार्यान्वयनको मापनको कसी सार्वजनिक खर्च गर्नसक्ने क्षमतामा वृद्धि हो । सार्वजनिक खर्चमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्था खर्च पर्दछन् । सालबसाली रूपमा गरिने उपभोग खर्च, कार्य सञ्चालनका लागि आवश्यक खर्च, सरकारी निकायले सार्वजनिक हितका लागि प्रदान गर्ने सेवा तथा त्यस्तो सेवा प्रदान गर्ने निकायलाई दिइने सञ्चालन अनुदान, पुँजीगत अनुदान, ऋणको ब्याजको भुक्तानी खर्च, आयोजना निर्माण सञ्चालन हुनुपूर्वको ब्याज खर्चबाहेक फिर्ता खर्चजस्ता खर्चहरू चालु खर्चअन्तर्गत पर्दछन् । स्थिर सम्पत्तिहरू प्राप्त गर्न भएको खर्च, रणनीतिक महìव वा आपत्कालीन समयका लागि व्यवस्था गरिएको मौज्दात, जग्गा खरिद, भवन खरिद, सार्वजनिक उपभोगको सम्पत्तिहरू पुँजीगत कार्यका लागि गरिने अध्ययन, अनुसन्धान तथा प्राविधिक परामर्श सेवा, आयोजना निर्माण चरणमा गरिने ब्याज, बीमा, भाडा, भरौट, भन्सार कर आदि खर्च, पुँजीगत खर्चको क्षतिवापत दिइने मुआब्जाजस्ता खर्चहरू पुँजीगत बजेटमा पर्दछन् । पुँजीगत खर्चले थप पुँजी निर्माण गरी आर्थिक विकासमा सहयोग पु¥याउँदछ । आन्तरिक तथा बाह्य ऋण प्राप्ति, सेयर तथा ऋण लगानीको साँवा फिर्ता र सेयर तथा ऋण लगानी, वैदेशिक संस्थामा सेयर तथा ऋण लगानी, ऋणको साँवा भुक्तानी वित्तीय व्यवस्थाअन्तर्गत पर्दछ । पुँजीगत खर्च सार्वजनिक खरिद प्रक्रियासँग सम्बन्धित छ । यसैले सार्वजनिक खरिदको प्रतिस्पर्धी प्रभावकारी, पारदर्शी र परिणाममुखी कार्यान्वयनका लागि विभिन्न नीतिगत, कानुनी र प्रक्रियागत पक्षको आवश्यकता पर्दछ ।