असार २४, धरान । अक्सिजनको व्यवस्थापनमा कठिनाई भोगिरहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप लिक्विड अक्सिजन ट्यांक स्थापना गरिएको छ ।
प्रतिष्ठानमा रहेको प्रतिमिनेट १ हजार ६०० प्रतिलिटर क्षमताको अक्सिजन प्लान्ट रहेपनि प्लान्ट विग्रदा, कम क्षमतामा चल्दा वा उत्पादनमा कमी हुँदा लिक्विड अक्सिजन ट्यांकबाट अक्सिजन सप्लाई गरिने भएको छ । नेपाल सरकारले उपलब्ध गराएको ८० लाख रुपैयाँको बजेटबाट २० हजार लिटर क्षमताको अक्सिजन ट्यांक स्थापना गरिएको हो ।
प्रतिष्ठानका अनुसार लिक्विड अक्सिजन ट्यांकबाट पाइपलाइनबाट विभिन्न वार्डहरुमा र कोभिड अस्पतालमा अक्सिजन सप्लाई हुनेछ । तर ट्यांक स्थापना गरिए पनि मुख्य अक्सिजन प्लान्ट विग्रदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउदा मात्रै लिक्विड अक्सिजन ट्यांकबाट कोभिड अस्पताल वा नन् कोभिड वार्डहरुमा अक्सिजन सप्लाई गरिने प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।
ट्यांकले ५/६ दिनसम्म धान्न सक्ने क्षमताको रहेको पोखरेलले बताए । उनले भने, ‘वीपीमा अब अक्सिजनको ब्याकअप भयो । सिलिण्डरहरुमा भरेर ल्याउने झण्झट पनि हुँदैन, सबै वार्डहरुमा पाइपलाइन विस्तार हुँदा सिलिण्डरको रिप्लेस हुन्छ ।’