दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका, लेकम गाउँपालिका र मालिकार्जुन गाउँपालिकाका दर्जनौं गाउँमा खानेपानीको समस्या हुन थालेको छ । सुक्खायाम शुरू भएसँगै ग्रामीण बस्तीमा खानेपानीको अभाव हुन थालेको हो । यो वर्ष खानेपानीका अधिकांश मुहान सुक्न थालेका छन् । लामो समयसम्म पानी नपर्दा मुहानमा पानीको मात्रा घटेकाले स्थानीयवासीलाई सास्ती भएको छ ।
पहाडी क्षेत्रमा खानेपानीको समस्या वर्षेनि बढ्दै गएको छ । शैल्यशिखर नगरपालिका–६ को धौखानी र उदपुरलगायत क्षेत्रमा खानेपानीको निकै समस्या भएको स्थानीयवासी श्याम सिंह धामीले बताए । उक्त क्षेत्रका करीब ३० घर र सोही ठाउँमा रहेको शैल्य आधारभूत विद्यालयमा पनि खानेपानीको समस्या रहेको अर्का स्थानीयवासी नरेन्द्र धामीको भनाइ छ । जिल्लाका ९ ओटै स्थानीय तहका उच्च भेग र पाखो क्षेत्रका अधिकांश बस्तीमा पानीको समस्या रहेको शैल्यशिखर गाउँपालिका–६ का वडाध्यक्ष जगदीशसिंह धामीले बताए । त्यस्तै जिल्लाको मालिकार्जुन गाउँपालिकाअन्तर्गत भगवती, सिराड, हुनैनाथलगायत बस्तीहरूमा पनि खानेपानीको अभाव रहेको पालिकाका उपाध्यक्ष कल्याणसिंह धामीले बताए । जिल्लाका धेरैजसो ठाउँमा लिफ्ट खानेपानीका योजना रहे पनि समयमै मर्मत नहुँदा स्थानीयवासीले खानेपानीको समस्या खेप्नुपरेको छ ।
शैल्यशिखरका केही बस्तीमा खानेपानीका कतिपय मुहानमा बर्खायाममा बाढीपहिरोले क्षति पुर्याएको थियो । क्षतिग्रस्त मुहानको मर्मतमा स्थानीय सरकारले चासो नदिएको स्थानीयवासी गोपालसिंह धामीको गुनासो छ ।
जिल्लाका अधिकांश ठाउँमा सडकलगायत भौतिक संरचना निर्माण गर्दा मुहानहरू पुरिएर पनि खानेपानीको समस्या भएको छ । जलवायु परिवर्तन, जथाभावी निर्माण, पहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोप, वन विनाश आदिले समेत पानीका मुहान नासिँदै गएका छन् । रासस