आरएसडिसी लघुवित्तले चौथो त्रैमाससम्म कमायो ११ करोडभन्दा बढी नाफा

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमाससम्म ११ करोड १६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्मको तुलनामा गत आवमा कम्पनीको खुद नाफा ५ दशमलव ७१ प्रतिशत बढी भएको हो । अघिल्लो आवको यस अवधिसम्म कम्पनीले १० करोड ५६ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आवमा कम्पनीको सञ्चालन नाफा ५ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा १५ करोड ४ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले गत आवमा १५ करोड ९२ लाख रुपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने ८ करोड ८ लाख रुपैयाँभन्दा बढी कायम भएको छ ।  ८ प्रतिशत बोनस शेयरमार्फत पूँजी बढाएर ८६ करोड ९५ लाख ६८ हजार कायम गरेको कम्पनीको रिटर्न अर्निङ ८ करोड ८४ लाख रुपैयाँभन्दा बढी छ । जगेडा कोष रकम भने यस अवधिसम्म ११ करोड ५५ लाख रुपैयाँभन्दा बढी छ ।  कम्पनीले गत आवमा अघिल्लो आवभन्दा २५ दशमलव ३७ प्रतिशत बढी ५ अर्ब ८२ करोड ६२ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने विभिन्न लघुवित्त र सहकारीहरूलाई गत वर्षभन्दा २४ दशमलव ४४ प्रतिशत बढी ६ अर्ब ७२ करोड १७ लाख कर्जा सापटी दिएको छ । सदस्यहरूमा भने कम्पनीले ७८ लाख ३९ हजार कर्जा प्रवाह गरेको छ । गत आवमा कम्पनीको निष्क्रिय कर्जा बढेको छ । अघिल्लो आवमा  शून्य दशमलव ४९ रहेको निष्क्रिय कर्जा गत आवमा १ दशमलव २२ प्रतिशत पुगेको छ । प्रतिशेयर आम्दानी १२ रुपैयाँ ८४ पैसा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ४६ पैसा छ । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

१२ ओटा लघुवित्त कम्पनीले लाभांश दिने, ९ ओटाले नदिने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ५४ लघुवित्त वित्तीय कम्पनीहरूमध्ये गत आर्थिक वर्ष २०७९/८० सम्मको मुनाफाबाट हालसम्ममा १२ लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण गर्ने घोषणा गरेका छन् भने ९ लघुवित्त कम्पनीले लाभांश वितरण नगर्ने निर्णय गरेका छन् ।  युनिक नेपाल लघुवित्त, फर्ष्ट माइक्रोफाइनान्स, एनआईसी एशिया बैंक, छिमेक लघुवित्त, साना किसान लघुवित्त, सपोर्ट लघुवित्त, स्वावलम्बन लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, आरएसडिसी लघुवित्त, समता घरेलु लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  लाभांश घोषणा गरेका कम्पनीहरूमध्ये केहीले प्रस्तावित लाभांश साधारण सभाबाट पारित गराइसकेका छन् भने केहीले भने लाभांश पारितका लागि साधारण सभाको मिति तय गरेका छन् ।  यी कम्पनीहरूमध्ये सबैभन्दा बढी युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । त्यस्तै फष्र्ट माइक्रोफाइनान्सले भने समान दरमा ७ दशमलव ५ प्रतिशत बोनस शेयर र ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव गरेको हो ।  त्यस्तै एनआईसी एशिया बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव पारितका लागि कम्पनीले पुस ६ गते साधारण सभा बोलाएको छ ।  छिमेक लघुवित्तले पनि यस वर्ष बोनस शेयरभन्दा नगद लाभांशमा जोड दिएको छ । कम्पनीले गत आवको मुनाफाबाट यस वर्ष शेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको हो ।  साना किसान लघुवित्तले भने १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । धौलागिरी लघुवित्तले पनि १४ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ७५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  सपोर्ट लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव ६८४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले १२ दशमलव ३५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ६५०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारितका लागि कम्पनीले पुस ४ गते साधारण सभा बोलाएको छ ।  आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले १० प्रतिशत नगद लाभांश मात्रै वितरण गर्ने प्रस्ताव गरेको छ । आरएसडिसी लघुवित्तले ८ दशलमव ६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशलमव ४५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश कम्पनीले साधारण सभाबाट पारित गरिसकेको छ ।  समता घरेलु लघुवित्र वित्तीय संस्थाले ५ दशलमव ४२२२ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।  कुन कम्पनीको लाभांश कति ? स्रोत : कम्पनीहरूको सूचनाबाट ।  ९ ओटा कम्पनीले भने लाभांश नदिने  अहिलेसम्म ९ ओटा लघुवित्त वित्तीय संस्थाले भने यस वर्ष आफ्ना शेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेका छन् । ग्रामिण विकास लघुवित्त, हिमालयन लघुवित्त, गुराँस लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, उपकार लघुवित्त, सामुदायिक लघुवित्त, उन्नति सहकार्य लघुवित्त, गणपति लघुवित्त वित्तीय संस्था र फरवार्ड लघुवित्तले गत आवको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेका हुन् ।  गत आवमा आर्थिक मन्दीका कारण सूचीकृत कम्पनीहरूको नाफा प्रभावित भएको छ । नियामकीय कडाइले गर्दा समेत शेयरधनीलाई लाभांश वितरण गर्न नसकेको जानकारहरू बताउँछन् ।

दर्जनभन्दा बढी लघुवित्तको शेयरमूल्य रू.१ हजारभन्दा कम : लगानीको अवसर

वैशाख २१, काठमाडौं । पछिल्लो समय धितोपत्र दोस्रो बजारका परिसूचक निरन्तर ओरालो लागेसँगै सूचीकृत कम्पनीहरूको शेयरमूल्य पनि घटिरहेको छ । दोस्रो बजारमा राम्रो मूल्य कायम हुर्दै आएका लघुवित्त कम्पनीहरूको शेयरमूल्यमा पनि बजार घटेसँगै कमी आएको हो । पछिल्लो तथ्यांक अनुसार नेप्सेमा सूचीकृत ४८ ओटा लघुवित्त कम्पनीमध्ये १३ कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. १ हजारभन्दा कम कायम भएको छ । दोस्रो बजारले ऐतिहासिक रेकर्ड कायम गर्दाको अवस्थामा यी कम्पनीहरूको शेयरमूल्य ११ सयभन्दा माथि थियो ।अहिले यी लघुवित्त कम्पनीको शेयरमूल्य पछिल्लो समय रू. १ हजारभन्दा कम कायम भएको हो । यतिबेला दीर्घकालीन लगानीको लागि यी लघुवित्तको शेयर खरीद गर्न सकिने जानकारहरू बताउँछन् ।  दोस्रो बजारमा सूचीकृत कम्पनीहरूमध्ये पनि लघुवित्त कम्पनीको शेयरप्रति लगानीकर्ताहरूको आकर्षण बढी देखिन्छ । यो क्षेत्रका कम्पनीहरूको शेयरमूल्य बजार बढ्दा उच्च दरमै बढेको तथ्यांकका आधारमा पनि अहिले कम मूल्यमा खरीद गर्दा भविश्यमा राम्रो नाफा कमाउन सकिने कतिपय लगानीकर्ताको विश्लेषण छ । कुनै पनि कम्पनीमा लगानी गर्दा कम्पनीको जगेडा, लाभांश क्षमता, प्रतिशेयर आम्दानी लगायतका कम्पनीका महत्वपूर्ण आधारभूत पक्ष हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ ।  रू. १ हजारभन्दा कम मूल्य कायम भएका १३ लघुवित्तमध्ये सबैभन्दा कम शेयरमूल्य आरएसडिसी लघुवित्त वित्तीय संस्थाको रहेको छ । यो कम्पनीको शेयरमूल्य वैशाख १९ गते सोमवार प्रतिकित्ता रू. ६०४ दशमलव ३ रहेको छ । त्यसैगरी दोस्रोमा फष्र्ट माइक्रोफाइनान्सको शेयर मूल्य प्रतिकित्ता रू. ६९४ रहेको छ । लघुवित्त कम्पनीहरूले अरू कम्पनीले भन्दा बढी लाभांश दिने भएकाले पनि लगानीकर्ताको आकर्षण बढ्ने गरेको छ ।   नेप्सेमा सूचीकृत लघुवित्तमध्ये ४६ ओटाले आव २०७७/ ७८ को मुनाफाबाट  लाभांश घोषणा गरेका छन् । अधिकांशले उच्च दरममै लाभांश दिएका छन् । लाभांश घोषणा गरेका ४६ कम्पनीमध्ये सबैभन्दा बढी जीवन विकास लघुवित्तले ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) गरेर कुल ७३ दशमलव ६८ प्रतिशत लाभांश वितरण गरेको छ । त्यसैगरी महिला लघुवित्तले ४७ दशलमव ५ प्रतिशत बोनस शेयर र २ दशमलव ५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश वितरण गरेको छ । यसले गर्दा पनि लघुवित्त कम्पनीको शेयर खरीदमा लगानीकर्ता आकर्षित हुने गरेका छन् ।