अश्वेत अमेरिकीहरूबाहेक सबै अमेरिकीहरूको औसत आयु केही घट्न पुगेको छ । बिहीवार प्रकाशित एक प्रतिवेदनअनुसार अश्वेत अमेरिकीहरूको औसत आयु भने साढे दुई महीनाले बढेको छ । नेशनल सेन्टर फर हेल्थ स्टाटिस्टिक्सले संकलन गरेको तथ्यांकअनुसार धेरैजसो अमेरिकी पुरूषहरूको औसत आयु सन् २००८ मा ७५ दशमलव ३ वर्ष रहेको थियो, जुन २००७ को औसत आयुभन्दा एक दशांश वर्षले कम हुन आउँछ । सोही अवधिमा महिलाहरूको औसत आयु पनि ८० दशमलव ४ वर्षबाट घटेर ८० दशमलव ३ वर्षमा झरेको थियो ।
अश्वेत पुरूषहरूको आयु भने २००७ को भन्दा शून्य दशमलव २ वर्षले बढेर २००८ मा ७० दशमलव २ वर्षमा पुगेको थियो । अश्वेत पुरूषहरू अझै पनि सबैभन्दा कम औसत आयु भएका अमेरिकी हुन् जो श्वेत महिलाभन्दा १० वर्ष कम बाँच्दछन् । सबैभन्दा बढी औसत आयु हुनेमा श्वेत महिलापछि क्रमश: अश्वेत महिला तथा श्वेत पुरूष पर्दछन् । श्वेत महिला सबैभन्दा लामो जीवन बाँच्ने र अश्वेत पुरूष सबैभन्दा छोटो जीवन बाँच्ने प्रवृत्ति गत तीन दशकदेखि नै एकनासको देखिएको छ ।
वर्ष ६, अंक ८०, शुक्रवार, २५ मङ्सिर, २०६७