साउन २३, वीरगञ्ज । नेपाली युवा उद्यमी फोरम (एनवाईईएफ) वीरगञ्जले शनिवार वीरगञ्जमा बैंकर्सहरूसित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरेको छ । वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले प्रतियोगिता उद्घाटन गरेका थिए ।
प्रमुख सरावगीले मैत्रीपूर्ण क्रिकेटले वीरगञ्जमा उद्यमी र बैंकिङ क्षेत्रका नेतृत्वकर्ताबीच असल व्यावसायिक सम्बन्ध निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले स्वास्थ्यका लागि खेलकुल आवश्यक भएजस्तै व्यावसायिक स्वास्थ्यका लागि असल व्यवसायिक सम्बन्धको आवश्यकता औंल्याए ।
वीरगञ्जमा युवा उद्यमी र बैंकर्सहरूबीच मैत्रीपूर्ण सम्बन्ध विस्तार र सहकार्यका लागि मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता आयोजना गरिएको एनवाईईएफका अध्यक्ष अनुप अग्रवालले बताए ।
८ ओभरको मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा नेपाल राष्ट्र बैंक वीरगञ्जले उपाधि जितेको छ । राष्ट्र बैंकको टीमले आयोजक एनवाईईएफलाई ६ रनले पराजित गरेको हो ।
पहिलो खेल लायन्स क्लब अफ वीरगञ्ज नर्थ र एनवाईईएफबीच भएको थियो । सो खेलमा एनवाईईएफसित लायन्स क्लब पराजित भएको थियो ।
दोस्रो खेलमा राष्ट्र बैंक समूहले वीरगञ्ज बंैकर्सलाई हराएको थियो । आयोजक एनवाईइएफ र राष्ट्र बैंकबीच फाइनल प्रतिस्पर्धा भएको थियो ।