किसानको आकर्षण घटेसँगै लोप हुँदै रैथाने अन्नबाली

माघ २, पाल्पा । रैथाने अन्नबाली उत्पादनमा किसानको जागर छैन । मेहनतअनुसारको फल नआएपछि किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेतीमा चासो बढेपछि पाल्पालगायत पहाडी जिल्लामा उत्पादित रैथानेबाली पछिल्ला वर्षमा लोप हुँदै गएका छन् ।  खेतीयोग्य जमिनमा समेत रैथानेबाली हराउन थालेको छ । जलवायु परिर्वतनले उत्पादनमा कमी आएसँगै किसानको परम्परागत अन्नबाली खेतीमा आकर्षणसमेत घटेको हो ।  बगनासकाली गाउँपालिका–८, बगनासकी जेम कुमारी हिताङ्ग अहिले कोदो र फापरखेतीमा व्यस्त छन् । पहिला तीन चार मुरी कोदो र फापर उत्पादन हुने गरेकामा अहिले २०/२५ पाथी मात्र उत्पादन हुन्छ । कोदो, फापरलगायत रैथानेबालीको माग गाउँ तथा सहरी क्षेत्रमा भने बढ्दो छ ।  पहिला निकै मेहनतका साथ उत्पादन गरिने भएकाले कोदो, फापरलगायत बाली प्रशस्त उत्पादन हुँदै आएको थियो । मेहनत गर्ने मानिसको अभाव, जलवायु परिर्वतन र शहरीकरणले गर्दा परम्परागत अन्नबाली लोप हुँदै गएको कृषक हिताङ्ग बताउँछन् ।  कृषि पेशामा युवा जनशक्तिको आकर्षण छैन । समुदायका आश्रित व्यक्तिमा काम गर्ने क्षमता छैन । गोरुले जोत्ने खेतबारीमा अहिले ट्र्याटरबाट  खनजोत हुन्छ । खेतीयोग्य जमिनमा अहिले खेती गर्न छाडेर बाँझो बनाउन थालिएको छ । परम्परागतरुपमा खेती गर्ने पाका पुस्ताले मात्र रैथानबाली लगाउँदै  आएका छन् । पुराना अन्नबाली फापर, कोदो, जौ, तिल, भटमास, सिलामलगायत अन्नबाली वर्षेनी संकटमा परेको तानसेन नगरपालिका छापकी नरिसरा गाहा बताउँछन् । पुराना अन्नबाली उत्पादनमा युवाको चासो नै छैन, बुढापाका पुस्ताका मानिसले मात्र रैथानेबाली कोदो, फापर, गहुँ उत्पादन गरिरहेको उनको भनाइ छ ।  पछिल्ला वर्ष छिटो आम्दानी दिने उन्नत जातका अन्नबालीप्रति किसानले चासो बढाउन थालेका छन् ।  रैथाने अन्नबालीको उत्पादन वृद्धि प्रोत्साहनको अभावमा लोप हुने  अवस्थामा पुगेकाले सरकारले विशेष चासोका साथ बीउ संरक्षण गरी उत्पादन वृद्धिमा चासो दिनुपर्नेमा स्थानीयवासी कमल भण्डारी जोड दिन्छन् । १०/१२ वर्षअघिसम्म कोदो र फापरको खेती व्यापक हुन्थ्यो तर अहिले तिनकोे उत्पादनमा कमी भए पनि बजारमा माग भने बढ्दो छ । निकै स्वादिलो परिकारका रुपमा कोदाको रोटी र ढिलोलाई लिइन्छ । रैथाने अन्नबालीको उत्पादन बढाउन सके स्वदेशका ठूला होटल तथा विदेशमा समेत निर्यात गर्न सकिनेमा उनी जोड दिन्छन् । रासस

सम्बन्धित सामग्री

डोटीमा लोप हुँदै कोदो

कोदोको महत्वका बारेमा थाहा नहुँदा यसको खेतीप्रति किसानको आकर्षण घट्दै जाँदा लोप हुँदै गएको हो । व्यावसायिक रूपमा खेती गर्ने किसानको सङ्ख्या कमी हुँदै गएपछि परम्परागत मुख्य खाद्यान्नबालीका रूपमा स्थापित कोदोखेती लोप हुने अवस्थामा पुगेको हो ।

ओखलढुंगामा फापर खेती लोप हुँदै

ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ । व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो । जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गर्छ । […]

माग बढेपछि जुनेलो र फापर खेतीमा किसानको आकर्षण

उदयपुर : सहरमा माग बढ्दै गएपछि गाउँमा हराउन थालेको फापर, जुनेलो तथा फिलुंगेको खेती बढ्न थालेको छ। गाउँगाउँसम्म पुगेका सडक पुगेपछि लोप हुँदै गएको बाली फापर, जुनेलो र फिलुंगेको खेती बढ्न थालेको हो। जिल्लाको पहाडी क्षेत्रका भिरालो, खोरिया र रुखो बारीमा समेत उत्पादन हुने फापर, जुनेलो, फिलुंगे, सिलाम खेती अहिले कृषक...

लोप हुँदै दाइँ परम्परा - Naya Patrika

गोरुको सहायताले दाइँ लगाउने चलन लोप हुँदै गएको छ । धान र पराल छुट्याउन थ्रेसरको प्रयोगप्रति किसानको आकर्षण बढेपछि गोरुको साहायताले दाइँ लगाउने