असार २२, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ स्थित सरकारी स्वामित्वको नेपाल ओरियण्ट म्याग्नेसाईट उद्योग अन्तर्गत बन्द रहेको खरी उद्योग पुन: सञ्चालनका लागि वाग्मती प्रदेश सरकारले चासो देखाएको छ ।
खरी उद्योग पुन: सञ्चालनका लागि प्रदेश सरकारले आवश्यक उपकरण र खानी सुधारका लागि बजेटसहित आवश्यक प्रक्रिया अघि बढाएको हो । प्रदेश सरकारले आर्थिक वर्ष ०७८/०७९ का लागि नीति कार्यक्रममा समेट्दै बजेटको व्यवस्था गरेर खरी उद्योग सञ्चालनका लागि प्रारम्भीक पहल गरेको छ । प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री सरेश नेपालले खरी उद्योग पुनःसञ्चालनका लागि प्रविधि हस्तान्तरण तथा प्राविधिक सहयोगका गर्न २० लाख रुपैयाँ बजेट विनियोजन गरेको जनाए ।
‘लामो समयदेखि बन्द रहेको उद्योग सञ्चालनका लागि उपकरण र भूकम्पपछि खरीढुंगाको खानी मर्मत गर्नुपर्ने देखिएको छ’, मन्त्री नेपालले भने ‘उद्योग सम्बद्ध पक्षसँग बुझ्दा २० लाख लगानी गर्ने हो भने खरी उद्योग सञ्चालनमा आउने रहेछ पुनःसञ्चालनका लागि सोही अनुसार बजेट व्यवस्था गरिएको हो ।’ खरी उद्योगलाई पुन : सञ्चालनमा ल्याएर वाग्मती प्रदेशलाई हाते कागज, साबुन र रङमा आत्मनिर्भर बनाउने अभियानमा सरकार अघि बढेको उनले बताए ।
‘यो उद्योग सञ्चालन भइपछि खरीधुलोबाट बन्ने हाते कागज, साबुन र रङरोगनका सामग्रीमा प्रदेश आत्मनिर्भर बन्नेछ’, मन्त्री नेपालले भने ‘म्याग्नेसाईट उद्योग पुनः सञ्चालनका लागि संघीय सरकारलाई पनि थप दबाब पर्नेछ ।’
आठ वर्ष अघिसम्म सामान्य अवस्थामा सञ्चालनमा रहेको सो उद्योग त्यसयता भने सञ्चालन हुन सकेको छैन । खरी उद्योग सञ्चालनमा आउँदा ५००/६०० जनाले प्रत्यक्ष रोजगारी पाउने बलेफी गाउँपालिका ८ का वडाध्यक्ष चरिबहादुर तामाङ बताउँछन् ।
यसअघि उद्योगबाट उत्पादन भएको खरी साबुन, कस्मेटिक वस्तुहरू, रङ र रबर उद्योगमा खपत हुने गरेको थियो । प्रतिघण्टा सात टन उत्पादन क्षमता रहेको सो उद्योगले यसअघि सञ्चालनको अवस्थामा मासिक ६०० टनसम्म खरी पाउडर विक्री गर्ने गरेकोे थियो ।
बलेफी गाऊँपालिका–८ लामोसाँगुमा ३६७ रोपनी जग्गामा फैलिएको नेपाल ओरियण्ट म्याग्नेसाइट उद्योग भने २३ वर्ष यता बन्द छ । उद्योगका औजार उपकरणहरु खिया लागेर काम नलाग्ने भइसकेका छन् । पटक पटक पुनः सञ्चालनको मुद्दा मात्र उठ्ने गरेको तर म्याग्नेसाईट उद्योग सञ्चालनको पर्खाइमै रहिरहेको वडाध्यक्ष तामाङ बताउँछन् ।
‘हामीले निर्वाचित भए लगत्तै उद्योग सञ्चालनमा ल्याउन सरकार र उद्योगका सरोकारवालालाई ज्ञापनपत्र बुझायौं तर बास्ता भएन’, तामाङले भने ‘यसपटक प्रदेश सरकारले खरी उद्योग सञ्चालनमा ल्याउन पहल गरेको छ, अब संघीय सरकारले म्याग्नेसाईट उद्योग नै सञ्चालनको लागि पहल गर्ने विश्वास छ ।’
२०३६ सालमा ३ अर्ब ५९ करोड लगानीमा निर्माण भएको सो उद्योग हाल पूर्ण रुपमा बन्द छ । उद्योग निर्माणका क्रममा प्रविधि जडानको जिम्मा पाएका साझेदारी संस्था उडिसा इण्ड्रष्ट्रिज लिमिटेडले कमसल र गुणस्तरहीन सामग्री प्रयोग गरेकै कारण उद्योगबाट अन्तररारष्ट्रिय मापदण्डअनुसारको सामग्री उत्पादन गर्न नसकेपछि नेपाल सरकार र आईसिएफ इन्टरनेशनल फाइन्यान्स कर्पोरेशनले प्लान्ट बन्द गर्न निर्देशन गरे बमोजिम २०४७ पुसदेखि परीक्षण उत्पादन बन्द भएको उद्योगको मजदूर संघका अध्यक्ष भुवन केसी बताउँछन् ।
उनका अनुसार २०५० साल जेठ २ गते मन्त्री परिषद्बाट पूँजी वृद्धि अनुसार नेपाल सरकारले थप गर्नुपर्ने पूँजी थप गर्ने र कम्पनीको व्यवस्थापन स्रोत नेपाल सरकारले लिने गरी निर्णय गरेको थियो ।