चैत १९, काठमाडौं । भारतले प्रतिस्पर्धी बजारमा तोकिएको बिजुलीको मूल्यको सीमा घटाएको छ ।
भारतको ‘डे अहेड’ प्रणालीबाट इन्डियन इनर्जी एक्सचेञ्ज (आईईएक्स) मा खरीदविक्री हुने विद्युत्को अधिकतम मूल्य सीमा प्रतियुनिट भारु १२ रुपैयाँ तोकिएको छ । अब प्रतिनियुट अधिकतम् १२ रुपैया (भारु) सम्म मात्रै बिजुली खरीदविक्री हुने छ ।
नेपाल विद्युत् प्राधिकरणले भारतको यस्तो निर्णयपछि अब भारतबाट भारु १२ सम्म ‘बिड’ (बोलकबोल) गरेर विद्युत् खरीद गर्न पाउने छ ।आईईएक्समार्फत खरीदविक्री हुने बिजुलीको मूल्य घटेसँगै प्राधिकरणलाई पनि राहत हुने छ ।
नेपालले ‘डे अहेड मार्केट’बाट बिजुली खरीद गर्दै आएको छ । भारतको केन्द्रीय विद्युत् विनियामक आयोग (सेन्ट्रल इलेक्ट्रिसिटी रेगुलेटरी कमिसन) ले ‘पावर मार्केट रेगुलेसन, २०२१’ संशोधन गर्दै आईईएक्समा खरीदविक्री हुने बिजुलीको सिलिङ घटाएको हो ।
उक्त आयोगले यसअघि प्रतिनियुट भारु २० मा राखेको बिजुलीको प्रतिस्पर्धी दरको सीमालाई घटाएर भारु १२ मा झारेको हो । आइतवार निर्देशन जारी गर्दै बिजुली महंगोमा खरीदविक्री हुँदा पर्नसक्ने असरलाई कम गर्न मूल्यको सीमा घटाइएको आयोगले बताएको छ ।
रुस(युक्रेन युद्धका कारण भारतमा कोइलामा आधारित विद्युत् उत्पादनमा कमी आउँदा भारतको प्रतिस्पर्धी बजारमा बिजुलीको मूल्य प्रतियुनिट २० रुपैयाँसम्म पुगेको थियो।