काठमाडौं । दुई ओटा नयाँ जलविद्युत कम्पनीले आईपीओ निष्कासनका लागि अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएका छन् ।
रिड्जे लाईन इनर्जी र लाफिङ्ग बुद्ध पावर नेपाल लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।
लाफिङ्ग बुद्ध पावरले ६५ लाख ७७ हजार कित्ता साधारण शेयर निष्कासन गर्नका लागि पुस २ गते निवेदन दिएको हो । विक्री प्रबन्धक नेपाल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड छ ।
त्यस्तै रिड्जे लाईन इनर्जीले ५८ लाख ४ हजार २०१ कित्ता साधारण शेयर निष्कासन गर्न मङ्सिर २५ गते निवेदन दिएको हो । विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड छ ।
यी दुवै कम्पनीले आईपीओ निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ निष्कासन गर्नेछन् । दोस्रो चरणमा भने सर्वसाधारणको लागि आईपीओ निष्कासन गरिनेछ ।